'शायद म पनि बाढीमा विलीन हुन्थेँ'

टिकाराम पोख्रेल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक हुन्

तस्बिर स्रोत, Courtesy: Tikaram Pokharel

तस्बिरको क्याप्शन, अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक टीकाराम पोखरेल परीक्षाका कारण काठमाण्डूमा थिए
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

स्याङ्जाका टिकाराम पोखरेललाई लाग्छ - भदौ १० गते उनको परीक्षा दिने दिन नभएको भए, उनी पनि भोटेकोशीको बाढीमा बिलाएकाहरूमध्येका एक हुन्थे।

उनी अध्यागमन कार्यालय रसुवागढीका वरिष्ठ अध्यागमन सहायक हुन्।

नेपाल चीन सीमा नजिकै अवस्थित उनको कार्यालय भएको क्षेत्र नेपाल चीन सिमानाहुँदै गत साता आएको विनाशकारी बाढीबाट सबैभन्दा प्रभावित क्षेत्र हो।

बाढीमा परेर उनको कार्यालयका प्रमुखसहित चार जना बेपत्ता रहेको खबर पहिले आएको थियो। पछि सो कार्यालयका प्रमुख यादव भण्डारीको शव पश्चिम नवलपरासीमा फेला परेको पुष्टि भएको थियो।

झन्डै एक दशकअघि सरकारी सेवामा प्रवेश गरेका टिकाराम बाढी आउनुभन्दा तीन दिन अघि परीक्षा दिन काठमाण्डू फर्किएका थिए।

'परीक्षाले मलाई जोगायो'

परीक्षा नहुँदो हो त, बुधवार बाढी आउँदा टिकाराम आफ्नो कार्यालयका अन्य कर्मचारीहरूसँगै कैलाश मनसरोवर जान भेला भएका तीर्थयात्री र पर्यटकहरूलाई सेवा प्रवाह गर्न बिहानबाटै खटेका हुन्थे।

उनले बीबीसीसँग भने, "परीक्षाले गर्दा नै जोगिएको जस्तो मलाई लाग्छ। परीक्षा नभएको भए म पनि त्यहीँ हुन्थेँ होला। किनभने यो कैलाश जाने तीर्थयात्रीको भीडभाड अत्यधिक हुने समय हो।"

सोमवार रातिसम्मको आँकडा अनुसार अधिकारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएका झन्डै १ हजार जनाको शव फेला परेको र करिब ४ हजार बेपत्ता रहेको जनाएका छन्।

बाढीबाट सबैभन्दा प्रभावित रहेको रसुवाभन्दा सयौँ किलोमिटर पर तल्लो तटीय क्षेत्रमा पर्ने चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा अधिकांश शवहरू फेला परेका छन्।

अध्यागमन कार्यालय र त्यहाँ कार्यरत कर्मचारीको तस्बीर

तस्बिर स्रोत, Courtesy: Tikaram Pokharel

तस्बिरको क्याप्शन, केही समय पहिले एक जना कर्मचारीलाई कार्यलयबाट विदा गर्दाको क्षण

अघिल्लो वर्षको अन्त्यदेखि रसुवाको घट्टे खोलामा रहेको अध्यागमन कार्यालयमा कार्यरत पोखरेल उक्त क्षेत्रमा आफूले चिने जानेका लगभग कोही पनि अझैसम्म सम्पर्कमा नरहेको बताउँछन्।

अध्यागमन कार्यालय रहेको ठाउँसम्म पुग्न अहिलेको बाढीबाट बढी प्रभावित रहेको भनिएको टिमुरे क्षेत्र पार गर्नुपर्छ।

अध्यागमन कार्यालय रहेको ठाउँबारे हामीलाई के थाहा छ?

अध्यागमन कार्यलय रहेको स्थान र कन्टेनरसहितको तस्बीर

तस्बिर स्रोत, Photo Credit: Tikaram Pokharel

नेपालतर्फको अन्तिम बजार घट्टे खोलाले यो विपद्‌मा सबैभन्दा बढी क्षति व्योहोरेको ठानेका पोखरेलले त्यो अझै 'ओझेलमा परिरहेको' उनले सुनाए।

तिब्बत प्रवेश गर्ने पर्यटक बाहेक तिब्बत जाने मालवाहक ट्रकहरू, काठमाण्डूबाट जाने रुटका यात्रुवाहक सवारी साधन, ट्राभल्सका सवारी साधन समेत त्यहाँ बास बस्ने गर्छन्।

उक्त क्षेत्रमा झन्डै ५० देखि ६० वटा घर रहेको सुनाउँदै उनले जलस्रोत आयोजनाका चारवटा कार्यालयहरू पनि अध्यागमन कार्यालय नजिकै रहेको सुनाए। उनलाई पछिल्लो विपद्‌मा सबैभन्दा धेरै मानवीय क्षति त्यही क्षेत्रमा भएकोजस्तो लाग्छ।

उनले भने, "मैले त्यो दिन बिहान ८:२० मा कामको सिलसिलामा यादव भण्डारी सरलाई सम्पर्क गरेको थिएँ। त्यो दिन उहाँले भने अनुसार ३००-४०० जना चीन जानका लागि लाइन लागेका तीर्थयात्री मात्रै हुनुहुन्थ्यो। उताबाट नेपाल प्रवेश गर्न लागेका नाकामा कति थिए भन्ने तथ्याङ्क हामीसँग हुने भएन।"

"ती तीन चार सय मान्छेलाई परिचालन गर्ने ट्राभल गाइडहरू, सवारी साधनहरू, त्यहाँका स्थानीयहरू सबै गर्दा त्यो घट्टे खोला क्षेत्रमा मात्रै मेरो विचारमा २ हजारको सङ्ख्यामा मानिसहरू भएको हुनुपर्छ।"

यो आँकडा स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। उक्त क्षेत्रका धेरै गाइड र स्थानीयबासी आफूले चिनेको उल्लेख गर्दै उनले थपे, "त्यहाँको स्थानीय बासिन्दा कसैसँग मेरो सम्पर्क नै भएको छैन। कोही पनि भेटिनु भएको छैन। ट्राभल लाइनको साथीहरू दुई जना काठमाण्डू आउनुभएका कारण उहाँहरू बाँच्न सफल हुनुभएको छ।"

"उहाँहरूसँग चाहिँ प्रत्यक्ष कुराकानी भइरहेको हुन्छ। तर उहाँहरूले पनि अहिलेसम्म न शव न उद्धारमा कतै पनि नाम देखिएको छैन। अवस्था नाजुक छ भनेर भनिरहनु भएको छ।"

अध्यागमन पार गरेका तीर्थयात्री चिन प्रवेश गर्न सके?

अघिल्लो वर्ष पनि बाढीले उक्त क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, अघिल्लो वर्ष पनि बाढीले उक्त क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो (फाइल तस्बिर)

अध्यागमन विभागका अनुसार बाढी आएको बिहान ८ बजेर ३५ मिनेट ३ सेकेन्डसम्म नेपाली र विदेशी गरेर ८९ जना अध्यागमन कार्यालयबाट प्रस्थान गरेको र चार जना नेपालमा प्रवेश गरेको नेपाली पोर्ट नामक सूचना प्रणालीको अभिलेखमा देखिन्छ।

अन्तिम पटक त्यो प्रणालीमा अध्यागमन सहायक पार्वती मानन्धरले विवरण लग गरेको देखिन्छ, जो स्वयं पनि बेपत्ता छिन्।

अध्यागमन कार्यालयबाट नेपाल चीन सिमानामा रहेको मितेरी पुल लगभग दुई किलोमिटर पर पर्छ। मानसरोवर जाने पर्यटकहरू समूहमा चिनियाँ अध्यागमनतर्फ जाने उल्लेख गर्दै पोखरेलले उनीहरूमध्ये कसैले पनि चिनियाँ अध्यागमन पार गर्न नसकेको हुनसक्ने आशङ्का गरे।

"कच्ची बाटो छ। हाम्रो कार्यालय ८ बजे खुल्छ। उहाँहरूको बहिर्गमन प्रक्रिया चलिरहेको देखिएको भएपनि उहाँहरू जाँदै हुनुभएको भएपनि बीचमा उताको इमिग्रेसनमा नपुग्दै बाढीमा पर्नुभएको देखिन्छ।"

अघिल्लो दिन नेपालबाट तिब्बतको लागि प्रस्थानको अनुमति लिएका व्यक्तिहरूको सङ्ख्या ५ सय भन्दा बढी छ। चिनियाँ अध्यागमन कार्यालय अपराह्न ३ बजे आसपास बन्द हुने भएकाले त्यसमध्ये डेढ देखि दुई सय जनाले भोलीपल्ट सबेरै चिनियाँ नाकातर्फ यात्रा गरेको हुनसक्ने उनले सुनाए।

अध्यागमन कार्यालयका प्रवक्ता शिवप्रसाद लम्सालले बीबीसीसँग कुरा गर्दै भने, "जो प्रस्थान गर्नुभएको छ, उहाँहरूले नाका पार गरेको वा नगरेको भन्न सकिने अवस्थामा हामी छैनौँ। अध्यागमन कार्यालयका प्रमुखको शव फेलापरेपछि परिवारले बुझेर लैजानुभएको छ र अन्तिम संस्कार गर्नुभएको छ।"

थकथकी र पुनर्जन्म

भोटेकोशीमा आएको बाढीको नक्सा।

गएको वर्ष असारमा उक्त क्षेत्रमा आएको बाढीले नेपाल चीन सीमामा रहेको मितेरी पुललाई बगाएपछि उक्त नाका अवरुद्ध भएको थियो।

चिनियाँ पक्षको सहयोगमा बेलिब्रिज जोडेपछि गएको पुसबाट सञ्चालनमा आएको उक्त नाकाबाट अघिल्लो आर्थिक वर्षमा अधिकांश पर्यटकसहित झन्डै ५४ हजारले आवतजावत गरेका थिए।

उक्त नाका अवरूद्ध भएपछि पछिल्लो पटक कोदारी र हिल्सा नाकाबाट तिब्बतमा रोकिएका पर्यटकको आवागमनलाई सहजीकरण गरिरहेको अधिकारीहरूले जनाएका छन्।

अध्यागमन सहायक पोखरेलको चाहिँ गएको चैतमा मात्रै उक्त कार्यालयमा खटाइएका थिए। अघिल्लो वर्षको बाढीले त्यस क्षेत्रमा जनधनको ठूलो क्षति पुर्‍याएकाले सम्भावित विपद्लाई लिएर चनाखो भएर आफूहरू बस्ने गरेको उनी सम्झन्छन्।

"खोलादेखि हाम्रो कार्यालयको दुरी भनेको झन्डै १०० मिटर जति दुरी थियो। तर दुई तिर पहाडको संरचना थियो अनि खोला अलि साँघुरो थियो। बाढी आएको बेला पहाडतिर ठोक्किने कारणले हल्लिएको जस्तो हामीलाई महसुस हुन्थ्यो। पहिला पनि हल्लाएर हामी राति उठेर बाहिर निस्किएको घटनाहरू छ।"

यसपालि पनि बाढी अघि कम्पन आउने बित्तिकै अफिसमा कार्यरत सहकर्मीहरू सतर्क बनेको हुनसक्ने ठानेका उनले सुरक्षित स्थानमा पुग्ने अवसर भने नपाएको आशङ्का गरे।

"पछिल्लो फोटो र भिडिओ हेर्दा बाढी हाम्रो अफिस भन्दा १००-१५० मिटर माथिबाट गएको देखिन्छ। पहिला पनि हामीले बाढी आयो भने घट्टेखोला आएको ठाउँबाट माथि रहेको खर्कमा जान सकिन्छ भनेर ठाउँहरू हेरेका थियौँ। खोलाको तिरै तिरबाट माथि जानसकेको भए उहाँहरूलाई भाग्नसक्ने अवस्था हुन्थ्यो। तर जुन ठूलो वेग र शक्तिसहित बाढी आयो साथीहरूले भाग्ने कुनै मौका नै नपाएको जस्तो लाग्छ।"

बाढी आउनुभन्दा एक दिन अघि परिक्षामा सहभागी भएका पोखरेल उक्त घटना सुनेपछि आफू कैयौँ घण्टा बोल्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्।

उनले भने, "मलाई धेरै साथीहरूको फोन आयो। म बोल्न पनि सकिन्। सँगै काम गरिरहेका साथीहरूका परिवारले पनि सम्पर्क गर्नुभयो। त्यहाँको अवस्था के कस्तो छ भनेर मैले गृह मन्त्रालय र आफ्नो विभाग अन्तर्गत पनि जाने बुझ्ने कामहरू गरेँ। सरहरूलाई घट्टेखोलाको माथि एउटा खर्क छ, त्यहाँसम्म भाग्ने अवस्था पनि हुनसक्छ भनेर खबर पनि गरेँ। हेली त्यसतर्फ पठाउन पनि आफ्नोतर्फबाट सक्दो अनुरोधहरू गरिरहेको थिएँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।