तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्सको डढेलो बोर्डो सहरबाट केवल १५ किमि जतिको दूरीमा
- Author, यारोस्लाभ लूकिभ
- Published
- पढ्ने समय: ३ मिनेट
फ्रान्सका विभिन्न स्थानमा फैलिएका डढेलोमध्ये एउटा अहिले दक्षिणपश्चिमी सहर बोर्डोबाट केवल १५ किमि जतिको दूरीमा आइपुगेपछि बोर्डोका मेयरले आफूहरू "सबै सम्भावित अवस्थाका लागि" तयार रहेको बताएका छन्।
"थप स्थानहरू खाली गराउने आदेश जारी भएमा ठूलो सङ्ख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिरहेका छौँ," मेयर थोमा काज्नभले भने।
जिरोन्ड क्षेत्रको डढेलोप्रभावित स्थानको भ्रमण गरेका फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोँले देशले "पूर्ण रूपमा अभूतपूर्व डढेलो"को सामना गरिरहेको बताएका छन्। उनले यसलाई दोस्रो विश्वयुद्धयताकै कठिन डढेलोको अवस्था भनेका छन्।
फ्रान्समा हालसम्म करिब २ लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रणबाहिर गएको डढेलोका कारण १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
मङ्गलवार पुनः सुरु हुने तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ।
माक्रोँले लादँ क्षेत्रमा लागेको सानो डढेलो नियन्त्रणमा आएको तर सँगै जिरोन्ड क्षेत्रमा नियन्त्रणका निम्ति सङ्घर्ष अझै जारी रहेको बताए।
यसअघि फ्रान्सका आन्तरिक मामिला मन्त्री लोराँ नुन्यजले उक्त डढेलो "आफ्नै गति र दिशामा फैलिरहेको" भन्दै नियन्त्रण गर्न कठिन भइरहेको बताएका थिए।
बोर्डोको दक्षिणमा रहेको सेस्टास नगरका मेयर जेरोम स्टेफेले बीबीसीसँग कुरा गर्दै यो डढेलो "शताब्दीकै सबैभन्दा ठूलो हुने" बताए।
उनले दुई दिनअघि आगो तीव्र रूपमा फैलिएपछि रातारात आफ्नो नगरका १७ हजार बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपरेको बताए। उनका अनुसार हालसम्म उक्त क्षेत्रमा ४२ हजार हेक्टर जमिन प्रभावित हुनुका साथै २४० वटा घर नष्ट भएका छन्।
"मेरो नगरको अवस्था वास्तवमै विनाशकारी छ," उनले थपे।
उनका अनुसार अहिले डढेलो पहिलेजस्तो तीव्र गतिमा फैलिइरहेको छैन। तर पनि आफूहरूले "सानो सफलतामात्रै हासिल गरेको" भन्दै उनले हावाले फिलिङ्गो उडाएर ल्याएमा वा हावाको दिशा अचानक परिवर्तन भएमा अझै ठूलो जोखिम हुने बताए।
"हामीले सुरक्षात्मक अग्निरेखा बनाउन आफ्नो सम्पूर्ण शक्ति लगाइरहेका छौँ," उनले भने।
फ्रान्सका अन्य धेरै क्षेत्रहरूमा पनि डढेलो फैलिरहेको छ, जसमा भार, लादँ र कोर्सिका टापुको हुट-कोर्स क्षेत्र पनि पर्छन्।
त्यस्तै छिमेकी स्पेन सोमवार राजधानी मड्रिडको पश्चिम क्षेत्रमा भीषण डढेलो फैलिएसँगै लगाइएको राष्ट्रिय सङ्कटकालको पाँचौँ दिनमा प्रवेश गरेको छ।
बीबीसी भेरिफाईले मड्रिडको पश्चिम क्षेत्रमा फैलिएको डढेलोको अवस्थाबारे भू-उपग्रह तस्बिरहरूको विश्लेषण गरेको छ, जसअनुसार उक्त डढेलोले हालसम्म २७ हजार हेक्टरभन्दा बढी क्षेत्रफल प्रभावित तुल्याएको देखिन्छ।
स्थानीय अधिकारीहरूले उक्त क्षेत्रले "इतिहासकै सबैभन्दा खराब डढेलो" को सामना गर्नु परेको भनेका छन्।
'कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस' का अनुसार जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढिरहेको छ र युरोप विश्वकै सबैभन्दा छिटो तातिरहेको महादेश बनेको छ। युरोपको तापक्रम विश्वव्यापी औसतको तुलनामा दोब्बर गतिले बढिरहेको छ।
त्यसले गर्दा गर्मी याममा चर्को उष्णलहर, पानी आपूर्तिमा थप दबाव र भीषण डढेलोको अवस्था जस्ता समस्याहरू सिर्जना भइरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।