लाइभ, हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास सिलिन्डर काठमाण्डू ल्याइँदै, मृतकको सङ्ख्या १२५२

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको आज नवौँ दिन हो। सरकारी निकायहरूका अनुसार अहिलेसम्म १,२५० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने अझै ४,००० जनाभन्दा बढी मानिस सम्पर्कविहीन छन्।

सारांश

लाइभ कभरेज

  1. बाढीमा बेपत्ता डडेल्धुराका व्यक्तिको पहिचान गर्न तिनका आफन्तको डीएनए नमुना सङ्कलन गरिने, प्रकाश पार्की, डडेल्धुरा

    बाढीमा बेपत्ता भएका डडेल्धुरा जिल्ला स्थायी ठेगाना भएका व्यक्तिहरूको पहिचानका लागि उनीहरूका नजिकका आफन्तबाट डीएनए नमुना सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बेपत्ता व्यक्तिका नजिकका आफन्तलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ।

    डीएनए परीक्षणका लागि बुवा, आमा, दाजु, भाइ, दिदीबहिनीसहितका रगतका नातेदारबाट नमुना सङ्कलन गरिने प्रहरीले जनाएको छ।

    सम्बन्धित आफन्तले नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको तीन प्रति फोटो लिएर जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सम्पर्क गर्नुपर्ने बताइएको छ।

    रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोपछि डडेल्धुरा स्थायी ठेगाना भएका केही व्यक्ति अझै सम्पर्कविहीन छन्।

    बेपत्ता व्यक्तिको वास्तविक पहिचान खुलाउन डीएनए परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइएको डीएसपी वरूणबहादुर सिंहले जानकारी दिए।

    बाढीपछि सुदूरपश्चिमका १५० जना अझै सम्पर्कविहीन रहेका छन्।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका २०९ जना सम्पर्कविहीन भएका थिए।

    तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने १५० जनाको अवस्था अझै अज्ञात छ।

  2. 'हिमालयन सुनामी': कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालद्वारा ब्रीफिङ

    नुवाकोटको बाढीप्रभावित ढुङ्गेबजारमा परराष्ट्रमन्त्री शिशिर खना

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, परराष्ट्रमन्त्री शिशिर खनाल केही दिनअघि बाढीबाट प्रभावित क्षेत्रमा पुगेका थिए

    परराष्ट्रमन्त्री शिशिर खनालले काठमाण्डूस्थित कूटनीतिक समुदायलाई भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीसँग सम्बन्धित विविध विषयबारे आज ‘ब्रीफिङ’ गरेका छन्।

    उक्त ब्रीफिङमा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्क तथा संयुक्त राष्ट्रसङ्घसहितका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मन्त्री खनालले अहिले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताए।

    “यो विनाशकारी बाढीलाई म ‘हिमालयन सुनामी’ भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,” मन्त्री खनालले भने।

    उनका अनुसार सरकारले यो विपद्को कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको छ। त्यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइएको बताए।

    मन्त्री खनालले कूटनीतिक नियोगका प्रतिनिधिहरूबाट आफ्ना नागरिक बेपत्ता भएको विवरण उपलब्ध भएकोमा धन्यवाद दिए। उनले त्यस्तो सूचनाले खोजी, प्रमाणीकरण तथा पहिचान प्रक्रियामा महत्वपूर्ण सहयोग पुग्ने बताए।

    “प्राप्त ऐक्यबद्धता र सहयोग विभिन्न स्वरूपमा आएको छ – उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, स्वास्थ्य तथा फरेन्सिक सहयोग र आर्थिक सहायता। यी प्रत्येक सहयोगले प्रभावित क्षेत्रमा फरक पारिरहेको छ,” मन्त्री खनालले भने।

    ब्रीफिङको अन्त्यमा मन्त्री खनालले विपद्को यस कठिन घडीमा नेपालले छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे। सरकारले उपलब्ध सबै राष्ट्रिय स्रोत परिचालन गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्ने तथा कूटनीतिक समुदायलाई विपद्को अवस्थाबारे नियमित रूपमा जानकारी गराउने बताए।

  3. फरेन्सिक विज्ञसहित तेस्रो खेपको चिनियाँ सहायता नेपाल आइपुग्यो

    चिनियाँ सहायता

    तस्बिर स्रोत, Zhang Maoming/X

    रसुवा बाढीपछि चिनियाँ सहायताको तेस्रो खेप बिहीवार नेपाल आइपुगेको नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले बताएका छन्।

    सहायता सामग्रीसँगै १० जना विधिविज्ञानविज्ञहरू काठमाण्डू आएको उनले उल्लेख गरेका छन्।

    चिनियाँ विदेश मन्त्रालयका अनुसार तेस्रो खेपको सहायतामा बेलिब्रिज, शव राख्ने फ्रिज, महामारी फैलिन रोक्ने सामग्रीहरू र आपत्कालीन सञ्चार उपकरणहरू रहेका छन्।

  4. अस्ट्रेलियाले विज्ञ ड्रोन सञ्चालकहरू नेपाल पठाउने

    अस्ट्रेलियाली विदेश मन्त्री पेनी वङ

    तस्बिर स्रोत, Reuters

    नेपालमा बाढीपछिको खोज तथा उद्धारमा सहयोग पुर्‍याउन अस्ट्रेलियाले विज्ञ ड्रोन सञ्चालकहरूको टोली पठाउने त्यहाँकी विदेशमन्त्री पेनी वङले जानकारी दिएकी छन्।

    उनका अनुसार १५ सदस्यीय विपद् सहयोग टोलीले नेपालमा काम गर्ने छ।

    “उनीहरूले खोज तथा उद्धारमा सहयोग गर्न अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरेर म्यापिङ तथा थर्मल इमेजिङ (प्राविधिक सेवा) प्रदान गर्ने छन्,” उनले भनिन्।

    “खोज तथा उद्धारमा संलग्नहरूले सामना गरिरहेको परिस्थिति निकै चुनौतीपूर्ण छ।”

    कतिपय स्थानहरूमा पुग्न नै मुस्किल रहेको उनले बताइन्।

    “होटेल कैलास तथा होटल रोयल हिमालयजस्ता अस्ट्रेलियाले पहिचान गरेका क्षेत्रहरूमा खोजी कार्य भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्। दुवै ठाउँमा सेनाले पैदल गएर तथा हेलिकप्टर र ड्रोनको सहयोगमा खोजी कार्य गरिरहेका छन्।”

    यसअघि अस्ट्रेलियाले नेपालमा १९ जना सहयोगकर्मी पठाएको थियो।

    भोटेकोशी बाढीमा परेर अझै ३८ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन छन्।

  5. उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति पठाउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव

    प्रधानमन्त्री वालेन्द्र शाहसँग सिंहदरबारमा भेट गरेपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ

    तस्बिर स्रोत, RSS

    प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी र त्रिशूली बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूको जतिसक्दो चाँडो उद्धार गरिने प्रतिबद्धता व्यक्त गरेको भूतपूर्व ऊर्जामन्त्री कुलमान घिसिङले बताएका छन्।

    घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख हुन्।

    घिसिङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहलाई सिंहदरबारमा आज भेट गरेको थियो।

    राष्ट्रिय समाचार समितिका अनुसार उक्त भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको बताए।

    “सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रधानमन्त्रीको जिज्ञासा थियो,” भेटपछि घिसिङले सञ्चारकर्मीसँग भने।

    आफूहरूले फसेका व्यक्तिको उद्धारका लागि सुरुङ क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति लैजान सुझाव दिएको बताए।

    उनका अनुसार प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचालन गर्ने बताए।

    “प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध साधनस्रोत र बाहिरबाट पनि ल्याउनुपर्ने छ भने पनि त्यसलाई तत्काल परिचालन गरिने विश्वास दिलाउनु भएको छ,” घिसिङले भने।

  6. गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार

    प्रभावित क्षेत्रमा हेलिकप्टर

    तस्बिर स्रोत, Reuters

    सरकारले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा दिइने जनाएको छ।

    ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि बाढीबाट प्रभावित जिल्लाहरूका १५ वटा स्थानीय तहबाट हवाई उद्धारकार्य गर्न सकिने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो।

    “यदि तपाईँको घरवरपर छरछिमेकमा यस्ता गर्भवती तथा सुत्केरी महिला र नवजातशिशु (२४ घण्टाभित्रको) को स्थानीय तहमा उपचार हुन नसकी निःशुल्क हवाई उद्धार गर्नुपरेमा तुरुन्त सम्पर्क गर्नुहोस्,” मन्त्रालयको सूचनामा उल्लेख छ।

  7. अमेरिकी 'अतिरिक्त सहायता' काठमाण्डू आइपुग्यो

    अमेरिकी सहायता

    तस्बिर स्रोत, Sergio Gor/Twitter

    बिहीवार दुई वटा अमेरिकी सैन्य कार्गो विमानमार्फत्‌ नेपालमा बाढीबाट प्रभावित समुदायका लागि पठाइएको थप सहायता नेपाल आइपुगेको दक्षिण तथा मध्यएशियाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले बताएका छन्।

    “…५,००० विशेष विपद्‌ सहायता सामग्री, ५०० ‘फस्ट एड किट’, स्ट्रेचर र फ्रन्ट-एन्ड लोडर पुर्‍याइएको छ ताकि नेपालको नेतृत्वमा जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस्,” गोरले सामाजिक सञ्जालमा लेखेका छन्।

    “यो सहायता नेपाल सरकारको अनुरोधमा दिइँदै छ र बाढीपछि राहतका लागि यसअघि घोषित ३६ लाख डलर सहायताभन्दा अतिरिक्त हो।“

  8. दिवङ्गत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाखको अतिरिक्त राहत दिइने

    भदौ १० गतेको बाढीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त जनही १० लाख रुपैयाँ राहतस्वरूप दिइने नेपाल प्रहरीले बताएको छ।

    “साथै दिवङ्गत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिने,” निर्णय भएको उसले बताएको छ।

    परिवारबाट इच्छुक एकजनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गरिने तथा नेपाल प्रहरी स्कूलमा सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिले गरेको उल्लेख छ।

    बाढीमा परी अझैसम्म नेपाल प्रहरीका २५ जना सम्पर्कविहीन रहेका छन्।

    नेपाली सेनाका ४५ जना तथा सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यसरी सम्पर्कविहीन बनेकाहरूमा भन्सार कार्यालयका १४ जना, र अध्यागमन कार्यालयका ३ जना छन्।

    राहत, खोज तथा उद्धारकार्यमा २१ हजारभन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन् जसमध्ये ९ हजारभन्दा धेरै नेपाल प्रहरीका छन् भने नेपाली सेनाका झन्डै ८ हजार अनि सशस्त्र प्रहरीका ४ हजारभन्दा धेरै रहेका छन्।

    उद्धारकार्यमा खटिएका प्रहरी

    तस्बिर स्रोत, Nepal Police

  9. लाङटाङ विद्युत् आयोजनाको सुरुङमा पाइपबाट जाँदा 'शव भेटिए'

    सुरुङभित्र सेना

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    रसुवाको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारकर्मीहरू 'पेनस्टक पाइप'बाट मानिसहरू फसेको ठाउँसम्म पुग्न सफल भएका छन्।

    सुरुङको १५० मिटर भित्रबाट दुई जनाको शव निकालिएको आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले बीबीसी नेपालीलाई जानकारी दिए।

    "हाम्रो प्राविधिक टीम बाइफर्केशन पाइपबाट भित्र पसेर पेनस्टकको पाइपबाट माथि पुगेर त्यहाँ प्वाल पारियो। हामीलाई जहाँ मानिसहरू फसेका छन् भन्ने जानकारी थियो, त्यसमा मान्छे भित्र छिर्ने प्वाल बनायौँ। त्यहाँबाट सेना भित्र पसेर शवहरू निकालिरहेको छ," भट्टराईले भने।

    सुरुङबाट ल्याइएको पानी तीव्र गतिमा पावरहाउससम्म पठाउन प्रयोग गरिने 'पेनस्टक' पाइपको मुखसम्म जानका लागि पावरहाउसभन्दा माथिबाट १५० मिटर लामो सुरुङ बनाइएको थियो।

    आयोजनामा अझैसम्म ४२ जना सम्पर्कविहीन रहेका र तीमध्ये सुरुङभित्र छिरेर पेनस्टकको मुखमा काम गरिरहेका १५ जना हुन सक्ने अनुमान गरिएको थियो।

  10. मन्त्रिपरिषद्को बैठक बस्दै

    आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।

    बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने राष्ट्रिय समाचार समितिले जनाएको छ।

  11. हेटौँडाबाट दैनिक १०० ट्रकमा भरिएका ग्यास सिलिन्डर काठमाण्डू ल्याइँदै

    ग्यासका सिलिन्डरहरू (फाइल फोटो)

    तस्बिर स्रोत, Nepal Photo Library

    तस्बिरको क्याप्शन, यसअघिदेखि नै काठमाण्डू उपत्यकामा ग्यासको अभाव देखिँदै आएको थियो

    राजधानी उपत्यकाका उपभोक्ताका निम्ति बिहीवारदेखि हेटौँडाबाट दैनिक १०० ट्रक भरिएको एलपी ग्यास वैकल्पिक सडकमार्फत् पठाई वितरण गर्ने व्यवस्था सुरु गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ।

    “पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिनेछ,” सचिवालयले जनाएको छ।

    पृथ्वी राजमार्गको कृष्णभीर खण्डलाई त्रिशूली बाढीले कटान गरी क्षतिग्रस्त बनाएका कारण खाना पकाउने एलपी ग्यास बोकेका ठूला बुलेट गाडी सोझै काठमाण्डू उपत्यका प्रवेश गर्न नसक्ने भएपछि बाहिर नै सिलिन्डरमा ग्यास भरेर काठमाण्डू पठाइन लागिएको हो।

    यसबीच मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायहरूसँग निरन्तर संवाद, समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।

    मालवाहक ठूला सवारीसाधनले यो मार्ग प्रयोग गर्ने छन्

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मालवाहक ठूला सवारीसाधनले यो मार्ग प्रयोग गर्ने छन्
  12. भारतमा फेला परेका शवहरू नवलपरासी पश्चिम ल्याइयो, अहिलेसम्म १,२५२ वटा शव फेला परे

    देवघाटनजिकै जङ्गलमा गाड्न लगिएका शवहरू

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, पहिचान नभएका शवहरूलाई स्थानीय प्रशासनले जमिनमुनि गाडेर "अस्थायी व्यवस्थापन" गर्ने गरेको छ

    भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि आठ जिल्ला र भारतमा गरी कुल १,२५२ वटा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले बताएका छन्।

    यो सङ्ख्यामा अङ्गभङ्ग भएका पार्थिव अवशेषहरू पनि संलग्न छन्।

    नारायणी नदीमा बगेर भारत पुगेका १८ वटा शव नवलपरासी पश्चिम ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार विभिन्न स्थानमा माटोमुनि शवहरू पुरिएको आशङ्कामा खोजीकार्य सुरु भएको छ।

    कहाँ कति शव फेला परे?

    • रसुवा - १२७
    • नुवाकोट - १७७
    • धादिङ - ६०
    • चितवन - ३५५
    • गोरखा - ६९
    • तनहुँ - ३८
    • नवलपरासी पूर्व - २१८
    • नवलपरासी पश्चिम - १९०
    • भारत - १८

    प्राधिकरणका अनुसार सङ्कलन गरिएकामध्ये मृतकको पहिचानपछि अहिलेसम्म ९५ वटा शव तिनका आफन्तले बुझेर लगेका छन्।

    अहिलेसम्म ४,२१६ जना सम्पर्कविहीन रहेको र ११,९९३ जनालाई उद्धार गरिएको तथ्याङ्क प्राधिकरणले दिएको छ। उद्धार गरिएकामध्ये झन्डै ४,००० जना विभिन्न जिल्लामा स्थापित होल्डिङ सेन्टरमा छन्।

    नेपाल प्रहरीले चाहिँ बेपत्ता मानिसको सङ्ख्या ४,८७५ रहेको जनाएको छ।

    नेपाल प्रहरीका अनुसार शव पहिचानका लागि १,१४३ मृतकको र हराइरहेका मानिसका ५९१ आफन्तको डीएनएको नमुना सङ्कलन गरिएको छ।

  13. वर्षाका कारण भोटेकोशी र त्रिशूलीमा आज पनि बाढीको जोखिम

    भोटेकोशी र त्रिशूली नदीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको छ।

    अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका ससाना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको उनले बताइन्।

    “ती नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ,” रासससँग उनले भनिन्।

  14. चितवनमा कसरी हुँदै छ बेपत्ताका आफन्तको डीएनए नमुना सङ्कलन, ईश्वर जोशी

    भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस् यो भिडिओ
  15. हराइरहेका मानिसका आफन्तबाट डीएनए नमुना सङ्कलन जारी, पहिचान नभएका शवको डीएनएसँग तुलना गर्नका लागि

    बाढीमा वेपत्ता भएकाहरूको आफन्तले पहिचानका लागि चितवनमा डिएनए नमुना दिँदै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, बाढीमा वेपत्ता भएकाहरूको आफन्तले पहिचानका लागि चितवनमा डिएनए नमुना दिँदै

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको पहिचानका निम्ति डीएनए परीक्षण गर्न नेपाल प्रहरीले फेला परेका शव र हराइरहेका मानिसहरूका निकटका नातेदारबाट रगतको नमुना सङ्कलन गरिरहेको छ।

    हिजो साँझसम्म १,०९२ शव र हराइरहेका मानसिका ५६३ जना आफन्तबाट नमुना सङ्कलन भइसकेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार १,२०० वटाभन्दा बढी शवहरू फेला परेका छन्। तर अधिकांश शव पहिचान गर्न नसकिने अवस्था रहेकाले अनि तिनलाई लामो समय राख्न नसकिने भएकाले अधिकारीहरूले डीएनए सङ्कलन गरेर जमिनमुनि गाड्ने व्यवस्था मिलाएका छन्।

    नेपाल प्रहरीका अनुसार आफन्तजन फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूले डीएनए परीक्षणमार्फत् फेला परेका शव तथा शरीरका कुनै अङ्ग वा भाग यकिन गर्नका निम्ति नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी)मध्ये कोही एक जनाको रगतको नमुना तथा दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

    “विदेशमा रहेका व्यक्तिको हकमा, बाबु, आमा, छोरा र छोरीमध्ये कोही एक जनाको विदेशमा नै डीएनए प्रोफाइलिङ अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ गरी तुलनाका लागि त्यसको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल: dnacodis@nepalpolice.gov.np” मा पठाउन सकिने प्रहरीले जनाएको छ।

    बेपत्ता मानिसहरूको पहिचानका लागि नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

    तस्बिर स्रोत, Nepal Police

    तस्बिरको क्याप्शन, बेपत्ता मानिसहरूको पहिचानका लागि नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै
  16. नुवाकोटमा बाढीले पुरेको स्थानमा खनेर शव खोज्न थालियो, जमिनमाथि १७७ वटा शव फेला परे

    यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा ठूलो क्षति पुगेको छ

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं सङ्कलनअन्तर्गत हालसम्म १७७ जनाको शव फेला परेका छन्।

    तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाइएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको उनले बताए।

    “नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीले ड्रोन क्यामेरा, तालिम प्राप्त कुकुरसहित जिल्लाको विभिन्न ३० स्थानलाई आधार इलाका बनाई शव खोजतलासअन्तर्गत जमिनको सतहमा रहेका शव सङ्कलनको पहिलो चरणको काम पूरा गरेको छ,” रेग्मीले भने,

    प्रहरीले अब उत्खनन र खानतलासीमार्फत् शव सङ्कलन गर्न थालिएको जनाएको छ।

    सुरक्षाकर्मीहरूले सङ्कलन गरेका शवहरू सेनाको हेलिकप्टर प्रयोग गरेर लग्ने गरिएको छ।

    यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र

    तस्बिर स्रोत, RSS

    बेत्रावतीको घरमा फेला परेका अधिकांश शवको पहिचान भएन

    सोमवार बेत्रावतीस्थित एउटा घरमा एकैस्थानमा २० जनाभन्दा बढी मानिसको शव बरामद भएको थियो।

    उक्त घर सुरक्षित रहेको ठानेर सार्वजनिक सवारीसाधन रोकेर आएका मानिसहरूले त्यहाँ आश्रय लिएको ठानिएको राससले जनाएको छ।

    तर अधिकांश शवको बेत्रावतीमा पहिचान नभएकाले परीक्षणका लागि काठमाण्डू पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार बाढीले प्रभावित बनाएको बेत्रावतीसहित सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटमा घर तथा सडकमा भरिएका ग्रेगर र लेदो हटाई पुरिएका स्थानमा शव खोज्न थालिएको हो।

    यसअघि विभिन्न ३० स्थानमा परिचालन भएको शव सङ्कलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको राससले जनाएको छ।

  17. उपत्यका बाहिरबाट एलपी ग्यास सिलिन्डर भर्न थालियो

    सरकारी स्वामित्वमा भएको साल्ट ट्रेडिङ कर्पोरेशनले वितरण गर्ने ग्यासका सिलिन्डर

    तस्बिर स्रोत, STC

    पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डू उपत्यकाबाहिर खाना पकाउने ग्यास भरेर लैजान थालिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    यसअघि नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको बताएका थिए।

    उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका बताइएको छ।

    उपत्यका र छिमेकी जिल्लामा कुल ग्यास खपतको ४० प्रतिशत खपत हुने उद्योगीहरूको भनाइ छ।

    ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो।

    यो पनि पढ्नुहोस्

  18. स्याफ्रुबेँसी अहिले यस्तो देखिन्छ

    भदौ १० गते तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो विनाश निम्त्यायो। रसुवाको स्याफ्रुबेँसी अतिप्रभावित क्षेत्रमध्ये एक हो।

    भोटेकोशी नदीको किनारमा रहेको स्याफ्रुबेँसी अहिले बगरमा परिणत भएको छ। हेर्नुहोस् केही तस्बिर।

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेँसीको बजार क्षेत्र

    तस्बिर स्रोत, RSS

  19. कुन जिल्लामा कति शव फेला परे

    आफन्त गुमाएका मानिशहरू शोकमा

    तस्बिर स्रोत, Reuters

    पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १,२२२ पुगेको छ।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू फेला परेको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्। केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्।

    • रसुवा – ११५
    • नुवाकोट – १५५
    • धादिङ – ६०
    • गोरखा – ६९
    • नवलपरासी पूर्व – २१७
    • नवलपरासी पश्चिम – २०२
    • तनहुँ – ३८
    • चितवन – ३४८