एआईले गर्दा जागिर गुमाएपछि पेसा बदलेका चिनियाँ महिला

    • Author, सिल्भिआ चाङ
    • Role, बीबीसी न्यूज चाइनिज
    • Reporting from, हङकङ
  • Published
  • पढ्ने समय: ६ मिनेट

एआईले प्रविधि उद्योगलाई तीव्र रूपमा परिवर्तन गर्दै आफूजस्ता 'प्रोग्र्यामर'हरूलाई असान्दर्भिक बनाउँदै गएपछि एलिस हुआङले भिन्न बाटो रोजिन्। उनले कीबोर्डका ठाउँमा 'पावर टूल' अर्थात् घरायसी मर्मतसम्भारका औजार समातिन् र मे महिनामा महिला कामदारहरू मात्रै राखेर "छिआङछिआङ विमिन वर्कर्स" नामको घरायसी मर्मत सेवा सुरु गरिन्।

दक्षिणी चीनको एउटा कार्यालयमा १५ वर्षसम्म काम गरेर व्यवस्थापन तहसम्म पुगेकी हुआङ अहिले भने धापिलो गर्मीमा धुलोले ढाकिएको काम गर्ने पोसाकमा आफ्ना औजार बोकेर एउटा अपार्टमेन्टबाट अर्कोमा पुग्छिन्।

"मैले अवकाश नहुन्जेल प्रविधि क्षेत्रमै काम गर्ने ठानेकी थिएँ। तर कर्मचारी कटौती हुँदा ममाथि कसैले चिसो पानी खन्याइदिएको जस्तो भयो," उनले बीबीसी न्यूज चाइनिजसँग भनिन्।

हुआङले नयाँ काममा हात हाल्दा उनका पाका आफन्तहरू अचम्ममा परे। उनीहरू शारीरिक श्रम गर्न नपरोस् भनेर सधैँ उनलाई राम्रोसँग पढ्न प्रेरित गर्थे।

तर उच्च शिक्षा हासिल गरेकी र उमेरले ४० को दशकमा पुगेकी हुआङले आफूसँगै आफ्ना धेरै सहकर्मीहरू एआईको तीव्र विकासका कारण रोजगारीबाट बाहिरिएको देखिन्।

'सिटीब्याङ्क'ले एप्रिलमा गरेको एक अनुमानअनुसार चीनका करिब ९.६ प्रतिशत रोजगारी एआईद्वारा प्रतिस्थापित हुने जोखिममा छन्। त्यो भनेको झन्डै ७० करोड मानिसको काम हो।

विश्वव्यापी रूपमा हेर्ने हो भने प्रविधि क्षेत्रमा महिलाहरूको सङ्ख्या पुरुषको तुलनामा कम छ। 'विमिन टेक नेटवर्क'का अनुसार "वरिष्ठ पदमा कम प्रतिनिधित्व" र "गैरप्राविधिक भूमिकामा अधिक उपस्थितिका कारण" महिलाहरूले जागिर गुमाउने सम्भावना १.६ गुणा बढी हुन्छ।

हुआङका अनुसार पहिले धेरै मानिसहरूले गर्ने काम एआईले केही सेकेन्डमै गर्न सक्ने भएपछि रातारात पूरै विभागहरू रित्तिए।

"प्रविधिको विकासको गति अत्यन्त तीव्र भएको छ र जताततै संस्थागत पुनर्संरचना भइरहेको छ। कहिलेकाहीँ जागिर छाड्नुको विकल्प नै हुँदैन।"

एआईबाट सुरक्षित रहने पेसा खोज्ने क्रममा हुआङ अन्ततः आफ्नो परिवारले पुस्तौँदेखि गर्दै आएको निर्माण र मर्मतसम्भारसम्बन्धी सीपयुक्त पेसामा फर्कने निधोमा पुगिन्।

"त्यहाँ मलाई आफू सफल हुन सक्छु भन्ने लाग्यो किनकि सानैदेखि उहाँहरूलाई काम गरेको हेर्दै हुर्किएकी थिएँ। उहाँहरूका काममा प्रत्येक चरणबारे मलाई राम्रोसँग थाहा थियो।"

एक्लै बस्ने महिलाको अर्थव्यवस्था

यसरी बाटो मोड्ने उनी मात्र एक्ली होइनन्। पछिल्ला दुई वर्षमा शाङ्घाई, शन्जन र सुझोउजस्ता सहरहरूमा महिलाहरूले पुरानो जागिरे जीवन छाडेर एअर कन्डिशनर सफा गर्ने, शौचालयका सामग्रीहरू बदल्ने, पुरानो रङ खुर्कने र बाथरूममा नयाँ टायल लगाउनेजस्ता प्राविधिक काम गर्न थालेका छन्।

"एक जना सङ्गीतकी शिक्षक थिइन्, कतिपय अफिसमा काम गर्थे र केही चाहिँ मिडियामा काम गर्थे," शन्जनको 'जेन जी विमिन वर्कर्स' की लिउ मङयुआनले आफ्ना सहकर्मीहरूबारे भनिन्।

झन्डै एक दशकजति दूरसञ्चार क्षेत्रमा बिताएकी उनले सन् २०२३ मा "व्यावहारिक सीप सिक्नका निम्ति" जागिर छाडन्।

"हातमा प्राविधिक सीप हुँदा आफ्नै खुट्टामा उभिन सकिन्छ। म अन्य महिलाहरूलाई सहयोग गर्न पनि चाहन्छु," उनले भनिन्।

पुरुष कामदारहरूले प्रभुत्व जमाएको यस क्षेत्रमा महिला प्राविधिकहरूले आफ्नो माग तीव्र रूपमा बढिरहेको महसुस गरेका छन्। त्यसमा पनि एक्लै बस्ने महिलाहरू माझ उनीहरूको माग बढ्दो छ।

लिउको अनुमानमा उनीहरूका ९८ प्रतिशत ग्राहक महिला हुन्। तीमध्ये धेरै एक्लै वा अन्य महिलासँग साझेदारीमा बस्छन्।

सेवाबारे सोधपुछ गर्दा उनीहरू प्रायः पैसाबाट कुरा थाल्दैनन्।

"लगभग सबैले सोध्ने कुरा भनेको 'महिला प्राविधिक आउँछन्?' भन्ने हो। उनीहरू महिला नै आउने सुनिश्चित गर्न चाहन्छन्," लिउ भन्छिन्, "उनीहरूको पहिलो चिन्ता सुरक्षाको हो। हामी त्यो बुझ्छौँ।"

आधिकारिक तथ्याङ्कका अनुसार चीनमा एक्लै बस्नेहरूको सङ्ख्या सन् २०२१ मा करिब २४ करोड पुगेको थियो। त्यो भनेको कुल जनसङ्ख्याको १७ प्रतिशत हो।

घरजग्गा कारोबार प्ल्याट्फर्म 'बेइक'को अनुसन्धानअनुसार सन् २०३० सम्ममा करिब ३० प्रतिशत घरधुरीमा एक जना मात्र बस्ने ठानिएको छ।

उक्त परिवर्तनको एउटा प्रमुख कारण शिक्षित सहरी महिलाहरूले ढिलो विवाह गर्ने प्रवृत्ति हो।

यो वर्गको बढ्दो सङ्ख्यासँगै उनीहरूका आवश्यकतालाई ध्यानमा राखेर विभिन्न किसिमका सेवाहरू पनि विस्तार भएका छन्। सँगसँगै कैयौँ उद्यमशील महिलाहरू पहिले पुरुषको वर्चस्व रहेका 'राइड हेलिङ', 'फूड डेलिभरी' र अहिले झन् घरको मर्मतसम्भारसम्बन्धी पेसामा समेत प्रवेश गरिरहेका छन्।

चीनसम्बन्धी विषयमा शोध गरिरहेकी मिशिगन विश्वविद्यालयकी समाजशास्त्री झोउ युनका अनुसार एक्लै बस्ने महिलाको अर्थव्यवस्थाले महिलाहरूबीच आपसी सहयोगको वातावरण सिर्जना गर्न सक्छ। यसको जरो समाजमा रहेको गहिरो असुरक्षाको भावनामा पनि छ, जहाँ महिलाहरू आफ्नो शारीरिक सुरक्षाबारे निश्चिन्त हुन सक्दैनन्।

सुझोउस्थित महिलाहरूद्वारा मात्रै सञ्चालित एउटा मर्मतसम्भारसम्बन्धी सेवाप्रदायक समूहकी एक ग्राहकले उनीहरूको उपस्थितिले आफूलाई सहज महसुस हुने भएकाले प्राथमिकता दिने गरेको बीबीसीसँग बताइन्।

"उनीहरूले सुत्ने कोठामा काम गरिरहेका बेला म निर्धक्क भएर बैठक कोठामा आफ्नो काम गर्न सक्छु।"

त्यति मात्र नभई उनले ती कामदारले फर्निचर फोहोर नहोस् भनेर छोपिदिएका पनि देखिन्। उनका अनुसार काम सकिएपछि उनीहरूले सबै सामान पहिलेको ठाउँमा राखिदिन्थे र भुइँ पनि सफा गरिदिन्थे।

"बत्ती ठिक भयो भन्ने कुरा मात्र हैन, झारा टार्ने हिसाबले व्यवहार भएको मलाई महसुस भएन," उनले भनिन्।

विभेद, लाञ्छना र रूढिवादी धारणा

हुवाङ आफूले सेवा थालेको केही समयमै आएको कामको अत्यधिक माग र ग्राहकहरूको विविध प्रकारका खाँचोहरू देखेर छक्क परिन्।

"ग्राहकहरूले यस्तो भन्थे : 'म कतै भ्रमणमा जाँदै छु। मेरो घरमा एउटा बिरालो छ। तपाईँका कुनै महिला कामदार आएर त्यसको हेरचाह गरिदिन सक्छिन्?' वा 'मेरी आमा वृद्ध हुनुहुन्छ। म काममा व्यस्त छु र उहाँलाई घरमा एक्लै छाड्न सहज लाग्दैन। कोही आएर सहयोग गर्न सक्छ?'," उनले भनिन्।

"त्यसपछि हामीले सुरुमा कल्पना गरेकोभन्दा धेरै तरिकाले मानिसहरूलाई सहयोग गर्न सकिने महसुस गर्‍यौँ।"

त्यस्ता टोलीका सदस्यहरू सुरुमा व्यावहारिक सीपबाट आम्दानी गर्ने अवसरका लागि यस क्षेत्रमा आएका हुन सक्ने भए पनि कतिपयले महिला ग्राहकहरूसँग विकास भएको सम्बन्ध र आत्मीयताका कारण समयक्रमसँगै एउटा विशेष उद्देश्यबोध पनि भएको बताए।

तर लैङ्गिक विभेद, सामाजिक लाञ्छना र रूढिवादी धारणासँग समेत सङ्घर्ष गर्नुपर्दा उनीहरूले आफूलाई सक्षम प्रमाणित गर्न निकै मेहनत गर्नुपर्छ।

उनीहरूको क्षमता र प्रतिबद्धतामाथि प्रश्न उठाउँदै अनुभवी पुरुष मिस्त्रीहरूले प्रशिक्षण दिन अस्वीकार गरेको अनुभव पनि उनीहरूसँग छ।

त्यसैले धेरैजसो महिलाहरूले आफैँ सिकेर दक्षता हासिल गरेका छन्।

एक पटक लिउको समूहका दुई प्राविधिक एअर कन्डिशनर सफा गर्ने काममा गएका थिए। शारीरिक हिसाबले ती साना थिए। उपकरण खोल्न सामान्यभन्दा बढी समय लागेपछि ग्राहकका आमाबुवाले संशय गर्न थाले : "उनीहरूलाई यो काम गर्न त आउँछ? के यी साँच्चै व्यावसायिक हुन्?"

तर केही घण्टापछि काम सकिएसँगै उनीहरूको रबैया पूरै बदलियो। ग्राहकका वृद्ध बुबाले त उनीहरूको कामको खुलेर प्रशंसा गर्दै भने, "यी महिलाहरूले त अझ राम्रोसँग सफा गरेका रहेछन्। म अर्को पटक पनि यिनीहरूबाटै सेवा लिन्छु।"

लिउलाई आफूले पेसा परिवर्तन गर्दा वृद्ध आमाबुवाले के ठान्लान् भन्ने चिन्ताले लामो समयसम्म सतायो। त्यसैले महिनौँसम्म उनीहरूसामु कुरा खोल्न सकिनन्।

"सुरुमा उहाँहरूले दु:ख मान्नुभयो," उनले भनिन्, "लामो समय बाहिर काम गर्नुपर्ने र शन्जनभरि औजार बोकेर हिँड्नुपर्ने भएकाले यो काम गाह्रो भएको ठान्नुभयो।"

"तर समयक्रमसँगै उहाँहरूले ग्राहकहरूबाट आएका सकारात्मक प्रतिक्रियाहरू देख्नुभयो। शारीरिक रूपमा थकाइ लाग्ने काम भए पनि मेरो मानसिक अवस्था दिनप्रतिदिन राम्रो हुँदै गइरहेको पनि महसुस गर्नुभयो।"

उनीहरू अझै पनि कार्यालयको कामलाई बढी "सम्मानजनक" ठान्छन् तर लिउको व्यवसायले प्रतिष्ठा आर्जन गर्दै जाँदा र अन्य महिलाहरूले पनि अवसर पाएको देख्दा उनीहरूको सोच बदलिँदै गएको छ।

"हिजोआज आमाले मलाई एकदमै साथ दिनुहुन्छ," उनले भनिन्।

"कहिलेकाहीँ त काममै पनि सघाउनुहुन्छ। म एअर कन्डिशनर सफा गरिरहेकी छु भने उहाँ मुनि उभिएर मलाई आवश्यक औजारहरू समाउन दिनुहुन्छ।"

लेनी बरोनको अतिरिक्त रिपोर्टिङ, शीर्ष तस्बिर : पर्थ पाण्ड्या

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।