'बाढीपछिको अवस्था भूकम्पभन्दा जटिल : मानवीय सहायता कार्यमा महिनौँ लाग्न सक्छ'

विश्व खाद्य कार्यक्रम नेपालका राष्ट्रिय निर्देशक रियाज लोधी

तस्बिर स्रोत, Sangam Shilpakar

Published
पढ्ने समय: ३ मिनेट

भदौ १० गतेको भोटेकोशी बाढीले पुर्‍याएको व्यापक जनधनको क्षतिपश्चात् जारी मानवीय सहायता कार्य सम्पन्न गर्न महिनौँसम्म लाग्न सक्ने उक्त कार्यमा संलग्न अन्तर्राष्ट्रिय निकायका एक प्रतिनिधिले बताएका छन्।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) नेपालका राष्ट्रिय निर्देशक रियाज लोधीका अनुसार विगतमा भूकम्पपश्चात् गरिएको राहत उद्धार कार्यभन्दा यसपालिको कार्य झनै जटिल रहेको छ।

रसुवा, नुवाकोट, धादिङसहित धेरै प्रभावित जिल्लाहरूमा कम्तीमा १० हजार मानिसहरूलाई तत्काल सहयोगको आवश्यकता रहेको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार तथा मानवीय सहायता कार्यबारे उनीसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी प्रस्तुत छ:

बाढी प्रभावित क्षेत्रका मानिसहरूका तत्कालका आवश्यकता के छन्?

धेरै प्रकारका आवश्यकताहरू छन्। चिकित्सकीय तथा मनोसामाजिक सेवाजस्ता आवश्यकता छन्। आवासको आवश्यकता छन्। खाद्य सहायताका आवश्यकता छन्। ती आवश्यकताहरूको प्राथमिकीकरण गर्न पनि कठिन छ। यी सबै आवश्यकताहरू सरकारले पूरा गरिरहेको छ। यो सरकारको नेतृत्वमा भइरहेको कार्य हो। संयुक्त राष्ट्रसङ्घ, अन्य निकाय तथा विश्व खाद्य कार्यक्रमले सरकारको उक्त कार्यमा सहयोग पुर्‍याइरहेका छन्।

अहिले राहत कार्य कुन चरणमा पुगेको छ?

सबै ठाउँमा एकैनासको चरणमा पुगेको भन्न सकिँदैन। कुनै कुनै ठाउँमा सडकहरू खुलेका छन् जस्तो कि नुवाकोट र धादिङमा ट्रकहरू (राहत सामग्री बोकेका) पर्खिरहेका छन्। तर रसुवाका कतिपय ठाउँमा अझ पनि हवाई मार्गबाटै राहत पुर्‍याइरहेका छौँ। एकातिर खोज तथा उद्धार कार्य चलिरहँदा विश्व खाद्य कार्यक्रमले खाद्य सहायता पुर्‍याइरहेको छ। त्यसैले कुन ठाउँमा कुन स्तरको क्षति भएको हो त्यही अनुसार राहत कार्य भइरहेका छन्।

मानवीय सहायताका यी प्रारम्भिक दिनहरूमा विश्व खाद्य कार्यक्रमको ध्यान के मा केन्द्रित छ?

सुरुमा विश्व खाद्य कार्यक्रमले उच्च ऊर्जा प्राप्त हुने फोर्टिफाइड बिस्कुटहरू वितरण गर्‍यो। खासगरी नियमित खानामा पहुँच नहुने वा खाना पकाउने अवस्था नभएका आपत्कालीन परिस्थितिका मानिसहरूको निम्ति यो एउटा सम्पूर्ण पोषणसहितको सामग्री हो। यो तयारी खाना हो। त्यसपछि हामीले दाल तथा फोर्टिफाइड भात अनि तेलजस्ता खाद्य सहायता गर्‍यौँ। प्रभावित समुदायसम्म ती सहायता पुग्यो जसलाई विभिन्न सरकारी माध्यम, हाम्रो आफ्नै निगरानी तथा अन्य साझेदारहरूमार्फत् निश्चित गर्‍यौँ। अर्को तर्फ विश्व खाद्य कार्यक्रमले सरकार तथा अन्य साझेदारहरूलाई पनि बन्दोबस्तीको मामिलामा सहयोग गरिरहेको छ - ताकि पहुँच नपुगेका ठाउँहरूमा राहत सामग्री पुगोस्। त्रिभुवन विमानस्थलस्थित स्टेजिङ एरियाबाट सबै साझेदारहरूलाई त्यस्तो सहयोग गरिरहेका छौँ।

बाढीपीडितहरूलाई राहत सामग्री वितरण

तस्बिर स्रोत, Sampurna Rai

विश्व खाद्य कार्यक्रमले विगतमा बहत्तर सालको भूकम्पका बेला पनि नेपालमा सहयोग गरेको थियो। त्यसको तुलनामा अहिलेको राहत कार्य कति जटिल छ?

वास्तवमा बहत्तर सालको भूकम्पपश्चात् मानवीय सहायता कार्यलाई सहयोग पुर्‍याउन म पनि आएको थिएँ। अहिलेको सङ्कटमा पनि म यहाँ छु। मलाई लाग्छ यो अहिलेको अवस्था त्योभन्दा निकै जटिल किसिमको छ। राहत तथा उद्धारको कोणबाट मात्र नभई पहुँचको कोणबाट पनि यो जटिल छ। भूकम्पको समयमा घर भत्कँदा मानिसहरू कहाँ छन् र कहाँ गएर उद्धार गर्नु पर्छ भन्ने उद्धारकर्मीहरूलाई थाहा हुन्छ। तर यहाँ त मानिसहरूको घर, बजार तथा समुदाय नै बगाएको छ। त्यसैले उद्धार कार्य निकै कठिन छ। त्यसमाथि पहुँचको समस्या छ – झन्डै ४० किलोमिटर सडक बगाएको छ, कैयन् पुलहरू बगाएको छ। त्यसैले धेरै ठाउँमा हेलिकप्टरमार्फत् गरिने हवाई उद्धारमा भर पर्नु परेको छ। यात्राका लागि हेलिकप्टरको प्रयोग भनेको असाध्यै महँगो काम हो।

यो राहत कार्य सम्पन्न गर्न कति समय लाग्ने तपाईँको अनुमान छ?

त्यो अनुमान गर्न अहिले हतारो हुन्छ। अहिले भिन्न भिन्न ठाउँमा भिन्न भिन्न स्तरमा राहत कार्य सञ्चालन भइरहेका छन्। यसका चरणहरू विभिन्न हुने छन्। उदाहरणका लागि अहिले पनि थप बाढीको जोखिम छ, चेतावनीहरू दिइएका छन्। कतिपय मानिसहरूले घरका साथै जग्गाजमिन, खानेकुरा तथा अन्य सामग्री गुमाएका छन्। उनीहरूको जीवनयापनको आधार पनि गुमेको छ। त्यसैले लामो समय लाग्ने छ – कैयन् महिना। आपत्कालीन सहयोग कार्य मात्रै पनि ६ महिना लाग्न सक्छ। त्यसपछि मात्र रिकभरी वा पुनरुत्थानको चरणमा पुग्न सक्ने छौँ। त्यो चरणमा प्रभावित मानिसहरूलाई जीवनयापनका आधार पुनर्निर्माणमा सहयोग गर्नु पर्ने हुन्छ, उनीहरूलाई आय आर्जनका कुनै गतिविधिमा पहुँच दिलाउनु पर्ने हुन्छ, बजारमा पहुँच पुनर्स्थापित गर्नु पर्ने हुन्छ। कुनै कुनै ठाउँमा यी कार्यहरू अलि चाँडो सुरु गर्न सकिएला।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।