आधा सिलिन्डर ग्यास कहिलेसम्म? अभाव टार्ने उपाय कि झन् विकराल समस्या निम्त्याउने कदम

ग्यास विक्रेताकहाँ भिड

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, तीन महिनादेखि नेपालमा आधा सिलिन्डरमात्र ग्यास विक्रीवितरण भइरहेको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बेच्न निर्देशन दिएको तीन महिना पुग्दै गर्दा बजारमा खाना पकाउने ग्यासको अभावको समस्या सम्बोधन भएको देखिए तापनि त्यसले उपभोक्ता, विक्रेता तथा उद्योगीहरूलाई भने विभिन्न बेफाइदा भइरहेको गुनासो बढेका छन्।

सगरमाथाको द्वार भनेर चिनिने नाम्चे बजारमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका पासाङ् शेर्पा यसले उपभोक्तालाई ठूलो घाटा भइरहेको सुनाउँछन्।

"ढुवानीको अप्ठेरोका कारण यहाँ एक सिलिन्डर ग्यासलाई ६ हजार रुपैयाँसम्म तिर्नुपर्छ। आधा सिलिन्डर नै भए पनि ढुवानी खर्च उही लाग्छ। मैले केही स्टक राखेको हुँदा अहिलेसम्म धेरै असर परेको छैन तर अब परिहाल्छ," शेर्पाले भने।

उनको जस्तो दुरदराजमा बस्ने वा व्यवसाय गर्नेहरूलाई आधा सिलिन्डरमात्र ग्यास उपलब्ध हुँदा निकै घाटा लाग्छ।

तर सहरबजारकै सामान्य उपभोक्तालाई पनि यसले मार परिरहेको छ।

थरी थरीका बेफाइदा

अहिले प्रति सिलिन्डर खुद्रा मूल्य २१६० रुपैयाँ छ भने आधा सिलिन्डरको १०८० रुपैयाँ पर्छ। आधा सिलिन्डर भएपनि ग्राहकको घरसम्म ल्याइदिने ढुवानी शुल्क उही पर्छ।

पूरा सिलिन्डरमा १४.२ किलोग्राम ग्यास हुन्छ भने आधामा ७.१ किलोग्राम मात्र हुन्छ।

उपभोक्ताहरूलाई आधा सिलिन्डरका कारण दोहोरो मार परिरहेको अभियानकर्मीहरूले बताएका छन्।

"पहिलो त ढुवानी खर्च उही हुन्छ जबकी सिलिन्डरमा आधा मात्र ग्यास हुन्छ जुन साविकभन्दा चाँडै नै सकिहाल्छ," उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँले बताए।

अर्को मार सिलिन्डरमा उपलब्ध हुने ग्यासको मात्रासँग सम्बन्धित भएको उनी बताउँछन्।

"व्यवसायीहरूले जे भने पनि त्यो सिलिन्डरमा एक देखि डेढ किलो लेदो हुन्छ। अर्थात् आधा सिलिन्डरमा जम्मा ५ किलोग्राम मात्र ग्यास हुन्छ," उनले भने।

खच्चरबाट ग्यास ढुवानी गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पहाड तथा हिमाली भूभागमा खच्चडबाट ग्यास ढुवानी गरिन्छ

आधा सिलिन्डरको प्रावधानप्रति उद्योगी व्यवसायी पनि खुसी देखिँदैनन्।

"हामीलाई आयल निगमले एक सिलिन्डरमा ४५ देखि ४७ रुपैयाँ शुल्क जोड्न दिन्छ। तर हाम्रो ढुवानी शुल्क बढिसकेको छ। श्रम शुल्कदेखि लिएर भर्ने शुल्कहरू उति नै छन् जबकी हामीले आधामात्र बेच्न पाएका छौँ। यसले धेरै असर परिरहेको छ," नेपाल एलपी ग्यास उद्योग संघका महासचिव अमित अग्रवालले भने।

थोरै परिमाणमा ग्यास भएको सिलिन्डर पठाउँदा धेरै पटक सिलिन्डर यताबाट उता गर्नु पर्ने हुँदा चाँडै नै तिनको रङ उड्ने र बेकम्मा हुने समस्या पनि रहेको उद्योगीहरू औँल्याउँछन्।

उद्योग र उपभोक्ता जस्तै वितरकहरूलाई पनि असर परिराखेको उनीहरूको भनाइ छ।

"सामान झार्ने/उठाउने शुल्क उही हुन्छ। व्यापार कारोबार चाहिँ कम हुन्छ," नेपाल ग्यास विक्रेता महासङ्घका महासचिव विनोद काफ्लेले बताए।

"थोरै ग्यास भएको सिलिन्डरमा प्रेसर कम हुने हुनाले होटल रेस्टुराँ तथा उपभोक्ताहरूलाई पनि असर पर्छ किनभने कम प्रेसर हुँदा ग्यासको सहज प्रयोग हुन सक्दैन," काफ्लेले भने। त्यसो हुँदा ग्यास खेर जान सक्ने उनले सङ्केत गरे।

अभाव टार्ने उपाय

मध्यपूर्वको द्वन्द्व सुरु हुनुभन्दा पनि केही समयअगाडि देखि नेपालको बजारमा खाना पकाउने ग्यासको केही अभाव देखा पर्न थालेको थियो।

इरानमाथि अमेरिका इजरेलद्वारा आक्रमण र लगत्तै होर्मुज जलमार्ग अवरुद्ध हुन पुगेपछि एलपीजीको आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भइरहेको छ।

त्यही सन्दर्भमा आयल निगमले सरकारको निर्देशनमा फागुन २८ गतेदेखि आधा सिलिन्डरमात्र बेच्न सुरु गरेको हो।

उपभोक्ता तथा उद्योगी व्यवसायीहरूले अब फेरि पुरानै प्रणालीअनुसार पूरा सिलिन्डर बेच्न दिन आग्रह गरिरहेकोप्रति निगमले जबाफ दिएको छ।

"आधा वा भरीभन्दा पनि अहिलेको मुख्य विषय भनेको उपलब्धता हो। (मध्यपूर्व)द्वन्द्व अझै पनि सकिएको छैन। जुन मुलुक भारतबाट हामीले ग्यास आयात गर्छौँ उक्त मुलुकले पनि उसको खपतको ६० प्रतिशत ग्यास खाडी मुलुकबाटै ल्याउँछ," निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने।

"यसअघि पूरा सिलिन्डर विक्रीवितरण गर्दा जस्तो अभाव यहाँको बजारमा थियो कम्तीमा अहिले त्यो अभावको अवस्था छैन। हाम्रो पहिलो उद्देश्य भनेको हरेक उपभोक्ताले सहज ग्यास पाउन् भन्ने हो।"

ग्यास लग्दै

तस्बिर स्रोत, EPA/sHUTTERSTOCK

उनले ग्यास आयातको अवस्था एकदमै सहज भइनसकेको स्थिति ध्यानमा राखिएको बताए।

नेपालको मासिक खपत ४५-४६ हजार मेट्रिक टन रहेको र करिब ४९ हजार मेट्रिक टन आयात गर्न खोजिएकोमा केही समययता यथार्थ आयात केही घट्दो क्रममा रहेको ठाकुरले बताए।

"त्यसैले अन्तर्राष्ट्रिय परिस्थिति अलि सहज नभएसम्म पूरा सिलिन्डरमा गइहाल्न हामीलाई कठिनाइ परेको छ," ठाकुरले भने।

एलपी ग्यासको कारोबारमा अहिले नेपाल आयल निगमलाई ठूलो घाटा परिरहेको उनले बताए।

"प्रति सिलिन्डर हामीलाई ११५४ रुपैयाँ घाटा परिरहेको छ।"

निगमले दिएको पछिल्लो आँकडाअनुसार विभिन्न पेट्रोलियम पदार्थहरूको विक्रीमा उसलाई अहिले हरेक पन्ध्र दिनमा ६२.८६ करोड रुपैयाँ घाटा परिरहेको छ।

विकराल समस्यालाई निम्तो?

तर उद्योगीहरूले चाहिँ आधा सिलिन्डरको साटो पूरा सिलिन्डर दिने प्रणाली पुनर्स्थापित गर्न जति ढिलो हुन्छ बजारमा त्यति नै विकराल समस्या आइपर्ने चेतावनी दिएका छन्।

"पूरा सिलिन्डर दिने निर्णय हुनासाथ बजारमा एकैचोटी ठूलो माग हुनेवाला छ। किनभने आम उपभोक्ताले आधा सिलिन्डरमात्रै पाइने भनेका कारण ग्यास लिन हिच्किचाइरहेका छन्। केही समयमा पूरा पाइने आसमा उनीहरू छन्," एलपी ग्यास उद्योग सङ्घका महासचिव अमित अग्रवालले भने।

उनले तत्कालै सरकारले केही समय आवश्यकभन्दा धेरै परिमाणमा ग्यास आयात गरेर अनि पूरा सिलिन्डर दिने निर्णय गरिहाल्नु पर्ने नत्र केही महिना ढिलो हुँदा बजारमा ठूलो सङ्कट देखा पर्ने चेतावनी दिए। जाडो याममा उसै पनि आन्तरिक खपत केही बढ्ने गरेको छ।

"केही महिनाअगाडि बजारमा अभाव हुँदाखेरि कम्तीमा आम उपभोक्ताहरूकहाँ केही स्टक थियो। अब त उपभोक्ताहरूकहाँ स्टक रित्तिँदै गएको अवस्था छ किनभने उनीहरूले आधा सिलिन्डर लिन धेरै रुचि देखाएका छैनन्। अब कुनै विन्दुमा पुगेर पूरा सिलिन्डर दिने भन्ने बित्तिकै ठूलो माग हुन्छ र धान्न सकिँदैन।"

"अनि त्यस्तो समस्या जति धकेलिन्छ उति ठूलो स्तरमा आइपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।