'कसैलाई फाइदा, कसैलाई घाटा': इरान युद्धका कारण विभिन्न देशका मुद्रा पनि प्रभावित

तस्बिर स्रोत, Getty Images
- Author, लुइस बारूशो र जुलिआ ब्रउन
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ५ मिनेट
अमेरिका र इजरेल तथा इरानबीच गत फेब्रुअरीको अन्त्यमा सुरु भएको युद्धको असर मध्यपूर्वमा मात्र सीमित भएन। यसको मार अन्य क्षेत्रसम्म पनि पर्यो।
यो द्वन्द्वले समुद्री व्यापार अवरुद्ध भयो। विश्वभरि सामानको आपूर्ति पनि प्रभावित भयो। तेलको मूल्य चर्कियो। अनि मुद्रास्फीति बढ्दा विश्व बजार अस्थिर भयो।
अनिश्चित समयमा लगानीकर्ताले जोखिमपूर्ण बजारबाट पैसा निकाल्छन् र तुलनात्मक रूपमा सुरक्षित मानिने अमेरिकी डलरमा लगानी गर्छन्।
यसले धेरै देशका मुद्रामा असर गर्यो कुनै मुद्राको मूल्य घट्यो, कुनैमा उतारचढाव देखियो भने कुनै मुद्रा बलियो भए।
ब्रजिलका अर्थशास्त्री तथा एपीसीई परामर्शदाता संस्थाका प्रमुख आन्द्रे पर्फेइतोका अनुसार तेलको मूल्यले "सबैलाई असर गर्छ… मुद्राको उतारचढावले यो असर बढाउन सक्छ वा घटाउन पनि सक्छ।"
अर्थतन्त्रमा अन्य धेरै कारकहरूसँग सम्बन्धित हुने भए पनि मुद्राको मूल्य परिवर्तनले कुनै देश र त्यो देशका नागरिकमा कस्तो असर पर्छ?
सबैभन्दा बढी प्रभावित हुनेहरू

तस्बिर स्रोत, Bloomberg via Getty Images
मुद्राको मूल्यका हिसाबले सबैभन्दा धेरै प्रभावित हुनेमा इन्धन र खास गरी तेल धेरै आयात गर्ने देशहरू देखिए। ती देशको मुद्रामा दबाव देखियो।
इन्धनको खर्चमा वृद्धि र विदेशी मुद्राको अभावका कारण भारत, इन्डोनेशिया, फिलिपिन्स, थाईल्यान्ड र इजिप्टजस्ता देशहरू बढी प्रभावित भए।
लगानीकर्ताहरूले आफ्नो लगानीलाई डलर स्थानान्तरण गर्दा स्थानीय मुद्राको माग घट्यो र मूल्य पनि कमजोर भयो। अर्कोतर्फ डलरमा लिएको ऋण तिर्न महँगो पर्यो।
होर्मुज जलमार्गमा ढुवानी रोकिँदा सामान्यतया डलरमा मूल्य तय हुने तेल र अन्य सामग्री प्रभावित भए।
मुद्राको भाउ घट्दा आयात अझै महँगो हुन्छ। यसले इन्धन, प्लास्टिक र रासायनिक मलसम्म असर गर्छ। त्यसपछि खानेकुरा र दैनिक उपभोगका सामान महँगो हुन्छन्।
इरान युद्ध सुरु भएपछि भारतीय रुपैयाँको सटही दर करिब ५ प्रतिशतले घट्यो। तेल महँगो हुँदा रुपैयाँको भाउ बारम्बार न्यून बिन्दुमा पुग्यो। त्यसो त युद्धअघि नै भारतीय रुपैयाँ कमजोर हुँदै थियो। युद्धले यो दरलाई अझ तीव्र बनायो।
केन्द्रीय ब्याङ्कहरूले ब्याजदर बढाउने र डलर सञ्चिति बेचेर आफ्नै मुद्रा जोगाउने प्रयास पनि गरे।
इन्डोनेशियाको केन्द्रीय ब्याङ्कले दुवै उपाय अपनायो। उसले डलर बेच्यो र बजारबाट थप मलेशियन रुपिया खरिद गरेर देशको मुद्राको माग बढायो। ब्याजदर बढ्दा बचतमा बढी आम्दानी भए पनि कर्जा तिर्न महँगो हुन्छ। घरकर्जा र अन्य किसिमका ऋणको भार बढ्छ।
अस्थिर मुद्रा तर उकालो यात्रा
केही देशका मुद्रामा भने बढ्ने र घट्ने दुवै अस्थिरता देखियो। कहिले धेरै घट्यो, कहिले बढ्यो।
दक्षिण अफ्रिका, कोलम्बिया, चिली र मेक्सिको यो वर्गमा पर्छन्।
यी मुद्रा विश्वबजारको प्रवृत्तिअनुसार तलमाथि भइरहन्छन्। लगानीकर्ताहरू डलरजस्ता सुरक्षित विकल्पमा जाँदा ती कमजोर हुन्छन्। तर वस्तुको मूल्य बढ्दा फेरि बलियो हुन सक्छन्। अनि फेरि मानिसहरू जोखिम लिन तयार हुँदा यी देशका मुद्राको भाउ उकालो लाग्न सक्छ।
ब्रजिल र मलेशियाजस्ता ऊर्जा निर्यातकर्ता देशहरूले चाहिँ फाइदा पनि उठाए। तेल महँगिँदा निर्यातबाट आम्दानी बढ्यो। लगानीकर्ताको चासो पनि बढ्यो।
गोल्ड्मन स्याक्स र ब्याङ्क अफ अमेरिकाजस्ता ब्याङ्करूले एप्रिलमा प्रतिवेदन दिए। तिनले ब्रजिलका सरकारी ऋणपत्र र शेअरमा माग उच्च रहेको जनाए। गोल्डमन स्याक्सले ब्रजिललाई एक शीर्ष उदाउँदो बजार ठहर गर्यो।

तस्बिर स्रोत, Bloomberg via Getty Images
इन्स्टिट्यूट अफ इन्टर्न्याश्नल फाइनान्सका ल्याटिन अमेरिका अनुसन्धान प्रमुख मार्टिन कास्टेलानोले इन्धनको उच्च मूल्यले ब्रजिलमा मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन्। यसले ब्याजदर घटाउने प्रक्रिया ढिला हुन सक्ने र पुँजी प्रवाहमा असर पर्न सक्ने उनको भनाइ छ।
ब्रजिलले पनि पेट्रोल र डिजेल आयात गर्छ, जसका कारण देशभित्र इन्धन महँगो भएको छ।

तस्बिर स्रोत, Getty Images
अक्टोबरमा हुन लागेको राष्ट्रपतीय चुनावअघिको राजनीतिक अनिश्चितताले सटही दरमा अतिरिक्त शुल्क लाग्न सक्ने लगानी कम्पनी एक्सपीका अर्थशास्त्री लुइजा पिनेजले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेकी छन्।
केही भिन्न कारणहरूले गर्दा केही देशका मुद्रा भने स्थिर छन्।
चीनको मुद्रा स्थिर छ। यसको एउटा कारण सरकारको नियन्त्रण र नीति हो। चीनबाट पैसा विदेश लैजान प्रतिबन्ध जस्तै छ र देशको केन्द्रीय ब्याङ्कले त्यसमा नियन्त्रण कायम गर्दै युआनको सटही दर व्यवस्थापन गर्दै आएको छ।
इरान युद्ध सुरु भएयता सबैभन्दा राम्रो गरिरहेको मुद्रा रुसी रबल हो। ऊर्जाबाट हुने ठूलो आम्दानी अनि नियन्त्रित पुँजीले यसमा सहयोग पुर्याएको छ। निर्यातकर्ताले विदेशी मुद्रामा गरेको आर्जन रबलमा साट्नुपर्छ अनि देशबाट बाहिरिने पैसामा पनि सीमितता छ।
विकसित अर्थतन्त्रका हकमा के?

तस्बिर स्रोत, Bloomberg via Getty Images
लगानीकर्ताहरूले परम्परागत रूपमा सुरक्षित मानिने मुद्राहरू किन्न सुरु गर्दा ती मुद्रा अझै बलिया भए। डलर र स्विस फ्राङ्क उच्च बिन्दुमा पुगेर पछि फेरि युद्धपूर्वको मूल्यमा फर्किए। तेलसँग जोडिएका मुद्राले पनि कच्चा तेलको मूल्य बढ्दा फाइदा पठाए। नर्वेको क्रोन त्यसको उदाहरण हो।
जापानी येन भने अन्य सुरक्षित मुद्राजस्तो देखिएन। जापान आयातित ऊर्जामा निर्भर हुँदा देशको मुद्रा कमजोर भयो।
कच्चा तेल, ग्यास, धातु, फलाम र कोइलाजस्ता निर्यात गर्ने वस्तुको मूल्य बढ्दा क्यानडा र अस्ट्रेलियाको डलरले पनि लाभ पायो। तर विश्वभरि व्याप्त आर्थिक चिन्ताले लाभ सीमित गर्यो।
यूरो र पाउन्डमा पनि उतारचढाव देखियो। ऊर्जाको मूल्यको चिन्ता, मुद्रास्फीति नियन्त्रण नहुनु र युरोपमा सुस्त आर्थिक वृद्धि यसका प्रमुख कारण देखिए।
अब के हुन्छ?
अर्थशास्त्रीहरूका अनुसार इरानमा हवाई आक्रमण सुरु भएलगत्तै लगानीकर्ताहरू सुरक्षित मुद्राबजारतर्फ लाग्दा सुरुमा डलर बलियो भयो। तर पछि डलर कमजोर भयो। यसले उदाउँदो बजारलाई सहयोग गर्न सक्छ।
"कमजोर डलरले सहज मुद्रा अवस्था सिर्जना गर्छ, विकासशील देशमा ब्याजदर घटाउने मौका दिन्छ, अनि जोखिमको डर पनि कम हुन्छ। यो सबै उदीयमान बजारका लागि उपयुक्त हो," यूकेको विश्वव्यापी लगानी कम्पनी अलायन्स बर्नस्टेनका अर्थशास्त्रीले हालैको एक प्रतिवेदनमा उल्लेख गरेका छन्।
उनीहरूका अनुसार डलरको भूमिका अझै केन्द्रमा छ। उदीयमान अर्थतन्त्रहरूले लिने धेरै ऋण डलरमा हुन्छ अनि धेरै वस्तुको मूल्य पनि डलरमै तय हुन्छ। त्यसैले कमजोर डलरले अवस्था सुधार्न मद्दत गर्छ।
यद्यपि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एप्रिलमा इरान युद्धले आर्थिक वृद्धि कम हुने र महँगी उच्च हुने सङ्केत गरेर यसले विश्वअर्थतन्त्रलाई खराब स्थितितर्फ लगिरहेको चेतावनी दियो।
यो अवस्थामा तेलको मूल्य महँगो रहिरहन सक्छ। मुद्रास्फीति अस्थिर हुन्छ, वित्तीय अवस्थामा कडाइ हुन्छ अनि विश्वव्यापी आर्थिक वृद्धि २.५ प्रतिशत साथै मुद्रास्फीति ५.४ प्रतिशत हुन सक्छ जब कि अहिलेको प्रक्षेपण ३.१ प्रतिशत वृद्धि र ४.४ प्रतिशत मुद्रास्फीति छ।
आईएमएफले अझै खराब अवस्थामा आर्थिक वृद्धि २ प्रतिशतमा मात्रै सीमित हुन सक्ने र मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि जान सक्ने जनाएको छ। आईएमएफले जुलाईमा पुनः नयाँ प्रक्षेपण सार्वजनिक गर्दै छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















