'दुई यातायात कम्पनीका मात्रै ४१ वटा यात्रुवाहक सवारीसाधन बेपत्ता'

क्षतिग्रस्त सवारीसाधन

तस्बिर स्रोत, RSS

    • Author, गनी अन्सारी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: २ मिनेट

बुधवार बिहान भोटेकोशी-त्रिशूलीमा अकस्मात्‌ आएको विनाशकारी बाढीमा परी दुई वटा यातायात कम्पनीका मात्रै ४१ वटा यात्रुवाहक सवारीसाधन बेपत्ता भएको ‍‍औपचारिक जानकारी पाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिवले बीबीसीलाई बताएका छन्।

अरनिको यातायात सेवा समितिका २६ वटा बस र नमस्ते पासाङल्हामु यातायात प्रालिका १५ वटा माइक्रोबस हराइरहेका महासचिव डेकनाथ गौतमले बताए।

"अरनिको यातायातका बेपत्ता २६ वटा बसका चालकमध्ये तीन जना मात्र सम्पर्कमा आउनुभएको छ भने पासाङल्हामु यातायातका १५ वटा माइक्रोबसका चालकमध्ये दुई जनाले सम्पर्क गर्नुभएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"सामान्यतया एउटा बसमा एक/एक जना चालक र सहचालक हुने हुँदा अरनिको यातायातका बसमा ५४ जना र पासाङल्हामुका माइक्रोबसमा ३० जना चालक र सहचालक थिए," गौतमले अगाडि थपे।

अहिलेसम्म समग्रमा दुई सय वटा सवारीसाधन बेपत्ता भएको लिखित रूपमा जानकारी आफूहरूले प्राप्त गरेको उनले जानकारी दिए।

चीनतर्फ मालवाहक ट्रक

यातायात व्यवसायीहरूका अनुसार चीनतर्फ गएका नेपाली सवारीसाधनहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

"पारि चीनतर्फ खडा भएका तीन सय सवारीसाधनको त कुनै रेकर्ड नै हामीलाई प्राप्त भएको छैन," महासचिव गौतमले अगाडि थपे।

भन्सार जाँचपासमा रहेका थुप्रै सवारीसाधनहरू पनि हराएको बुझिएको उनले उल्लेख गरे।

अहिलेको भीषण बाढीमा परी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा आबद्धमध्ये १,००० को हाराहारीमा सवारीसाधन बेपत्ता भएको हुन सक्ने आफूहरूको प्रारम्भिक अनुमान रहेको उनले बताए।

"यो चाहिँ हाम्रो प्रारम्भिक अनुमान हो। यकिन सङ्ख्या तथ्याङ्क सङ्कलन गरिएपछि थाहा हुने छ," महासचिव गौतमले भने।

सरकारले के कति सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएको अथवा बेपत्ता भएको भन्नेबारे कुनै तथ्याङ्क अहिलेसम्म उपलब्ध गराएको छैन।

यातायात व्यवसायीहरूका अनुसार चीनतर्फ कैयौँ नेपाली सवारीसाधन लामबद्ध रहेका थिए

तस्बिर स्रोत, Social Media/Reuters

महासङ्घद्वारा समिति गठन

अकस्मात्‌ आएको बाढीले व्यापक स्तरमा जनधनको क्षति पुर्‍याएको पृष्ठभूमिमा निजी यातायात क्षेत्रमा भएको क्षतिबारे व्यवसायीहरूले आफ्नो तर्फबाट पनि विवरण सङ्कलन गर्ने भएका छन्।

त्यसका लागि महासङ्घले बिहीवार एक पाँच सदस्यीय समिति गठन गरेको महासचिव गौतमले जानकारी गराए।

"भोलिबाटै हाम्रो पाँच सदस्यीय समितिले फिल्डमा पुगेर क्षतिको विवरण सङ्कलन गर्न थाल्ने छ। हामीले विवरण पठाउन व्यवसायीहरूलाई अनुरोध पनि गरेका छौँ," उनले अगाडि थपे।

त्यो समितिले विवरण पेस गरेपछि यातायात क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिबारे भन्न सकिने गौतमले बताए।

उद्धारकर्ताहरूले बाढीमा बेपत्ताको खोजीका लागि तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका छन्

तस्बिर स्रोत, Reuter

व्यापक असर पर्ने चिन्ता

बाढीले पुर्‍याएको क्षतिको आउँदा दिनमा व्यापक असरहरू पर्ने यातायात व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।

सो क्षेत्रबाट हुने आम्दानीमा हजारौँ परिवारको गुजारा हुँदै आएको पृष्ठभूमिमा यसको असर तत्काल देखिने व्यवसायीहरू बताउँछन्।

"हामीकहाँ लगभग सबैजसो सार्वजनिक यातायातका सवारीसाधनहरू ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर सञ्चालन भइरहेको अवस्था छ। सञ्चालकदेखि ब्याङ्क तथा वित्तीय संस्थाहरू सबै मारमा पर्ने भए," महासचिव गौतमले औँल्याए।

"ती सवारीसाधनहरूको हकमा भोलि गएर बीमाबाट कति आउँछ, त्यो अहिले स्पष्ट छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।