अमेरिका-इरान सम्झौता नजिक पुगेको दाबीकाबीच स्ट्रेट अफ होर्मुजमा फेरि 'तनाव'

अमेरिकी सेना

तस्बिर स्रोत, U.S. Navy via Getty Images

    • Author, गेरी ओडनह्यू
    • Role, वरिष्ठ उत्तर अमेरिका संवाददाता, वाशिङ्टन डीसी
    • Author, ओलिभिया आयरल्यान्ड
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजलाई निशाना बनाइएका इरानी ड्रोनहरू खसालिदिएको बताएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड 'सेन्टकम'ले "इरानले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूलाई निशाना बनाउने प्रयासमा ड्रोनहरू प्रहार गरेको" बताएको छ।

"अमेरिकी सेनाले पछिल्ला केही घण्टामा ती सबै ड्रोनहरूलाई खसालिदिएको छ र स्ट्रेटमा जहाजबाट ढुवानी बिना अवरोध जारी छ।"

अमेरिका र इरान दुवैले आफूहरू शान्ति सम्झौतातर्फ अघि बढिरहेको सङ्केत गरेको केही घण्टाभित्रै पछिल्लो घटना भएको छ।

सम्झौता हुन लागेकोमा दुवैको आशा

ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूले मस्यौदा सहमतिको नजिक पुगेको बताएका छन्।

इरानका विदेशमन्त्रीले लडाइँ अन्त्यको निम्ति अमेरिकासँगको कुराकानी सहमति नजिक पुगेको र त्यसमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने कुरा पनि समावेश रहेको बताएका छन्।

विदेशमन्त्री शैयद अब्बास अराग्चीले सरकारी टेलिभिजनसँग कुरा गर्दै सम्झौतामा इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दी फुकुवा गर्ने पनि उल्लेख रहेको तर इरानको परमाणु कार्यक्रमबारे वार्ता पछि सुरु हुने जानकारी दिए।

अमेरिकी अधिकारीहरूले सम्झौताका केही अंशहरूबारे पुष्टि गर्दै इरानको लागि आर्थिक लाभको पक्ष तेहरानले आफ्नो जिम्मेवारी निर्वाह गर्ने कुरामा निर्भर हुने बताएका छन्।

अमेरिका र इजरेलले २८ फेब्रुअरीमा इरानमा आक्रमण गरेपछि युद्ध सुरु भएको हो। त्यसको जबाफमा इरानले खाडीमा रहेका अमेरिकाका सहयोगी राष्ट्रहरू र इजरेलमा गरेको थियो, विश्वको निम्ति तेल र तरलीकृत प्राकृतिक ग्यासको एउटा मुख्य ढुवानी जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द गरिदियो।

एप्रिलमा युद्धविराम सहमति भए पनि अमेरिका र इरानबीच बेलाबेलामा गोली हानाहान भएको छ, त्यस क्रममा यसै हप्ता दुई चरणको आक्रमण-प्रत्याक्रमण पनि भएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्ताकारहरूले "भर्खरै ठूलो सम्झौता" गरेका कारण इरानविरुद्धको "पूर्वनिर्धारित आक्रमण" रद्द गरेको बिहीवार बताएका थिए, जुन सम्झौतामा चाँडै नै हस्ताक्षर हुने सम्भावना छ।

इरानी सञ्चारमाध्यमले शुक्रवार १४ बुँदे भनिएको सम्झौताका केही विवरण प्रकाशित गरेका थिए तर त्यसका बुँदाहरूको "विगतमा भएका सहमतिका सर्तसँग कुनै सम्बन्ध नरहेको" र "सत्यसँग कुनै साइनो नरहेको" ट्रम्पले बताएका थिए।

पक्ष र विपक्षमा मतहरू

जनजीवन

तस्बिर स्रोत, Reuters

त्यसको केही घण्टापछि वार्ताको निम्ति मध्यस्थता गरिरहेको देश पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका र इरानबीच समझदारी पत्रमा सहमति भएको र अन्तिम रूप दिन बाँकी रहेको बताएका थिए।

इरानको सरकारी सञ्चारमाध्यमले विदेशमन्त्री अराग्चीलाई उद्धृत गर्दै त्यहाँको सर्वोच्च सुरक्षा निकाय सुप्रिम न्याश्नल सिक्योरटी काउन्सिलमा सम्झौताका पछिल्लो सर्तहरूलाई लिएर "पक्ष र विपक्षमा" मतहरू रहेको बताएका छन्।

तर उनले सामूहिक निर्णयमा नपुगेको बताए।

"अहिलेका लागि हामीले पर्खनु पर्छ। यदि स्वीकृत भयो भने, सम्झौतामा टाढाबाट (नभेटेरै) हस्ताक्षर हुने छ," उनले भने।

इरानी विदेशमन्त्रीले "वार्ताको अन्तिम चरण जति सक्दो चाँडै पूरा हुन्छ, सम्झौतामा हस्ताक्षर र घोषणा हुने" बताए।

"यो आउँदा दिनमा हुनसक्छ। म धेरै आशावादी छु," विदेशमन्त्री अराग्चीले सरकारी टेलिभिजनलाई भनेका छन्।

उनका अनुसार सम्झौताको पहिलो बुँदामा इरानमाथि अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने उल्लेख छ।

अराग्ची

तस्बिर स्रोत, EPA/Shutterstock

अराग्चीले सामान्यतया विश्वको २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्याँस ढुवानी हुने महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजको बारे बोल्दै उसको प्रशासनिक प्रक्रिया "अब पहिले जस्तो नहुने" बताए।

स्ट्रेट बन्द भएदेखि इरानले त्यो जलमार्ग पार गर्न चाहने जहाजहरूले शुल्क तिर्नु पर्नेमा जोड दिएको छ र अमेरिकाले सबै जहाजको निम्ति उक्त मार्ग निःशुल्क हुनुपर्ने अडान राखेको छ।

वरिष्ठ इरानी अधिकारीले समझदारी पत्रमा इजरेल र हिज्बुल्लाहबीच लेबननमा जारी द्वन्द्व अन्त्यको परिकल्पना पनि गरिएको बताए।

यसअघि अमेरिकाबाट प्राप्त खबरहरूमा लेबनन उक्त सम्झौताको अङ्ग नहुन सक्ने र इरानले त्यसमा जोड दिइरहेको बताइएको थियो।

इजरेलका प्रधानमन्त्रीले हिज्बुल्लाहले उत्तरी इजरेलमा आक्रमण जारी राखेमा आफ्नो देशले हमला गर्ने गर्ने बताएका छन्।

युद्धविराम विस्तारका साथै इरानको परमाणु कार्यक्रम लगायत प्रमुख मुद्दाहरूबारे कुराकानी सुरु गर्ने वार्तामा इजरेल संलग्न छैन।

पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन खोजेको आरोप दशकौँदेखि लगाउँदै आएका छन्।

उसले बिजुली उत्पादन र अनुसन्धान उद्देश्यका साथ शान्तिपूर्ण उद्देश्यका लागि आफ्नो कार्यक्रम भएको बताउँदै आरोपको खण्डन गरेको छ।

ह्वाइट हाउस संवाददाता बर्न्ड डेबुस्मनको थप रिपोर्टिङका साथ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।