सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिङसम्म त्रिशूली नदीको किनारमा पर्ने स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
त्रिशूली नदीमा पानीको मात्रा बढेको र विपद्को जोखिम हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र कालीगण्डकी नदी मिसिएपछि बन्ने नारायणी नदीको तटबाट मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनेको छ।
एउटा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदी आसपास नजान र गएको भए तत्काल सुरक्षित स्थानमा पुग्न अनुरोध गरेको छ।
प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने र निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा रहेका कार्यालयहरूलाई समेत आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको छ।
“स्थानीय तहहरूले नदी किनारमा बसोबास गर्ने स्थानीय व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्नुहोला,” प्रशासनको सूचनामा भनिएको छ।