सुरुङभित्र फसेको ठानिएका मानिसहरू कस्ताकस्ता ठाउँमा थिए

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, अशोक दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ७ मिनेट
प्रधानमन्त्री वालेन्द्र शाहले विनाशकारी बाढीबाट जोगिन भाग्ने क्रममा जलविद्युत् आयोजनाहरूमा फसेका हुनसक्ने मानिसहरूको उद्धार समयमै गर्न नसकेको भनेर भइरहेको आलोचनाका सम्बन्धमा संसद्मा जानकारी गराएका छन्।
उनले प्रभावित क्षेत्रका विद्युत् आयोजनाका सुरुङमा खोज र उद्धारका लागि हेलिकप्टरहरू परिचालन गरिए पनि जटिल भूबनोटका कारण उद्धार कठिन भएको बताएका छन्।
"यो विशेष अवस्था हो। त्यहाँनिर भएको हिलो, लेदोमा एक्स्कभेटर मात्रै नभएर सेना र सशस्त्र प्रहरीका व्यक्तिहरू पनि अडिने ठाउँ थिएन त्यसकारण उहाँहरूले सम्भव भएसम्म सुतेर त्यहाँसम्म पुग्ने प्रयास गर्नुभएको थियो," उनले भने।
बीबीसीले सुरुङमा र सुरुङबाट मात्रै प्रवेश गर्न सकिने विद्युत् उत्पादन केन्द्रभित्र फसेका हुनसक्ने मानिसहरूको अनुमानित सङ्ख्याका सम्बन्धमा सम्बन्धित आयोजना र सरकारी अधिकारीहरूसँग कुराकानी गरेको थियो।
यकिन सङख्या पुष्टि गर्न नसकिए पनि बाढीको मार पर्नु अघि त्यस स्थानमा काम गरिरहेका मानिसहरूको अनुमानित सङख्या १५० भन्दा बढी हुन सक्ने उक्त कुराकानीबाट थाहा भएको छ। उनीहरू काम गरिरहेको स्थान कहाँ र कस्तो थियो?

रसुवागढीमा सुरुङभित्र कति थिए?

तस्बिर स्रोत, Reuters
रसुवागढी जलविद्युत् आयोजनामा सुरुङभित्रका संरचनामा १२ जना मानिसहरू हुनसक्ने अनुमान ऊर्जा मन्त्रालयका अधिकारीहरूले गरेका छन्।
यो आयोजनाबाट सम्पर्कविहीन रहेका मानिसहरूको सङ्ख्या ९१ जना छ। जसमध्ये अधिकांश सुरुङ बाहिरैबाट सम्पर्कविहीन भएको ठानिएको छ।
यो आयोजनाको पावर हाउस अर्थात् विद्युत् गृह करिब २६० मिटर लामो सुरुङभित्र रहेको भूमिगत अर्थात् सुरुङबाट मात्र प्रवेश गर्न सकिने स्थानमा छ। उक्त संरचना ३५ मिटर उचाइको ७० मिटर लम्बाइको र १५ मिटर चौडाइको रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ। आयोजनाको तीन तले पावरहाउस नियन्त्रणका लागि नियमित रूपमा सुरुङ भित्रको पावर हाउसमा कर्मचारीहरू बस्ने गरेका थिए।
उनीहरू बाढीपछि पावर हाउसको सबैभन्दा माथिल्लो तल्लामा रहेको आपत्कालिन कक्षमा पुगेको हुनसक्ने अनुमान कैयौँ जलविद्युत् आयोजनाको सुरुङमा काम गरिसकेका र यो आयोजनाको बनोटबारे पनि जानकार इन्जिनियर बिमल गुरुङ बताउँछन्।
नेपाली सेनाले बुधवार जनाए अनुसार उक्त सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्रसम्म पुगेको थियो। ठूला चट्टानहरूको कारण त्यसभन्दा भित्र जान नसकेको र आफूहरू पुगेको स्थानसम्म कसैलाई पनि फेला नपारिएको सेनाले जनाएको थियो।
लाङटाङ खोलाको सुरुङमा के गर्दै थिए?

तस्बिर स्रोत, Reuters
रसुवागढी भन्दा केही तल भोटेकोशी र लाङटाङ खोलाको दोभानमा लाङटाङ खोला जलविद्युत् आयोजनाको पावरहाउस छ। यो आयोजनाको पावर हाउस रसुवागढीको जस्तो भूमिगत नभएर लाङटाङ खोलातर्फ 'सर्फेस बेस्ड' अर्थात् जमिन बाहिर बनेको छ। यद्यपि यो आयोजनामा लाङटाङ खोलाबाट पानी ल्याउन सुरुङमार्ग प्रयोग गरिएको छ।
सुरुङबाट ल्याइएको पानी भिरालोबाट तीव्र गतिबाट पावरहाउससम्म पठाउन प्रयोग गरिने 'पेनस्टक' पाइपको मुखसम्म जानका लागि पावर हाउसभन्दा माथिबाट १५० मिटर लामो सुरुङ बनाइएको थियो।
आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार पेनस्टकको मुखसम्मको पहुँचका लागि मात्रै बनाइएको यो सुरुङको प्रवेशमार्ग भोटेकोशीतर्फ फर्किएको र खुला थियो।
आयोजनाको परीक्षण सञ्चालन चलिरहेका कारण यो आयोजनाको पावर हाउस र पेनस्टकको मुखमा त्यस दिन ६० जना भन्दा धेरै मानिसहरूले काम गरिरहेका थिए। यो आयोजनामा अझैसम्म ४२ जना सम्पर्कविहीन रहेकामध्ये सुरुङभित्र छिरेर पेनस्टकको मुखमा काम गरिरहेका १५ जना हुन सक्ने अनुमान गरिएको प्रबन्ध निर्देशक भट्टराईले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
नेपाली सेनाले विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली यो आयोजनाको सुरुङमार्गमा खोजीका लागि खटिएको जनाएको छ। भट्टराईले उद्धार टोली करिब १०० मिटरभित्रसम्म प्रवेश गरेपनि ठूला ढुङ्गा र काठहरू जम्मा भएका कारण त्यहाँभन्दा भित्र जान नसकेको बताएका छन्।
"आयोजनाको सुरुङमा फसेकाहरू १५० मिटर भित्र काम गरिरहेका थिए। त्यहाँसम्म पुग्न अझैसम्म सकिएको छैन तर प्रयास भइरहेको छ," उनले भने।
चिलिमेमा सम्पर्कविहीन भएका कहाँ थिए?

तस्बिर स्रोत, Reuters
लाङटाङ खोला भन्दा १.५ किलोमिटर तल स्याफ्रूबेँसीको पुल छेउमा चिलिमे जलविद्युत् आयोजना छ।
विसं २०६० सालदेखि सञ्चालनमा रहेको चिलिमेमा ६ जना मानिसहरू सम्पर्क विहीन रहेका ठानिएको ऊर्जा मन्त्रालयका प्रवक्ताले बताएका छन्।
उनीहरू पनि रसुवागढीमा जस्तै सुरुङबाट २५० मिटर भित्र गएपछि पुगिने पावर हाउसको नियन्त्रण कक्षमा रहेको ठानिएको छ।
यहाँको पावर हाउस ठूलो चट्टानभित्र ३ तला भएको क्षेत्रफलमा रहेको आयोजनाको निर्माणमा करिब चार वर्ष बिताएका इन्जिनियर बिमल गुरुङ बताउँछन्।
उनीहरू बाढी प्रवेश गर्दासम्म पनि भित्रै रहेको भए पावर हाउसको सबैभन्दा माथिल्लो तलामा सुरुङको भित्री बिन्दुभन्दा करिब २० मिटर उचाइमा रहेको संरचनामा पुगेर बसेको हुनसक्ने उनको अनुमान छ।
लेदोका कारण सुरुङभित्र प्रवेश गर्न नसकेपछि यो आयोजनाको विद्युत् गृहसम्म उद्धारकर्मीहरू पुग्न सकेका छैनन्। अहिले अन्तर्राष्ट्रिय विज्ञहरू सहितको टोली यो आयोजनाको पावरहाउससम्म पुग्ने उपायको खोजीमा रहेको नेपाली सेना र अधिकारीहरूले बताएका छन्।
माथिल्लो त्रिशूली-१ को सुरुङमा कहाँनेर थिए ११५ जना

तस्बिर स्रोत, Reuters
चिलिमेभन्दा केही तल हाकू क्षेत्रमा माथिल्लो भेगमा भोटेकोशी र तल्लो भेगमा त्रिशूली भनिने त्यही खोलामा कोरियाली कम्पनीले बनाइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजना छ।
यो आयोजना यसमाथिका भन्दा फरक थियो। करिब ८० प्रतिशत निर्माण कार्य सकिएको र निर्माणको काम तीव्र गतिमा चलिरहेका कारण यसमा १४३३ जनाले काम गरिरहेको र त्यसमध्ये ५५७ जना हालसम्म पनि सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ।
कोरियाली कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा बनिरहेको यो आयोजनामा कोरियाली, चिनियाँ र भारतीय कामदारहरू समेत थिए। आयोजनाका महाप्रबन्धक गिरीराज अधिकारीका अनुसार यो आयोजनाको हेडवर्क्स अर्थात् खोलाको पानी सुरुङमा प्रवेश गराउने ठाउँदेखि पावर हाउससम्मको करिब १० किलोमिटर लामो सुरुङमा त्यस दिन ४०० जना मानिसहरू काम गरिरहेका थिए।
जसमध्ये अडिट १ सम्मको पहिलो खण्डमा काम गरिरहेका ११५ जना सुरुङभित्र फसेको हुनसक्ने अनुमान गरिएको अधिकारीले जानकारी दिए।
"त्यति क्षेत्रभित्र १०० जना नेपाली र १५ जना चिनियाँ कार्यरत रहेको पावर चाइना कन्स्ट्रक्सन कम्पनीले हामीलाई तथ्याङ्क दिएको छ। अब हाम्रो उद्धार त्यहीँ केन्द्रित गर्नुपर्ने भएको छ," उनले भने।

तस्बिर स्रोत, Source: GirirajAdhikari
यो भोटेकोशी त्रिशूली खोलामा रहेका आयोजनाहरूमध्ये सबैभन्दा लामो सुरुङ रहेको आयोजना हो। उनका अनुसार करिब १० किलोमिटरको सुरुङमा तीन ठाउँमा अडिट टनेल अर्थात् बाहिर निस्कने सुरुङहरू थिए। मुहान देखि पहिलो अडिट टनेलबीचको ४ किलोमिटर सुरुङ ढुङ्गा, गेग्र्यान र माटोले पुरिएको उनले बताएका छन्।
"पहिलो अडिट टनेलबाट उद्धार टोली डेढ किलोमिटर भन्दा अगाडि टोली जान सकेन," उनले भने।
"त्यहाँभित्र प्रयोग भएका मशीन, ट्रकहरू त्यहाँ आएर अड्किएको छ।"
त्यसभन्दा तलको सुरुङमा बाढी नपसेका कारण त्यहाँ काम गरिरहेका मानिसहरू सुरक्षित रहेका हुनसक्ने अनुमान गरिएको आयोजनाले बताएको छ। तर बाँध, बालुवा थिग्राउन प्रयोग गरिने पोखरी र खोला छेउका अन्य संरचनामा काम गरिरहेका मानिसहरू पनि सम्पर्कविहीन रहेको अधिकारीले बताए।
यसको पनि पावरहाउस सुरुङभित्रै छ। यसको पावर हाउस निकै ठूलो आकारको रहेको र प्रवेश मार्ग त्रिशूली भन्दा अर्कोतर्फबाट रहेका कारण पावर हाउसमा धेरै मानवीय क्षति नभएको उनले बताए। टेलरेस अर्थात् टर्बाइन घुमाएर निस्किएको पानी पुन खोलामा जाने सुरुङबाट मात्रै पावरहाउसमा बाढी पसेको उनले बताए।
त्रिशूली-३ ए मा पनि सुरुङमा फसेका हुन्?
सञ्चालनमै रहेको यो आयोजनामा मर्मतका लागि गएका प्राविधिक र दक्ष मानिसहरू फसेको हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउत बताउँछन्।
यसमा फसेका हुनसक्ने मानिसहरू २७८ मिटर लामो सुरुङभित्र रहेको भूमिगत पावरहाउसमा टर्बाइन मर्मतका लागि पुगेका थिए। उनका अनुसार यो आयोजनाको भूमिगत सुरुङबाट बाढीको सूचना पाएर केही मानिसहरू बाहिर पनि आएको हुनसक्ने ठानिएको छ।
यो आयोजनाको सुरुङभित्र रहेको पावरहाउसमा त्यसबेला २५ जना हाराहारी मानिसहरू रहेको हुनसक्ने उनले बताएका छन्।

तस्बिर स्रोत, Reuters
राउतका अनुसार प्रवेश सुरुङभन्दा तीन तला मुनी टर्बाइनहरू रहेको ठाउँमा उनीहरू मर्मतको काम गरिरहेका थिए। जसकारण उनीहरू त्यहाँ पनि हुन सक्छन्। बाढी आएपछि आपत्कालीन मार्गको रूपमा समेत प्रयोग गर्न सकिने चौथो तला भन्दापनि माथि रहेको केबल टनेलमा उक्लिएर उनीहरू बसिरहेको पनि हुनसक्ने राउत बताउँछन्।
अहिले यही सुरुङसम्म पुग्ने बाटो खोलेर त्यहाँबाट पावरहाउससम्म पुग्ने प्रयास भइरहेको छ।
"यसको मुख्य प्रवेशद्वार खोलाको सतहभन्दा ३०-३५ फिट माथि थियो। मुख्य प्रवेशद्वारभन्दा पनि ९ फिट माथि अर्को केबल टनेल थियो। तर अहिले त्यस भन्दा पनि ४०-५० फिट माथिसम्म बाढीले ठूल्ठूला ढुङ्गा, गेग्र्यान र एउटा संरचनाको पक्की छानो ल्याएर अडिट टनेल पनि पुरेको अवस्था छ," उद्धारस्थलमै रहेका राउतले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।
केबल टनेल आयोजनाबाट उत्पादित बिजुली तार मार्फत् स्वीच यार्ड अर्थात् प्रसारण लाइनमा जोड्ने ठाउँसम्म ल्याउने सुरुङ भएका कारण यो पावरहाउस भन्दापनि माथिल्लो ठाउँमा छ। तर यो पावर हाउस प्रवेश गर्ने मुख्य सुरुङजति फराकिलो छैन।
राउतका अनुसार यो सुरुङ छ मिटर अग्लो र ४.५ मिटर चौडा र अलिअलि घुमाउरो छ। केबल टनेलको एक छेउबाट तारहरू बाहिर ल्याइएको भए पनि त्यहाँबाट एक पटकमा ४-५ जना मानिसहरू प्रवेश गर्न सक्ने ठाउँ रहेको उद्धारस्थलमा रहेका उनले बीबीसी न्यूज नेपालीसँग बताए।
त्रिशूली-३ बीको सुरुङमा मानिस छन्?

तस्बिर स्रोत, PMO Nepal
माथिल्लो त्रिशूली-३ ए बाट निस्कने पानी प्रयोग गरेर माथिल्लो त्रिशूली-३ बी बन्न लागेको हो।
निर्माणाधीन आयोजना भएका कारण यसको सुरुङमा पनि काम भइरहेको थियो। यसको पावर हाउस अर्ध भूमिगत हो। यसको पावर हाउस अहिले पनि पुरिएको अवस्थामा रहेको आयोजनाकी कम्पनी सचिव लीला अर्यालले बीबीसीलाई जानकारी दिइन्।
यो आयोजनाको सुरुङमा मानिसहरू फसे वा नफसेकोबारे विभिन्न विवरणहरू आइरहेका छन्।
यो आयोजनाको सुरुङमा पावरहाउसतर्फको अडिट टनेलबाट केही समय मिटर भित्र काम भइरहेको ठाउँबाट भागेर निस्किएका दुई जना कामदारसँग बीबीसीले सोमवार कुरा गरेको थियो।
उनीहरूले यो आयोजनाको हेडवर्क्सतर्फ पनि मानिसहरूले काम गरिरहेको हुनसक्ने तर आफूहरूलाई उनीहरूबारे जानकारी नभएको बताएका थिए। तर पावरहाउसतर्फको सुरुङमा काम गरिरहेका मानिसहरू सुरक्षित रूपमा बाहिर निस्किएको पेम्बा डुन्डु तामाङ र इठा घलेले बीबीसीसँग बताएका थिए।
"सुरुङबाट निस्किएका मानिसहरूले आफ्नो समूहमा रहेका सबै जना बाहिर आएको हामीलाई जानकारी गराउनु भएको छ," अर्याल भन्छिन्।
उनका अनुसार ३.९ किलोमिटर लामो सुरुङमा पावर हाउसको अडिट टनेलको मुखभन्दा डेढ किलोमिटर भित्रसम्म मात्रै बाढी आएको समयमा काम चलिरहेको थियो।
"उद्धार टोली २ किलोमिटर भित्रसम्म पुग्दा मानिसहरू भेटिएनन् भन्ने जानकारी आएको छ।" अर्याल भन्छिन्।
यो आयोजनामा काम गरिरहेका १९१ जना अहिले पनि सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ।
राष्ट्रिय विपद् प्राधिकरणले पछिल्लो पटक जलविद्युत् आयोजनाहरूबाट मात्रै ६३९ जना सम्पर्कविहीन रहेको जनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















