बाढीपछि '८२६ जना सम्पर्कविहीन', कसरी गरिँदैछ तथ्याङ्क सङ्कलन

रसुवाबाट बिहीवार बिहान केहीको उद्धार गरिएको सेनाले जनाएको छ

तस्बिर स्रोत, Nepali Army

Published
पढ्ने समय: ४ मिनेट

भोटेकोशी र त्रिशूली नदीमा बुधवार आएको बाढीपछि सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ८२६ पुगेको अधिकारीहरूले बताएका छन्।

उनीहरूको खोजी गर्न सुरक्षा निकायका हेलिकप्टरदेखि गोताखोरहरूसम्म परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बुधवार बिहान तिब्बत हुँदै आएको नदीमा एक्कासि आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। विभिन्न स्थानमा शवहरू फेला पर्ने क्रम जारी छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पर्यटक तथा विभिन्न निकायका सुरक्षाकर्मीसहित ८२६ जना सम्पर्कविहीन भएका हुन्। तीमध्ये ५७९ जना पर्यटक छन्।

"कतिपय व्यक्तिहरू कतै सुरक्षित ठाउँ खोजेर बसेका हुन सक्छन्, टेलिफोन सम्पर्क नभएका कारण अप्ठेरोमा परेको समेत हुन सक्ने भएकाले हामीले उक्त सङ्ख्यालाई 'बेपत्ता' भनिहालेका छैनौँ। अहिले सम्पर्कविहीनको सूचीमा भएकाहरू पछि (सकुशल) भेटिन पनि सक्नुहुन्छ," प्राधिकरणकी प्रवक्ता महतले बताइन्।

"खोज तथा उद्धार कार्यका निम्ति निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्नेबारे छलफल भइरहेको छ।"

सम्पर्कविहीन हुनेको सङ्ख्या रसुवामा धेरै

बाढीपछिको दृश्य

तस्बिर स्रोत, Reuters

बुधवारको बाढीपछि विभिन्न स्थानमा फसेकाहरू फेला पर्ने क्रम पनि जारी छ।

नेपाली सेनाले चीनसँगको सीमानजिकै रसुवाको टिमुरे क्षेत्रबाट हराइरहेका केही विदेशीसहित १०० जनाभन्दा धेरैलाई बिहीवार सकुशल उद्धार गरिएको जनाएको छ।

"बिहानदेखि ११ बजेसम्म टिमुरे तथा मैलुङ इलाकाबाट २० विदेशीसहित १२५ जनाको हवाई उद्धार गरिएको छ," सेनाले जारी गरेको पछिल्लो सूचनामा भनिएको छ।

त्यस्तै रसुवाकै हाकुस्थित एउटा जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको पनि जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेको सङ्ख्या सबैभन्दा धेरै रसुवामा नै छ।

"त्यसमा सुरक्षा निकायका व्यक्तिहरू पनि छन्। रसुवाबाट मात्रै सेनाका ४४ जना, प्रहरी २८ र सशस्त्रका १३ जना सम्पर्कविहीन छन्। पर्यटक ४६६ जना र अन्य १६१ जना हराइरहेका छन्," उनले भनिन्।

"सुरक्षा निकायहरू नै प्रभावित हुँदा खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ।"

गोताखोर परिचालन

सुरक्षा निकायहरूले जनाएअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा शवहरू फेला पर्ने क्रम जारी छ।

केही शव बगेर भारत पुगेको हुन सक्ने आशङ्का अधिकारीहरूले गरेका छन्।

हराइरहेकाको खोजीका लागि रसुवाको भोटेकोशीदेखि चितवनको नारायणी नदीसम्म सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बीबीसीलाई जानकारी दिए।

"चितवनबाट ११, कुरिनटारबाट ३ र काठमाण्डूस्थित विपद् उद्धार गणबाट ९ जना परिचालन गरेका छौँ। उनीहरूलाई क्रमश: देवघाट र नवलपुरतर्फ, धादिङ-चितवन तथा रसुवा-नुवाकोट क्षेत्रका नदीहरूमा खटाइएको छ।"

"सशस्त्र प्रहरीसँग ११४ जना गोताखोरहरू छन्। प्रभावित क्षेत्रमा खट्नेको सङ्ख्या अझ बढाउँछौँ," उनले भने," चितवनबाट थप जनशक्ति खटिँदै छन्।

कसरी सङ्कलन गरिँदै छ सम्पर्कविहीनको तथ्याङ्क

विपद् प्राधिकरणको बैठकमा अधिकारीहरू

तस्बिर स्रोत, ndrrma

प्राधिकरणले प्रदेश तथा जिल्लाका आपत्कालीन कार्यसञ्चालन संयन्त्रमार्फत् हताहत हुनेको सङ्ख्या अद्यावधिक गर्ने गरेको छ।

यस्ता संवेदनशील तथ्याङ्कलाई भरपर्दो रूपमा अद्यावधिक राख्न ती संयन्त्रलाई अद्यावधिक गर्ने प्रयास भइरहेको प्रवक्ता महतले बताइन्।

"आजबाट एक-एक घण्टामा तथ्याङ्कहरू अद्यावधिक गराउन भनेर भनेका छौँ। त्यहीअनुसार विपद् प्राधिकरणको फेसबुक पेज तथा वेबसाइटहरूमा पनि अद्यावधिक गरिराखेका छौँ।"

"प्रमुख जिल्ला अधिकारीमार्फत् प्रमाणीकरण भएर आउने भएकाले एकै व्यक्ति दुई पटक गणना हुने जोखिम हुँदैन," उनले भनिन्।

"तर सम्पर्कविहीन ठानिएका व्यक्तिहरू अस्पताल लगिएका वा बोल्न सक्ने अवस्था नभएको खण्डमा चाहिँ पहिचान गर्न कठिन हुन भने सक्छ। त्यस्तै मृतकका हकमा पनि सनाखत गर्न कठिन देखिन्छ।"

त्यसबाहेक सम्पर्कविहीन भएका मानिसका कतिपय आफन्तले प्राधिकरणको टोल-फ्री नम्बर १२३४ मा फोन गरेर पनि आफ्ना प्रियजनबारे सूचना टिपाइरहेका छन्।

"बिहीवार खोज तथा उद्धारकार्यमा जोड दिइरहेका छौँ। मोबाइलका टावरहरूले काम गर्न थाले भने कतिपय व्यक्तिहरूसँग सम्पर्क स्थापित हुन सक्ने पनि ठानेका छौँ। हामी क्रमश: त्यहीअनुसार सूचना प्रवाह गर्दै जान्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।