भोटेकोशी-त्रिशूली बाढीमा 'हराइरहेकाहरू' को हुन्, धेरै पर्यटक पर्ने अवस्था कसरी आयो

तस्बिर स्रोत, Reuters
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
लीफ होलिडेज प्रालिको व्यवस्थापनमा तिब्बतको कैलाश मानसरोवर यात्रामा गएका ५५ जनाको टोली बुधवार बिहानसम्म काठमाण्डूस्थित कार्यालयको सम्पर्कमै थियो।
उनीहरू अघिल्लो दिन साँझ नै नेपाल–चीन सीमामा पुगेका थिए र बिहानै उठेर अध्यागमनको लाइनमा बसेका थिए।
"नेपालको अध्यागमन बिहान ७ बजे खुल्छ अनि उताको चाहिँ ९ बजे खुल्छ," कम्पनीका प्रबन्ध निर्देशक गोपाल थापाले भने, "उक्त टोलीमा मेरो साहिँलो भाइ पनि थियो। ऊसँग मेरो अन्तिम सम्पर्क हुँदा उनीहरू नेपालको अध्यागमन पार गरेर पारिपट्टि लाइनमा बसिरहेका थिए।"
“त्यसपछि कसैसँग सम्पर्क भएन।”
आफ्ना भाइ र सेवाग्राहीहरूको खोजीमा थापा बुधवार अपराह्न हेलिकप्टर लिएर उक्त क्षेत्रसम्म पुगे। "तर त्यहाँको दृश्य देखेपछि मन मरेर आयो। केही आशा रहेन।"
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीनको सङ्ख्या ९७७ रहेको जनाएको छ।
"त्यसमा स्थानीय बासिन्दा, पर्यटक र सुरक्षाकर्मीहरूसमेत छन्," प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्।
बढ्न सक्छ सम्पर्कविहीनको सङ्ख्या

तस्बिर स्रोत, EPA
अहिले सम्पर्कविहीनको सूचीमा व्यवस्थित रूपमा उक्त क्षेत्रमा पठाइएका पर्यटकहरूको सङ्ख्या ठूलो देखिए पनि कालान्तरमा स्थानीय बासिन्दाको सङ्ख्या सर्वाधिक हुन सक्ने त्यस क्षेत्रको भ्रमण गरेर फर्किएकाहरूको आकलन छ।
"अहिले सम्पर्कवीहिन भएकाहरूको आँकडा जुन स्तरमा आइरहेको छ, त्यसले त्यहाँको वास्तविक स्थितिलाई दर्शाएजस्तो लाग्दैन। त्यसले बाढीबाट प्रभावित भएका स्थानीय बासिन्दाको ठूलो सङ्ख्यालाई समेटेको देखिँदैन," बुधवार नै बाढी प्रभावित रसुवाको उपल्लो भेगमा पुगेर फर्केका ट्रेकिङ असोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले भने।
"त्यसमा स्वदेशी तथा विदेशी पर्यटक, सरकारी कार्यालयका कर्मचारीहरू तथा सुरक्षाकर्मी, यातायात मजदुरहरू, हाइड्रो तथा सडक निर्माणमा खटिएका कर्मचारी र मजदुरका साथै ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाहरू परेका हुन सक्ने देखिन्छ।"
स्थानीय अधिकारीहरू पनि हराइरहेकाको सङ्ख्या उल्लेख्य रूपमा बढ्न सक्ने स्वीकार्छन्।
"बाक्लो मानव बस्ती भएका रसुवाका स्याफ्रुबेँसी र टिमुरेजस्ता ठाउँहरू नराम्ररी प्रभावित भएकाले त्यसो हुन सक्ने देखिन्छ," जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बीबीसीसँग भने।
पर्यटकहरू ठूलो सङ्ख्यामा कसरी परे

अघिल्लो वर्ष आएको बाढीपछि प्रभावित भएको त्यस क्षेत्रको पर्यटकीय र आर्थिक गतिविधिमा पुन: धक्का लागेको जानकारहरू बताउँछन्।
रसुवामा अघिल्लो वर्षको असारमा ठूलो बाढी आउँदा जनधनको उल्लेख्य क्षति भएको थियो। त्यति बेला लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएको अध्ययनहरूले देखाएका छन्।
"हालै खुलेपछि बल्ल चलायमान हुन थालेको थियो र उक्त क्षेत्रमा भएर ठूलो सङ्ख्यामा पर्यटकहरू कैलाश मानसरोवरतर्फ आवतजावत गर्न थालेका थिए," लीफ होलिडेजका थापाले भने।
सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हराइरहेकामध्ये एउटा ठूलो हिस्सा पर्यटकहरूको पनि छ।
धुन्चे भएर तिब्बतको मानसरोवर, गोसाइँकुण्ड र लाङटाङ जाने पर्यटकहरूको सङ्ख्या ठूलो हुन्छ। साउन सकिएसँगै वर्षा सकिएको अनुमानमा धेरै पर्यटक त्यतातिर लागेका देखिन्छन्। साथै, जनैपूर्णिमाको छेको पारेर गोसाइँकुण्ड जानेहरू पनि प्रशस्त हुन्छन्।
"तर लाङटाङ र गोसाइँकुण्ड जानेहरूको र त्यस क्रममा प्रभावित भएकाको सङ्ख्या हामीसँग उपलब्ध छैन। संस्थागत रूपमा टूर अपरेटरमार्फत् मानसरोवरतर्फ गइरहेका र आइरहेकामध्ये बिहीवार अपराह्नसम्मको तथ्याङ्कअनुसार ६६८ जना हराइरहेका छन्, जसमा नेपालीको सङ्ख्या १२७ छ," नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत ऐरले भने।
यातायात र विद्युत् क्षेत्रका कामदारको सङ्ख्या पनि उत्तिकै
बुधवारको बाढीमा ठूलो सङ्ख्यामा यातायात मजदुर र यातायात व्यवसायी पनि सम्पर्कविहीन भएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूले जनाएका छन्।
महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार सङ्घले आफूमातहतका विभिन्न यातायात व्यवसायी समितिहरूबाट प्राप्त विवरणका आधारमा करिब ३०० यात्रुबस तथा सबै किसिमका सवारीसाधनसहित करिब ८०० सवारीसाधन हराएको हुन सक्ने आकलन गरेको छ।
"हाम्रा कैयौँ पदाधिकारीहरू नै सम्पर्कविहीन छन्, त्यसले गर्दा यातायात क्षेत्रका कति मानिसहरू हराइरहेका छन् भनेर कल्पनै गर्न सक्ने अवस्था छैन," उनले भने।
"सम्पर्कमा नभएका यात्रुबसहरूमध्ये कति यात्रु बोकेर गुडिरहेका थिए भन्ने पनि यकिन छैन।"
भोटेकोशी-त्रिशूली क्षेत्रमा पर्ने सानाठूला जलविद्युत् आयोजनाहरूमा काम गर्ने कामदारहरू पनि व्यापक रूपमा प्रभावित भएका हुन सक्ने ठानिएको छ। ऊर्जा मन्त्रालयका अधिकारीहरूले दिएको पछिल्लो आँकडाले विभिन्न जलविद्युत् आयोजनासम्बद्ध १८४ जना कर्मचारीहरू सम्पर्कविहीन रहेको देखिन्छ।
"त्यो क्षेत्रमा १५ वटा जति विद्युत् आयोजना प्रभावित भएका विवरण आएका छन् तिनमा सातवटा बन्दै गरेका र बाँकी चालु अवस्थाका रहेका भनिएको छ," स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का निवर्तमान अध्यक्ष गणेश कार्कीले भने, "चालु अवस्थाका आयोजनामा धेरै नभए पनि बन्दै गरेकोमा धेरै कामदारहरू हुन्छन्।"
"तर उद्धारकार्य पनि जारी छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















