हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहारका कारण अकल्पनीय क्षति

तस्बिर स्रोत, Reuters
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
तिब्बत हुँदै भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति "१,००० वर्षमा एक पटक आउने बाढीभन्दा माथिल्लो स्तर"को भएको पाइएको एक वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले 'रसुवा-भोटेकोशी बाढी'बारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ।
"यो सामान्य बाढी पक्कै थिएन। यसका तीन-चारवटा विशिष्ट गुण हामीले पाएका छौँ," केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले बीबीसीलाई बताएका छन्।
कस्तो र कत्रो थियो बाढी?

केन्द्रको अध्ययनमा भोटेकोशी बाढीको तीनवटा विशिष्टतामा पहिलो चाहिँ यसको अभूतपूर्व स्तर नै रहेको पाइयो।
"सामान्यतया हामीले नदीतटमा घरहरू बनाउँदा कम्तीमा ५० वर्षको आँकडा हेरेर कत्रो बाढी आउन सक्छ भन्ने हेर्ने चलन छ। पुलहरूको हकमा १०० वर्षको हेरिन्छ। तर यो त १,००० वर्षको भन्दा पनि माथिल्लो स्तरको रहेको पाइयो। सम्भावित सबभन्दा विकराल बाढीको कल्पनाभन्दा पनि धेरै थियो," बरालले बताए।
दोस्रो विशिष्टता चाहिँ यो बाढी अघिपछिको वर्षाले निम्त्याउने बाढीभन्दा भिन्न प्रकारको भएको अध्ययनले पाएको छ।
"जलाधार क्षेत्रहरूमा पर्ने वर्षाले उत्पन्न गराउने बाढी यो थिएन। त्यहाँ त्यतिबेला पानी पनि परेको थिएन। यो त हिमपहिरोले उब्जाएको बाढी थियो जसकारण यसको वेग अत्यन्त तीव्र थियो," उनले भने।
जुन हिमपहिरोको उल्लेख गरिएको छ त्यो रसुवागढीबाट २२ किलोमिटर उत्तरपूर्वमा समुद्री सतहबाट ४,००० देखि ५,६०० मिटरमाथि अवस्थित लाङ्टाङ लिरुङ तथा छाङ्बुरीको बीचमा रहेको अत्यन्त भिरालो भूगोलबाट १,२०० देखि २,००० मिटर तल ल्हेन्दे खोलाको माथिल्लो भूभागमा बज्रेको नेपाली अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

टुक्राटुक्रा भएका विशाल चट्टान, बरफका ढिक्का, माटोसहितको 'डेब्री' त्यसपछि तीव्र वेगमा उक्त खोलाको मार्गमा प्रवेश गरेको थियो। त्यसले केही मिनेटभित्रै तल्लो तटमा भीषण विनाश निम्त्याउन सुरु गर्यो।
भदौ १० गते बिहान नेपाली समयानुसार ८:३७ मा उक्त घटनासँगै ५.२ म्याग्निट्यूडको कम्पन समेत मापन भएको थियो। पहिला भूकम्पका कारण हिमपहिरो आएको ठानिएको थियो। पछि त्यहाँ भूकम्प आएको नभई उक्त घटनाका कारण जमिनमा ठूलो हलचल भएको भूगर्भशास्त्रीहरूले बताए।
तेस्रो विशिष्टता चाहिँ यो बाढी केवल पानीका मात्र सिर्जित नभएको देखिन्छ। "बाढी भन्नेबित्तिकै हाम्रो मनमा पानी भन्ने आउँछ। तर यो घटनामा पानीभन्दा पनि ठूल्ठूला ढुङ्गा, गेग्रान आदि तीव्र वेगमा आए," बरालले भने।
विनाशकारी वेग
त्यसको सात मिनेट नबित्दै विनाशकारी बाढी नेपाल-चीन सिमानास्थित रसुवागढी आइपुगेको रेकर्ड गरिएको छ।
घटनाको स्रोतदेखि सीमासम्म २२ किलोमिटरको दूरीलाई उक्त बाढीले ५२ मिटर प्रतिसेकेन्ड (१८८ किलोमिटर प्रतिघण्टा)को विस्मयकारी वेगमा पूरा गरेको अध्ययनमा देखिएको छ।
त्यसपछि बाढीको वेग केही कम हुन थाल्छ। तथापि त्यहाँबाट बेत्रावतीसम्म झन्डै ७० किलोमिटर तल आइपुग्दा पनि बाढीको वेग ६५ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ।
बेत्रावतीदेखि फुर्केखोला (मलेखु) सम्मको ५३.३ किलोमिटरको दूरी उक्त बाढीले २९ किमि प्रतिघण्टाको गतिमा पूरा गरेको देखिन्छ भने कालीगण्डकीसँग मिसिएर नारायणी बन्नुअघि देवघाटसम्म पुग्दा वेग २६ किमि प्रतिघण्टामा ओर्लिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
"वेग र स्तर यति ठूलो थियो कि यसले कैयौँ ठाउँमा जलस्तर तथा बाढी मापन गर्न राखिएका स्टेशनहरू नै बगे," बरालले भने।
प्रतिवेदनमा उल्लेख भएअनुसार रसुवागढीस्थित स्टेशन बिहान ८:४० बजे नै बगेको थियो भने स्याफ्रुबेँसीको स्टेशनले अन्तिम आँकडा ८:५० मा रेकर्ड गरेको थियो।
स्याफ्रुबेँसीकै लाङ्टाङखोला स्टेशन, बेत्रावती स्टेशन, पलखु खोला स्टेशन तथा मलेखुस्थित फुर्केखोला स्टेशन पनि बाढीले बगाइदियो।
बाढीले पुर्याएको क्षतिबाट पुनरुत्थान गर्न ७ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। मानवीय क्षति अकल्पनीय स्तरमा भएको छ। यति ठूलो स्तरमा क्षति पुग्नुमा बाढीको वेग पनि एउटा मुख्य कारण रहेको विज्ञहरूले बताएका छन्।
के यो बाढीको पूर्वानुमान गर्न सकिन्थ्यो?

तस्बिर स्रोत, EPA/Shutterstock
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक सुनील आचार्य यस किसिमको बाढीको पूर्वानुमान जटिल र असजिलो हुने बताउँछन्।
"यस्तो बाढी सजिलै पूर्वानुमान गर्न सकिन्न। एउटै उपाय भनेको जोखिमयुक्त क्षेत्रमा क्यामराले निरन्तर निगरानी गरिरहने तथा भूउपग्रहबाट निगरानी गरिरहने हुन सक्छ," आचार्यले भने।
पूरै हिमाली क्षेत्रमा यस्ता जोखिमयुक्त क्षेत्र कति छन् भनेर पहिचान गर्नै 'महाभारत' हुने र तिनको निरन्तर निगरानी अझै चुनौतीपूर्ण हुने जानकारहरू ठान्छन्।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल पनि अब परम्परागत पूर्वानुमान वा पूर्वसावधानीका प्रणाली अपर्याप्त हुने ठान्छन्।
"यो बाढीको बेला तल्लो तटका बासिन्दालाई सजग गराउन छ लाख वटाभन्दा धेरै एसएमएसहरू पठाइएको थियो। तर कति एसएमएस भोलिपल्ट पुगेको पनि पाइयो। हामीले परम्परागत रूपमा नदीको जलस्तर निश्चित बिन्दुभन्दा माथि गएपछि गराइने पूर्वसावधानी प्रणाली अब अपुग छ। यस्ता चरम बाढीको घटनाबारे थाहा पाउन विविध सेन्सर, क्यामरा प्रयोग गर्नु जरुरी देखिन्छ अनि मानिसहरूलाई जानकारी दिन पनि एसएमएसका अतिरिक्त माइकिङदेखि लिएर अन्य माध्यम पनि प्रयोग गर्नुपर्ने हुन्छ," उनले भने।
भदौ १० गतेको बाढीपश्चात् नेपालमा पहिलोपल्ट सीसीटीभीमा आधारित रिअल टाइम (तत्कालै गरिने) निगरानी प्रणाली अपनाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
"रसुवाको भोटेकोशी नदीमा बाढी आएको सातौँ दिनमा नेपाल-चीन सीमानजिक टिमुरेमा जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा सीसीटीभी क्यामरा जडान गरिएको छ…।"
यो कार्य नेपालको प्रत्यक्ष नदी निगरानी एवं बाढी पूर्वानुमान क्षमतामा महत्त्वपूर्ण कदम भएको केन्द्रले जनाएको छ।
उक्त क्यामरा नदीको सतहभन्दा ७० मिटर माथि राखिएको र त्यसले दिने प्रत्यक्ष दृश्यलाई केन्द्रले अहोरात्र निगरानी गर्ने बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















