केरुङमा अलपत्र नेपालीहरू तातोपानीबाट फर्कँदै, ८०० जनाले टिपाएका छन् नाम

केरुङ नाकासम्म चीनतर्फबाट आउने बाटो बनाउँदै चिनियाँहरू

तस्बिर स्रोत, Xinhua/RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

रसुवागढीमा आएको भीषण बाढीपछि तिब्बतको केरुङमा रोकिएका ११४ जना नेपालीहरू बिहीवारबाट नेपाल फर्किन थालेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

मानसरोवर तीर्थयात्रा र व्यापार व्यवसायका लागि भिसा लगाएर तिब्बत पुगेका अधिकांश नेपालीहरू स्वदेश फर्किसकेको महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए। तर अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू अहिले फर्किन लागेका हुन्।

रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड-अनलोडको काम गर्न तथा होटेल तथा रेस्टुराँहरूमा काम गर्न जाने नेपालीहरूले भिसा लिनुनपर्ने व्यवस्था छ।

"आज पहिलो खेप यहाँबाट हिँडेकाहरू बेलुकासम्म काठमाण्डू पुग्नुहुन्छ होला। यसपछि पनि निरन्तर पठाउँछौँ," निरौलाले ल्हासाबाट टेलिफोनमा भने।

रसुवागढी नाका र पासाङ ल्हामु राजमार्ग बाढीका कारण कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू अलपत्र परेका थिए।

चीन सरकारद्वारा सहजीकरण

केरुङ नाकासम्म चीनतर्फबाट आउने बाटो बनाउँदै चिनियाँ उपकरण र मानिसहरू

तस्बिर स्रोत, Reuters

महावाणिज्यदूत निरौलाका अनुसार नेपालीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकासम्म पुर्‍याउन चीनले सहजीकरण गरेको छ।

अस्थायी अनुमति लिएर काम वा किनमेलका लागि जाने नेपालीहरू तिब्बततर्फ ३० किलोमिटर भित्रसम्म मात्रै जान पाउँछन्। आफूसँग राहदानी र भिसा नभएका बाढीपछि तिब्बतमा अलपत्र परेका मानिसहरूलाई नेपाल फर्किन चीन सरकारले सहयोग गर्नुपरेको हो।

"उहाँहरूलाई अस्थायी अनुमति जारी गरेर तातोपानी नाका हुँदै नेपाल पठाउन लागिएको हो," निरौलाले भने।

नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा १,६०० जति नेपाली रहेको अनुमान छ। तीमध्ये नेपाल फर्किनका लागि ८०० जनाले नाम टिपाएको जानकारी उनले दिए।

"होटेल र रेस्टुराँहरूमा लामो समय काम गर्ने गरी आएका नेपालीहरूले अहिले फर्किन नाम टिपाएका छैनन्। धेरैजसो सामान लिन आएका, किनमेलका लागि आएका र लोड-अनलोडको काममा आएका छन्," निरौलाले भने।

फर्किन इच्छुक अरू नेपालीले नाम टिपाउन सक्छन्

Map

चीनबाट आयात हुने सामाग्री ढुवानी गर्ने नेपाली ट्रकहरूलाई सीमाबिन्दुबाट करिब २७ किलोमिटर टाढाको केरुङसम्म जान चीनले अनुमति दिने गरेको छ।

नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीले केरुङतर्फ १७६ वटा ट्रक तथा कन्टेनरहरू र ८० जना चालकहरू रोकिएको बताएका छन्।

"त्यहाँ रेस्टुराँ, पसलमा काममा पनि नेपालीहरू छन्। लोड-अनलोडको काममा पनि नेपालीहरू छन्। हामीले ८० जना चालकहरू रहेको जानकारी पाएका छौँ," उनले भने।

यसअघि बेइजिङस्थित नेपाली दूतावासले चीनको तिब्बततर्फ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्किन सहजीकरणको लागि सम्पर्क गर्नका लागि केही टेलिफोन नम्बरहरू सार्वजनिक गरेको थियो।

महावाणिज्यदूत निरौलाका अनुसार अस्थायी पास लिएर केरुङ पुगेका र स्वदेश फर्किन चाहने नेपालीहरूलाई स्थानीय प्रशासनमा पनि सम्पर्क गरेर नाम टिपाउन भनिएको छ। त्यसपछि चीन सरकारले नै बसमा हालेर उनीहरूलाई तातोपानी नाकासम्म ल्याइदिने व्यवस्था मिलाएको निरौलाले जानकारी दिए।

सीमापार व्यापार सङ्घका अध्यक्ष कार्कीका अनुसार केरुङतर्फ अड्किएका नेपाली ट्रकहरू चाहिँ तातोपानी नाकाबाट ल्याउन अझैसम्म अनुमति दिइएको छैन।

"उहाँहरूले तातोपानी बन्द छ। कोरलाबाट लैजानुहोस् भनिरहनुभएको छ। हामीलाई कोरलाबाट ल्याउन टाढा पर्छ, तातोपानीबाटै अनुमति दिनुहोस् भनेका छौँ," कार्कीले भने।

सीमाबाट कति नेपाली हराए

केरुङ नाकासम्म चीनतर्फबाट आउने बाटो बनाउँदै चिनियाँ उपकरण र मानिसहरू

तस्बिर स्रोत, Reuters

मानसरोवर तीर्थयात्रा गर्न र अन्य प्रयोजनका लागि भिसा लगाएर तिब्बत पुगेका नेपालीहरू यसअघि नै ल्हासा र तातोपानी नाका हुँदै स्वदेश फर्किएको महावाणिज्यदूतावासले जनाएको छ।

तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीमा नेपाल र चीन दुवैतर्फका अध्यागमन कार्यालय सहितका सीमा कार्यालयहरू बगाएको थियो।

नेपालको अध्यागमन कार्यालयले भदौ १०औ गते बिहान बाढी आउनुअघि ३५ जना नेपालीहरू रसुवागढी अध्यागमन कार्यालयबाट चीनतर्फ प्रवेश गरेको विवरण यसअघि सार्वजनिक गरेको थियो।

त्यस दिन १०४ जना नेपालीहरू बाढीले बगाएको सीमाबिन्दुमा रहेको जानकारी चिनियाँ पक्षले आफूलाई गराएको निरौलाले बताएका छन्।

तीमध्ये अधिकांश मानिसहरू अस्थायी पास लिएर चीनतर्फ पुगेका थिए। "तर यहाँहरूको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।