तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुनसरीमा साम्प्रदायिक तनाव फैलिएको ठाउँमा अहिले कस्तो अवस्था छ, कसरी हुँदै छ छानबिन
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतवार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मङ्गलवार पनि कर्फ्यू लागेको छ।
झडप सुरु भएको देवानगन्जमा स्थानीय बासिन्दाहरूले नाराजुलुस गर्ने छिटफुट प्रयास गरेको अधिकारीहरूले बताएका छन्। तर सोमवारको तुलनामा स्थिति सुध्रिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बीबीसीसँग बताए।
उनका अनुसार राजमार्ग क्षेत्रमा कर्फ्यू हटाइएको छ तर बाँकी स्थानमा भने कायमै छ। स्थानीय प्रशासनले बिहान ७ बजेदेखि साँझ सात बजेसम्मका लागि हरिनगर, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा कर्फ्यू तथा हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधादेश यथावत् राखेको हो।
प्रशासनले कर्फ्यू र निषेधादेशलाई निरन्तरता दिएपछि पूर्वपश्चिम राजमार्गका लौहकी, पकली र इनरुवाका सडकमा टायर बालेर प्रदर्शन गरिएका विवरण प्राप्त भएको विराटनगरस्थिति बीबीसी संवाददाता विक्रम निरौलाले जनाएका छन्।
देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज लगायतका क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा टोलीहरूले सडकमा गस्ती गरिराखेका छन्।
सोमवार कर्फ्यूका बीच पनि प्रदर्शनहरू भएपछि सेनाको टोलीलाई गस्तीमा खटाइएको थियो।
आइतवार चर्को आवाजमा 'डीजे' बजाएको र बिजुलीका पोलहरूमा धार्मिक झण्डाहरू राखेको निहुँमा दुई धर्मप्रति आस्थावान् युवाहरूबीच झडप भएको थियो। त्यसपछि उक्त क्षेत्र तनावग्रस्त रहँदै आएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने गोली चलाउँदा एक जनाको ज्यान जानुका साथै केही घाइते भएका छन्।
उक्त घटनाबारे छानबिन गर्न सरकारले एउटा समिति बनाएको छ। गृह मन्त्रालयले सुनसरीका तात्कालिक प्रजिअ वासुदेव घिमिरे तथा केही सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ।
सामाजिक सञ्जालले थपेको चुनौती
सोमवार अबेर मात्रै सुनसरी खटिएका नयाँ प्रजिअ अर्यालले सबै पक्षहरूसँग छलफल गरेर शान्तिसद्भाव स्थापनाका निम्ति कोसिस भइराखेको बताए।
"म आएसँगै यहाँका सांसदहरू, राजनीतिक दलका नेताहरू, स्थानीय तहका प्रमुखलगायत सबै पक्षसँग संवाद गरिरहेको छु," अर्यालले भने, "उहाँहरूसँग टेलिफोनमा भिन्दाभिन्दै कुरा गरेको छु र सामूहिक छलफलका निम्ति पनि डाकेको छु।"
तर घटनास्थल कप्तानगन्जका कतिपयले भने प्रशासनको पहललाई अपर्याप्त भनेका छन्।
देवानगन्ज गाउँपालिकाकी उपप्रमुख कुमारी बिभा यादवले आफूहरूले दुवै पक्षका अगुवाहरूलाई जुटाएर शान्तिसद्भाव कायम राख्न कोसिस गरिरहेको पनि त्यसो हुन नसकिरहेको बताइन्।
घटनास्थल कप्तानगन्ज देवानगञ्ज गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ।
"केटाहरूले कुरै सुनिरहेका छैनन्। यहाँ डरको स्थिति छ। एम्बुलेन्स समेत ढुक्कले चल्न सकेका छैनन्," उपाध्यक्ष यादवले भनिन्, "स्थानीय प्रशासनको उपस्थिति नै नभए जस्तो देखिन्छ। सधैँ सेनाले गस्ती दिएर त चल्दैन नि।"
"दुवै पक्षका भद्रभलाद्मीले पनि आआफ्नो पक्षलाई सम्झाइबुझाइ गर्नुपर्छ। नत्र कसरी स्थिति शान्त होला?"
त्यहाँका कतिपय स्थानीय बासिन्दाका अनुसार कर्फ्यूका बीच पनि एकअर्कामाथि कुटपिट तथा सम्पत्ति हानिनोक्सानीका छिटपुट घटनाहरू भइरहेका छन्। त्यस्तै सामाजिक सञ्जालहरूमा पनि उत्तेजक र भयावह सामग्रीहरू देखिएका उनीहरू बताउँछन्।
शिक्षक समेत रहेका कप्तानगन्जका स्थानीय बासिन्दा इलियास मन्सुरीले आफूहरू स्थिति साम्य हुने प्रतीक्षामा रहेको बताए। "यतातिर डरले गर्दा कोही घरबाट निस्किएका छैनन्।"
प्रजिअ अर्याल सामाजिक सञ्जालमा पोस्ट गरिएका कतिपय उत्तेजक सामग्रीहरूले चुनौती बढाइरहेका बताउँछन्।
"प्रबुद्ध वा प्रतिनिधित्व गर्ने वर्गले पनि विचार नगरीकन यस्ता कुराहरू सामाजिक सञ्जालहरूमा राखिदिँदा वा सामान्य घटनालाई पनि बढाइचढाइ राखिदिँदा अरू उत्तेजित हुने अवस्था चाहिँ अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ।"
सुनसरी पुग्यो छानबिन टोली
घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली सोमवार राति नै सुनसरी पुगेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
गृहमन्त्री, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूबीचको छलफलपछि सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन भएको थियो।
"उहाँहरूले राति नै सुनसरी पुगेर काम सुरु गरिसक्नुभएको छ," मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीले भनिन्, "उहाँहरूलाई छानबिनका निम्ति सात दिनको समय दिइएको छ।"
उक्त टोलीले घटनास्थलको निरीक्षण, प्रत्क्षदर्शीको बयान र प्राप्त प्रमाण आदिको आधारमा प्रतिवेदन तयार पार्ने भनिएको छ।
घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर भएको बताइएको छ।
आयोगले पनि घटनाबारे मानवाधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान थालिसकिएको जनाएको छ।
"यद्यपि जेन जी आन्दोलनको जस्तो भिन्नै समिति बनाएका छैनौँ। कर्मचारी तहबाटै र त्यो पनि विराटनगरस्थित कार्यालयबाट घटनाको अनुगमन गरिरहेका हौँ," आयोगका प्रवक्ता टीकाराम पोखरेलले मङ्गलवार बीबीसीसँग भने, "यो अनुगमन पनि भोलि अनुसन्धानको हिस्सा बन्छ।"
त्यसअघि आयोगले सोमवार एक विज्ञप्ति जारी गरी संवादमार्फत् स्थितिलाई सहज तुल्याउन भनेको थियो।
कसरी भएको थियो घटना
सोमवारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोलनजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा 'डीजे' बजाएपछि तनाव सुरु भएको बताइन्छ।
स्थानीय अधिकारीहरू अनुसार कप्तानगञ्जमा मुस्लिम बस्ती टुङ्गिएर बजार क्षेत्र सुरु हुने ठाउँमा एउटा 'शिवालय' छ।
सोही स्थानमा झडप भएको हो। तनाव चर्किएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
हालैका दिनहरूमा यस्ता घटना देखा परेको यो नै पहिलो भने होइन। केही समयअघि पर्सा, रौतहट र धनुषासहितका ठाउँमा यस्तै साम्प्रदायिक प्रकृतिको तनाव देखा परेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।