के हिन्दूराष्ट्र र राजसंस्थापक्षीय 'कांग्रेस' जन्मिँदै छ?

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसभन्दा इतर पक्षबीच सहमतिका निम्ति निर्णायक तयारी भइरहेको नेताहरूले बताएका छन्।

नेताहरूका अनुसार कांग्रेस सभापति गगन थापाले एकताका लागि दबाव दिन आइतवार आफूलाई भेट्न पुगेका कांग्रेस नेता-कार्यकर्ताहरूको समूहलाई एकता प्रयास सहमतितर्फ बढेको बताएका छन्।

सहमतिको खाका तयार गर्न कार्यदल बनाउन लागेको उनले जनाएका थिए। तर कांग्रेस असन्तुष्ट पक्षका नेताहरूले औपचारिक रूपमा त्यस्तो प्रस्ताव आएको जानकारी आफूहरूलाई नभएको बताएका छन्।

कांग्रेस नेता विमलेन्द्र निधिले त्यस्तो प्रस्ताव डा. शेखर कोइरालासम्म पुगेको छ भन्ने आफूले सुनेको तर त्यसबारे विस्तृत जानकारी नभएको बताए।

असन्तुष्ट समूहले काठमाण्डूमा साउन २९ गते राष्ट्रिय भेला आह्वान गरेको छ। त्यस बेलासम्म सहमति नभएमा नयाँ पार्टी बनाउने सङ्केत बीपी स्मृति दिवसका दिन नेताहरूले दिएका थिए।

नयाँ पार्टी, पुरानो बाटो?

सहमति हुन नसकेमा जन्मिने नयाँ कांग्रेसबारे धेरैको चासो छ।

यसै बेला विगतमा गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध नेताहरू नै त्यसमा "विचार गर्नुपर्ने" कित्तातर्फ "अग्रसर" देखिएकाले कैयौँको ध्यान त्यसतर्फ तानिएको छ।

कतिपय जानकारहरूका अनुसार नयाँ बन्ने दलले वैधानिक राजसंस्था र हिन्दू राज्यको मुद्दा बोक्नुपर्ने विचार जोडदार रूपमा उठ्न थालेको छ।

नेता प्रकाशशरण महतका अनुसार उनले वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा कुरा राखेका छन्।

"अहिले हाम्रो राष्ट्रियता सङ्कटमा छ। हिन्दू, बौद्ध, किरात राष्ट्रिय पहिचान पनि हो भन्ने कोणबाट विचारहरू आएका छन्, हामीले आन्तरिक रूपमा पनि कुरा उठाएका छौँ," उनले भने, "हामीले राजसंस्थाको कुरा गरेका छैनौँ, त्यो कुरा गर्ने साथीहरू पनि छन्, तर त्यसले कुनै आकार लिइसकेको छैन।"

विगतमा पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा पहल गर्दै आएका नेता शङ्कर भण्डारी खुलेर राजसंस्थाको पक्षमा उभिएका छन्।

उनले भने, "देशलाई विदेशी शक्तिको क्रीडास्थल बन्न नदिन र देशको स्वाभिमानका निम्ति व्यापक एकताको आवश्यकता छ, राष्ट्रिय एकताको आधार राजसंस्था हो, अनि सबै धर्मको सम्मान हुने गरी वैदिक सनातन हिन्दूराष्ट्र एकता र शान्तिको अर्को आधार हो।"

उनले पार्टी एकताबद्ध भए पनि, अलग पार्टी बने पनि त्यो वैचारिक दृष्टि अनिवार्य बनेको बताए।

"न कांग्रेस मात्रैले देशलाई एकताबद्ध बनाउन सक्यो, न कम्युनिस्टले सके, अहिले आएकाहरूको त वैचारिक सैद्धान्तिक आधार नै स्पष्ट छैन," नेता भण्डारीले भने, "त्यसैले कांग्रेसले अहिलेकै बाटोबाट देशको नेतृत्व गर्ने परिस्थिति बन्दै बन्दैन।"

'नयाँ पार्टी बनाउँदाका विकल्पहरूको चर्चा मात्रै'

तर कांग्रेस नेता विमलेन्द्र निधि कांग्रेस सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेको र रहिरहने बताउँछन्।

"धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रता पनि एउटै कुरा हो," उनले भने, "अरू कसैका मनोगत कुराहरू होलान्, मलाई थाहा छैन।"

अर्का नेता मीन विश्वकर्माले पनि संविधानभन्दा बाहिर जाने विषय विधिवत् रूपमा प्रवेश नपाएको बताए।

"एकता कमजोर बन्दै गएपछि नयाँ पार्टीलाई कसरी फरक बनाउन सकिन्छ भन्नेबारे विभिन्न विकल्पहरूबारे साथीहरूले कुरा उठाउने गरेका हुन सक्छन्," उनले भने, "राजसंस्था नभएकाले त्यो वैचारिक वर्गको प्रतिनिधित्व गर्न सकिन्छ भन्ने कुरा आएको हो, तर राप्रपा छँदै छ, त्यो पार लगाउने कुरा होइन भन्ने कुरा पनि आइसक्यो।"

उनका अनुसार "राष्ट्रियता सङ्कटमा परेकाले प्राप्त उपलब्धि जोगाउन पार्टी एकताबद्ध हुनुपर्ने" कुरा नेताहरूले गरेका छन्।

"त्यसपछि मात्रै अन्य पार्टी र राष्ट्रिय शक्तिहरूसँग सहकार्य गर्दै देशलाई नेतृत्व दिन सकिन्छ भन्ने हो," उनले भने।

नेतात्रयका ती अर्थपूर्ण अभिव्यक्ति

'असन्तुष्ट' कांग्रेस पक्षका प्रमुख नेताहरूले पनि हिन्दूराष्ट्र वा राजसंस्थाको पक्षमा बोलेका छैनन्। तर उनीहरूले त्यसको खण्डन पनि गरेका छैनन्।

बीपी स्मृति दिवसका दिन खास गरी तीन जना प्रमुख नेताहरूको अभिव्यक्ति अर्थपूर्ण खालको थियो।

नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र प्रकाशमान सिंहले "भूराजनीतिक परिस्थिति जटिल बनेको र राष्ट्रियता सङ्कटमा परेको" उल्लेख गर्दै बीपी कोइरालासहितका नेताहरू २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको प्रसङ्गबारे चर्चा गरेका थिए।

"सात वटा अभियोगमध्ये एउटा मात्रै पुष्टि भएको भए जन्मकैद वा फाँसी हुन सक्थ्यो तर उहाँहरू राष्ट्रियता अप्ठेरोमा परेको देखेर फर्किनुभयो," डा. कोइरालाले भनेका छन्, "अहिले देश त्योभन्दा सयौँ गुणा खराब अवस्थामा छ।"

राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको बताउँदै उनले त्यो सम्हाल्न एकताबद्ध कांग्रेसले लोकतन्त्र र राष्ट्रियता जोगाउन "अन्य शक्तिसँग मिलेर काम गर्नुपर्ने" आवश्यकता रहेको दाबी गरे।

नेता खड्काको भनाइ पनि दुरुस्तै थियो। "नेपालको राष्ट्रियता २०३३ सालको भन्दा सयौँ, सयौँ, सयौँ गुणा सङ्कटमा छ, नेपाल देश रहने कि नरहने भन्ने दोसाँधमा छ," उनको भनाइ छ, "राष्ट्रवादी र लोकतान्त्रिक शक्ति एक नभईकन, नमिलीकन नेपालको राष्ट्रियतामाथिको सङ्कट दूर हुन सक्दैन।"

अर्का नेता प्रकाशमान सिंहले पनि बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई भूराजनीतिसँग जोडेर अर्थ्याए।

"बीपीले भूराजनीतिकलाई विश्लेषण गरेर आफ्नो कार्यक्रम र कदम अगाडि बढाउनुपर्छ भन्ने निचोड दिनुभएको छ," उनको भनाइ थियो, "अहिले पनि भूराजनीतिका कारण देश, सार्वभौमसत्ता र लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेसले लिनुपर्छ।"

भदौ २४ गतेको घटना र कांग्रेसको विशेष महाधिवेशनमा वैदेशिक चलखेल रहेको आरोप नेताहरूको थियो।

नेता सिंहले त "कुनै अन्तर्राष्ट्रिय शक्तिको सेटिङ वा अलोकतान्त्रिक शक्तिहरूको सेटिङबाट पार्टीको अपहरण टुलुटुलु हेरेर नबन्ने" बताएका थिए।

नेता मीन विश्वकर्माले राष्ट्रियता सङ्कटमा रहेको नेताहरूको उक्त बुझाइमा समर्थन जनाए।

उनले भने, "तर एकताबद्ध कांग्रेसले सबैलाई नेतृत्व गर्दै प्राप्त उपलब्धि जोगाउने भनेको संविधानका उपलब्धिप्रतिको प्रतिबद्धता हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।