'ट्रम्पलाई युद्ध समाप्त गर्नुपर्ने आवश्यकता छ तर इरान पछाडि हटिरहेको छैन'

तस्बिर स्रोत, Getty Images
- Author, जेरमी बोअन
- Role, अन्तर्राष्ट्रिय सम्पादक
- Published
- पढ्ने समय: ५ मिनेट
संयुक्त राज्य अमेरिका र इरान दुवैले एप्रिल ८ मा युद्धविराम घोषणा भएयता स्थगित भएको युद्धको अवस्थामा आफूहरू फर्कन इच्छुक नरहेको सङ्केत दिएका छन्।
दुवै पक्षका सेनाहरूबीच निरन्तर झडप भए पनि त्यसेल पाकिस्तान, कतार र अन्य देशहरूले गरेका वार्ताको मध्यस्थता खल्बलिन दिएका छैनन्।
अमेरिकाको शक्तिशाली नौसेना र वायुसेना अहिले पनि इरानलाई आक्रमण गर्नसक्ने अवस्थामा छ।
गलत हिसाबकिताब
इरानी सत्ताले आफ्ना सुरक्षा फौजलाई उच्च सतर्कतामा राखेको अनुमान गर्न सकिन्छ। उसले युद्धविरामलाई अमेरिका र इजरेलले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्संगठनमा प्रयोग गरिरहेको ठानिन्छ।
खाडी क्षेत्रवरपर सशस्त्र तनावले दुवै पक्षलाई गलत हिसाबकिताब र बुझाइमा समस्या निम्त्याउन सक्ने जोखिम छ।
संयुक्त राज्य अमेरिकाले आफू नजिकै उपस्थित रहेको र आफूसँग ठूलो क्षति गराउने सामर्थ्य रहेको भन्दै तेहरानको सत्तालाई सम्झौता गर्न दबाव दिने प्रयास गरिरहेको छ।
इरानले प्रतिरोध गर्ने आफ्नो सामर्थ्य कमजोर नभएकोमा आफू दृढ रहेको अमेरिकालाई सम्झाइरहेको छ र उसले आवश्यक परेको खण्डमा आफूले अरब देशहरूमा रहेका अमेरिकी अखडा र अन्य पूर्वाधारहरूमा हमला गर्ने धारणा राख्दै आएको छ।
अमेरिका र इरानबीच लामो र सम्भवत: हासिल हुन नसक्ने बृहत् सम्झौताको उद्देश्य युद्धविरामको निरन्तरता र दुवै पक्षबीच हुने भनिएको थप वार्ताको 'समझदारीपत्र"सँग सम्बन्धित सम्झौता हो।
उक्त बिन्दुसम्म पुग्न कठिन बन्दै गएको छ।
इरानीहरूले होर्मुज जलमार्गको पुन: सञ्चालनका लागि प्रतिबन्धहरूमा राहत वा रोक्का गरिएका सम्पत्ति फुकुवासँग जोडिएका केही सहुलियतको माग गरिरहेका छन्। त्यो गम्भीर लेनदेनका लागि एउटा प्रमुख सवाल बन्न पुगेको छ।
उक्त व्यस्त र अति महत्त्वपूर्ण जलमार्गबाट सानो सङ्ख्यामा मात्रै पानीजहाजहरू ओहोरदोहोर गरिरहेका छन्। अमेरिका र इजरेलले फेब्रुअरी २८ मा हमला गरेपछि इरानले त्यसलाई बन्द गरिदिएको थियो।

तस्बिर स्रोत, Reuters
साउदी अरेबियाले केही तेल रेड सीका बन्दरगाहहरूमा पठाइरहेको छ। साथै संयुक्त अरब एमिरेट्ससँग भएको पाइपलाइन उसको एउटा सानो तटीय क्षेत्रबाट ओमानको खाडीतर्फ फर्किएको छ र होर्मुज जलमार्गभन्दा पर पर्छ।
तर विश्वले अझै पनि आफ्नो नियमित तेल र ग्यास आपूर्तिको २० प्रतिशत गुमाएको छ र त्यसको असर अन्य महत्त्वपूर्ण आपूर्तिहरूमा पनि परिरहेको छ।
होर्मुज जलमार्गलाई बन्द गराइरहनु विश्व अर्थतन्त्रका लागि एउटा सङ्कट हो। अमेरिका खाडीको तेलमा निर्भर छैन तर अमेरिकामा पेट्रोलको मूल्य विश्वव्यापी तेल बजारले निर्धारण गर्छ।
ट्रम्पको महाभुल
डोनल्ड ट्रम्प 'के गरौँ, कसो गरौँ'को अवस्थामा छन्। सहज जित हासिल हुने अनुमानसहित युद्धमा जाने महाभुलका कारण निम्तिएको घेराबन्दीको प्रभाव उनले खेपिरहेका छन्।
अमेरिकी राष्ट्रपति र उनका निकटका साझेदार इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको इस्लामवादी सत्ता उनीहरूको आक्रमणको प्रतिरोध गर्न र सामना गर्न कुन तहसम्म तयार छ भन्ने कुरालाई घातक रुपमा नजरअन्दाज गरे।
ट्रम्प सजिलै निस्कने अवस्थामा छैनन् र इरानी सत्ता त्यसलाई यस्तै रूपमा राख्न चाहान्छ।
उनले होर्मुज जलमार्गलाई पुन: सञ्चालनमा ल्याउनुपर्ने छ। अमेरिकामा इरानविरुद्धको युद्ध अलोकप्रिय छ र यसलाई पुनः चर्काउनु भनेको थप अमेरिकीहरूलाई आक्रोशित बनाउनु हो।
ट्रम्पको आफ्नै रिपब्लिकन दलका कट्टरपन्थीहरू होर्मुज जलमार्ग सञ्चालनका लागि इरानले माग गरिरहेको कुनै पनि छुट दिने कुराको विरोधमा छन्।
त्यसबाहेक उक्त युद्धमा जित हासिल भएको देखाउने उनको आफ्नै इच्छा पनि ट्रम्पको समस्या बन्न पुगेको छ।

तस्बिर स्रोत, EPA
अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँग आफूले गर्ने युद्धविरामको निरन्तरतासहित कुनै पनि खालको सम्झौतालाई सन् २०१५ मा बराक ओबामाको पालामा गरिएको परमाणु सम्झौताभन्दा कमसल रहेको भन्दै गरिने कुनै पनि किसिमका तुलना सुन्न समेत चाहँदैनन्।
ओबामा कालमा गरिएको सम्झौताको उनले निन्दा गरेका थिए र उनको पहिलो कार्यकालमा ह्वाइट हाउस उक्त सम्झौताबाट पछाडि हटेको थियो।
इरानी शासकहरू केही आधारहरूसहित आफ्नो सत्ताको अस्तित्वका लागि आफूहरूले युद्ध गरिरहेको विश्वास गर्छन्।
इजरेलको साथसहित वा साथबिना अमेरिकाले गर्ने थप आक्रमणले उनीहरूलाई त्यसबाट झुकाउन नसक्ने लगभग स्पष्ट देखिएको छ।
अब के हुन्छ?
तेलका कारण धनी खाडीका अरब देशहरूले दीर्घकालीन क्षति बेहोरिसकेका छन् र उनीहरू थप पीडा झेल्न चाहँदैनन्।
खाडी क्षेत्र विश्व अर्थतन्त्रका लागि स्थाियत्वसहितको एउटा केन्द्र रहेको र विदेशी लगानीका लागि सुरक्षित रहेको भन्ने जगमा ती देशहरूको उद्यम र दीर्घकालीन विकाससम्बन्धी मोडल निर्भर छ।
युद्धले त्यसमा गम्भीर धक्का दिएको छ र त्यहाँ स्थायित्वको वातावरण पुनः कायम लाग्न वर्षौँ लाग्नेछ।
वार्ता पुन: सुरु गर्ने कूटनीतिक प्रयासमा पूर्णस्तरको मध्यस्थकर्ताका रूपमा कतार र पाकिस्तानले सघाइरहेका छन्।
संयुक्त अरब एमिरेट्स र साउदी अरेबियाले इरानप्रति दुई फरक कोणबाट प्रतिक्रिया जनाइरहेका छन्।
एमिरेट्सले इजरेलसँगको आफ्नो रणनीतिक सम्बन्धलाई थप विस्तार गरेको छ। अनि इजरेलले आफ्नो आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसलाई सञ्चालन गर्ने इजरेल डिफेन्स फोर्सका सैनिकहरूसमेत संयुक्त अरब एमिरेट्समा परिचालन गरेको छ।
साउदी अरेबियाले इरानी आक्रमणको जबाफमा इरानमाथि हमला गरेका विवरण बाहिर आएका छन्। तर महत्त्वपूर्ण के छ भने वरिष्ठ साउदी स्रोतहरूले आफूहरूले तेहरानलाई स्वतन्त्र रूपमा आफूले कदम चालेको र आफ्नो कारबाही अमेरिका-इजरेल गठबन्धनको हिस्सा नरहेको स्पष्ट पारेको उल्लेख गरेका छन्।
इरानसँग युद्ध थाल्दा डोनल्ड ट्रम्प र बेन्जमिन नेतन्याहू दुवैले तेहरानबाट इस्लामिक सत्ता बर्खास्त गर्ने पर्याप्त हवाई सैन्य शक्ति आफूहरूसँग रहेको बताएका थिए।
तर उनीहरू गलत थिए।
युद्ध, प्रतिबन्ध र एक्लोपनका चरम परीक्षणहरू लगभग आधा शताब्दी पार गरेको उक्त सत्ताको चरित्र बुझ्न उनीहरू विफल रहे।
अहिले अमेरिका र इजरेलमात्र नभई बाँकी विश्व पनि त्यसको परिणाम भोगिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















