प्यारिसनजिक घातक गोलीकाण्ड, 'जातिवादी आतङ्कवादी हमला' को सङ्ज्ञा

तस्बिर स्रोत, EPA
- Author, पल किर्बी र ज्याकब फिलिप्स
- Published
- पढ्ने समय: ३ मिनेट
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्यारिसनजिक भएको गोलीकाण्डलाई "जातिवादी आतङ्कवादी हमला" को सङ्ज्ञा दिएका छन्।
उक्त हमलामा परी एक जनाको ज्यान गएको छ भने अरू पाँच जना घाइते भएका छन्।
"हमला हाम्रो गणतन्त्र र राष्ट्रको जीवनमा एउटा निर्णायक मोड हो" भन्दै माक्रोँले यो प्रकृतिको अन्धाधुन्ध जातीय हत्याकाण्ड पहिलो पटक भएको बताएका छन्।
करिब १५ मिनेटसम्म चलेको उक्त हमलाका क्रममा आक्रमणकारीले आफ्नो गाडीभित्रबाट गोली चलाएका थिए।
शुरूमा उनले प्यारिसको दक्षिण-पश्चिममा पर्ने ट्र्याप भन्ने ठाउँमा र त्यसपछि नजिकैको ला भेरिआ शहरमा मानिसहरूलाई निशाना बनाएका थिए।
आप्रवासी मूललाई निशाना

तस्बिर स्रोत, Getty Images
हमलाकारीले खास गरी आप्रवासी मूलका व्यक्तिहरूलाई लक्षित गरेको देखिन्छ। पछि उनलाई पक्राउ गरियो।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ, जसमा एक १२ वर्षीया बालिका पनि छिन्।
ट्र्यापमा घटनास्थलको निरीक्षण गर्ने क्रममा माक्रोँले पीडितहरूलाई उनीहरूको जाति अथवा धर्मका आधारमा निशाना बनाइएको बताए। उनले त्यस्ता विचाराधाराले जरा गाड्न थालेको भन्दै मानिसहरूलाई कुनै अवस्थामा नझुक्न आग्रह गरे।
आक्रमणको उद्देश्य अझै स्पष्ट भएको छैन। तर राष्ट्रिय आतङ्कवादविरोधी अभियोजनकर्ता कार्यालय पीएनटीले उक्त घटना "आतङ्कवादी गतिविधिहरूसँग जोडिएको हत्या" जस्तो देखिएको सङ्केत गरेको छ।
फ्रान्सका सञ्चारमाध्यमहरूमा सन्दिग्ध व्यक्तिको पहिचान केभिन टी भनेर गरिएको छ। पीएनएटीका अनुसार उनीविरुद्ध यसअघि चार वटा मुद्दाहरू रहेकामा पछि हटाइएको थियो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरीलाई ती ३९ वर्षीय व्यक्तिका बारेमा जानकारी भए पनि फ्रान्सका गुप्तचर निकायहरूसँग भने उनीबारे कुनै जानकारी थिएन।
राष्ट्रिय आतङ्कवाद विरोधी अभियोजकको कार्यालयले बीएफएम टीभीलाई बताएअनुसार ती व्यक्ति फ्रान्सको सुरक्षाका लागि गम्भीर खतरा मानिने मानिसहरूका सूचीमा समावेश थिएनन्।
शुक्रवार ती सन्दिग्ध व्यक्तिका "निकटतम परिवार" का एक सदस्यलाई नियन्त्रणमा लिइएको पनि विवरणमा जनाइएको छ।
अन्धाधुन्ध गोली प्रहार

तस्बिर स्रोत, Getty Images
ट्र्यापका मेअर अली राबेहले शुक्रवार बिहान "एक व्यक्तिले आफ्नो गाडीबाट धेरै मानिसहरूमाथि गोली चलाएको" बताएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीले खैरो रङको रेनल्ट क्लिओ गाडीमा विभिन्न क्षेत्रमा यात्रा गरेका थिए।
आक्रमणकारीले "अन्धाधुन्ध गोली चलाएका" र तिनको उद्देश्य "सकेसम्म धेरै हताहती गर्ने… अर्थात् व्यापक विनाश मच्चाउने" देखिएको मेअर राहेबले बताए।
उनका अनुसार आक्रमणकारीले ट्र्यापस्थित पेट्रोल स्टेशन, एउटा चिकित्सा केन्द्र र खेल मैदानमा रहेका मानिसलाई निशाना बनाएका थिए। त्यसपछि नजिकैको ला भेरिआ क्षेत्रतर्फ उनी लागेका थिए।
प्रहरी युनियनका एक अधिकारीले जानकारी दिएअनुसार सन्दिग्ध व्यक्तिलाई ला भेरिआतर्फ जाने मुख्य सडक एन टेनमा नियन्त्रणमा लिइएको थियो।
घाइते १२ वर्षीया बालिकाकी आमाले फ्रेन्च प्रसारक आरटीएललाई बताएअनुसार उनकी छोरीलाई आठ राउन्ड गोली लागेको छ र उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। "कसैले एउटा बच्चामाथि यस्तो व्यवहार कसरी गर्न सक्छ?," उनले प्रश्न गरिन्।
उनले आफ्नी छोरीले हिजाब लगाएकी र सोही कारण उनीमाथि हमला गरिएको हुन सक्ने बताइन्।
"उनी फ्रान्सको ट्र्यापमा जन्मेकी बच्चा हुन्। उनलाई फ्रान्समा बस्ने र यहाँ आफ्नो जीवन बाउने अधिकार छ," उनले अगाडि थपिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























