दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दा सर्वोच्च अदालतले लिएका तीन आधार

तस्बिर स्रोत, RSS
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले माग गरेबमोजिम सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधवार उक्त आदेश दिएको सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले बीबीसीलाई बताए।
गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नेतृत्वबाट हटाउँदै मनोज केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध कार्तिक १९ गते रिट निवेदन लिएर कार्की सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए।
कार्तिक १८ गतेकै मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको थियो।
सरकारले कार्कीमाथि "कारबाही गरिएको नभई" उनको "जिम्मेवारी फेरबदल गरिएको" बताउने गरे पनि कतिपय जानकारहरूले पदबाट हटाइएकै बताउँदै आएका छन्।
लिइएका आधार के?

तस्बिर स्रोत, Nepal Photo Library
संयुक्त इजलासले अन्तरिम आदेश नदिनुका तीन वटा आधार देखाएको छ।
त्यसमा प्रहरी महानिरीक्षकले पद सम्हालिसकेको, प्रहरी नेतृत्व गम्भीर विषय भएको र अन्तिम सुनुवाइबाटै सम्बोधन गर्न सकिने विषय भएको उल्लेख गरेको छ।
"यसमा निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा प्रत्यर्थीमध्येका मनोजकुमार केसी नेपाल सरकारको मिति २०८३।०७।१८ को निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालिसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टि समेतबाट निवेदन मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन," बुधवारको आदेशमा लेखिएको छ।
तर अदालतले उक्त रिट निवेदनलाई प्राथमिकताका साथ पेसी चढाउन आदेशसमेत दिएको छ।
"माथि उल्लेख भएबमोजिम प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरूबाट लिखित परेपछि वा पर्ने अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू," आदेशमा लेखिएको छ।
अबको प्रक्रिया के?
सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालका अनुसार सो विषयमा लिखित जबाफ आउन अहिले बाँकी छ।
"लिखित जबाफ पेस भइसकेपछि अन्तिम सुनुवाइका लागि इजलासमा पेस हुन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
कानुनविद्हरूका अनुसार अन्तिम सुनुवाइपछि सर्वोच्च अदालतले दिने निर्णयले प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दाको छिनोफानो गर्ने छ।
महानिरीक्षकमा नियुक्त मनोज केसीले नेपाल प्रहरीको नेतृत्व सम्हालेर कामसमेत थालिसकेका छन्।
विगतसँग तुलना किन?
कतिपयले वर्तमान सरकारको पछिल्लो निर्णयलाई तीन दशकअघिको सरकारको निर्णयसँग तुलना गर्ने गरेका छन्।
विसं २०५३ साल चैत २१ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्ले आईजीपी अच्युतकृष्ण खरेललाई पदबाट हटाएर ध्रुवबहादुर प्रधानलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको थियो।
तत्कालीन सरकारले खरेललाई त्यति बेला राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाउने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए। तर अदालतबाट फैसला हुनुअघि नै परिवर्तित भएको सरकारले उनलाई २०५४ साल मङ्सिर २६ गते पुन: पदमा बहाली गरेको थियो।
पदबहालीको सात महिनापछि मात्रै सर्वोच्च अदालतले उनको रिट निवेदनको अन्तिम निर्णय सुनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















