केरुङ पुगेका नेपाली 'सुरक्षित', चीनसँगको सीमा क्षेत्रबाट हराएकाहरूको 'यकिन विवरण छैन'

तस्बिर स्रोत, Reuters
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
तिब्बतको ल्हासामा रहेका नेपाली महावाणिज्यदूतले रसुवागढीस्थित सीमावर्ती क्षेत्रबाट झन्डै १०० नेपालीहरू हराएको आकलन चिनियाँ पक्षले गरेको बताएका छन्।
महावाणिज्यदूत लक्ष्मी निरौलाले केरुङ पुगिसकेका २०० जनाजति नेपालीहरू सम्पर्कमा रहेको र सुरक्षित रहेको बताएका छन्।
तर सीमाबिन्दुमा पुगेका नेपालीहरूको यकिन तथ्याङ्क चिनियाँ पक्षबाट पनि पुष्टि हुन नसकेको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।
बेइजिङस्थित नेपाली दूतावासले चीनको तिब्बततर्फ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्किन सहजीकरणको लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ। दूतावासले अलपत्र परेका नेपालीहरूलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावास र बेइजिङमा रहेको दूतावासमा सम्पर्क गर्न भनेको छ।
"त्यो बाढीले सीमाबिन्दुमा रहेका सबै पूर्वाधारहरू बगाएर लग्यो। त्यसले गर्दा हामीसँग यतिखेर सीमाबिन्दुमा कोको हुनुहुन्थ्यो भन्ने कुराको तथ्याङ्क अद्यावधिक हुन सकेको छैन," चिनियाँ पक्षको भनाइ उद्धृत गर्दै महावाणिज्यदूत निरौलाले बीबीसी न्यूज नेपालीसँग भने।
नेपालीहरूको विवरण खोजिँदै

तस्बिर स्रोत, Reuters
ल्हासास्थित कूटनीतिज्ञका अनुसार सीमाबिन्दुमा रहेका व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने काममा आफूहरू लागिरहेको जानकारी चिनियाँ अधिकारीहरूले गराएका छन्।
उनले नेपाल पक्षबाट पनि सीमाबिन्दुमा रहेका नेपालीहरूको विवरण खोजी भइरहेको जानकारी दिए।
"सीमा काटेर निश्चित बिन्दुसम्म आइसकेका र केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ," निरौलाले भने।
नेपालका टूर अपरेटरहरूमार्फत् सीमाबिन्दुतर्फ गइरहेका नेपाली र विदेशी पर्यटकहरूको विवरण महावाणिज्य दूतावासले लिएर खोजी गरिरहेको उनले बताए।
"बाढीले बगाएका पूर्वाधारसँगै नेपाली र चिनियाँ नागरिकहरू पनि बगेको हुन सक्छ। चिनियाँ पक्षले १०० जनाको हाराहारीमा चिनियाँ नागरिकहरू त्यहाँबाट बेपत्ता भए, लगभग त्यति नै नेपाली पनि हुनुहुन्छ भन्ने भन्ने प्रारम्भिक जानकारी गराए पनि त्यसको विस्तृत जानकारी हामीले पाउन सकेका छैनौँ," निरौला भन्छन्।
बेइजिङ र ल्हासाबाट पनि सीमाबिन्दुतर्फ टोली परिचालन भइसकेको जानकारी चिनियाँ पक्षले आफूहरूलाई गराएको उनले बताएका छन्।
"हामीले हिजोको घटनालगत्तै चिनियाँ पक्षसँग सम्पर्क गरेर चीनतर्फ रहनुभएका नेपालीहरूलाई उद्धार गर्ने र उहाँहरूलाई उपयुक्त स्थानमा राख्ने काम सुरु गर्यौँ," निरौला भन्छन्।
नेपाली कूटनीतिज्ञका अनुसार केरुङ पुगिसकेका नेपालीहरू कैलास मानसरोवर यात्रामा जाने क्रममा वा फर्किने क्रममा बाटोमा छन्।
"कैलाश यात्रा गर्ने टोली त्यहाँबाट हिँडिसक्नुभएको छ। अस्तिको दिन बेलुकी केरुङ आइपुग्नुभएका नेपालीहरूको टोली आज कैलास मानसरोवर पुगेर पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ," उनले भने।

निरौलाले केरुङमा अलपत्र परेका नेपालीहरूको पहिलो टोलीलाई शुक्रवार ल्हासाबाट विमानमार्फत् काठमाण्डू फर्काउन लागिएको जानकारी दिए।
उनका अनुसार कतिपय नेपालीहरूलाई सडकमार्ग हुँदै तातोपानी नाकाबाट स्वदेशफिर्तीका लागि सहजीकरण भइरहेको छ।
"तातोपानी नाकाबाट जान पनि सहजीकरण गरिदिन यहाँको सरकारसँग अनुरोध गरेका छौँ," उनले भने।

तस्बिर स्रोत, BBC/AshokDahal/File
लिपिङको पहिरोका कारण डेढ महिनायता बन्द रहेको तातोपानी नाकाबाट यात्रुहरूलाई नेपाल पठाउने विकल्प खुला गरिदिन चिनियाँ पक्षलाई अनुरोध गरिएको निरौलाले बताए।
"सामान ढुवानी रोकिए पनि तीर्थयात्रीहरूलाई त्यहाँबाट पठाउन सक्ने अवस्था छ," उनले भने।
केरुङमा अहिले कैलास मानसरोवर यात्रामा गएका तीर्थयात्री, व्यापार व्यवसायका लागि पुगेका नेपाली र किनमेलका लागि छोटो समयको अनुमतिपत्र लिएर पुगेका नेपालीहरू रहेको महावाणिज्यदूतले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















