कृष्णभीर सडक यसै साता 'तयार' तर चुनौती 'कायमै'

पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर खण्ड बाढीले कटान गरेर भासिएपछि पुन: सडक निर्माण भइरहेको छ
    • Author, ईश्वर जोशी
    • Role, नारायणगढ
  • Published
  • पढ्ने समय: ३ मिनेट

धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडक असोज १ गतेदेखि सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्।

काम सुरु गरेको ११ औँ दिनमा भासिएको ठाउँ नजिकै कच्ची सडक तयार पार्ने काम सम्पन्न भएको त्यहाँ कार्यरत एक निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले बताए।

उक्त स्थानको भित्ता काटेर करिब ३ सय मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक बनाउने काम सम्पन्न भएको उनले बताए।

अहिले कच्ची सडकमा ग्राभेलिङ र नाला बनाउने तथा स्लोप मिलाउने काम भइरहेको नेपालले बताए।

"उक्त सडक निर्माणपछि सोमवार परीक्षणस्वरूप करिब २० वटा गाडी छाड्यौँ," उनले बताए।

सडकको परीक्षण पूरा भएको बताइएको छ

उक्त स्थान बाढी आएको केही दिनपछि त्रिशूली नदीले कटान गर्दा करिब २ सय मिटर सडक भासिएपछि दुई सातादेखि सवारी आवागमन ठप्प छ।

उक्त सडक भदौ १४ गते भासिएको थियो।

२०५७ सालमा पनि पहिरोले निकै लामो समयसम्म दु:ख दिएको उक्त स्थान सडक भासिदा चुनौती थपिएको थियो।

नाला र ग्र्याभेलिङ

नाला र ग्र्याभेलिङ कार्य हुँदै छ

असोज १ गतेबाट सबै हल्कादेखि भारी सबै सवारीका साधनहरू सञ्चालनमा ल्याउने गरी काम भइरहेको परामर्शदाता प्रभुराज पाण्डेले बताए।

उक्त स्थानमा १ मिटर नाली बनाउने कामको साथै सडकमा ग्राभेल हाल्ने काम आगामी दिनमा सक्ने लक्ष्य राखेको उनले बताए।

उक्त सडकको माथि पहाड चिरा परेको अवस्थामा रहेको र उक्त चिरालाई 'सील' गर्ने काम भइरहेको परामर्शदाता पाण्डेले बताए। पहाडमा चिरा चिरा परेको कारण ठुलो पानी परेको खण्डमा पहिरोको जोखिम भने कायमै रहेको अधिकारीहरूले बताएका छन्।

रातको समयमा के गर्ने

कच्ची सडक

दुवैतर्फी सडक सञ्चालनमा ल्याउने काम धमाधम भइरहेको अधिकारीहरूले बताएका छन्।

"असोज १ गतेदेखि सञ्चालन गर्ने तयारीमा हामी छौँ। सबै किसिमको सवारी साधनहरू चलाउन मिल्ने गरी सडक बनेको छ तर रातको समयमा के गर्ने भन्ने कुरा सडक विभागले नै सूचना जारी गर्ला," परामर्शदाता पाण्डेले बताए।

अन्य जिल्लाबाट काठमाण्डूलाई जोड्ने मुख्य राजमार्गको रूपमा रहेको पृथ्वी राजमार्ग बन्द हुँदा काठमाण्डू जान सवारी सधानहरूले वैकल्पिक राजमार्ग प्रयोग गर्दै आएका छन्।

उक्त राजमार्ग भएर दैनिक १० हजारभन्दा बढी सरकारी साधनहरू आवत जावत गर्ने गरेको तथ्याङ्क छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।