कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाका भावी चुनौती के छन्

Published
पढ्ने समय: ४ मिनेट

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापालाई पार्टी सभापतिका रूपमा बहुमतले शनिवार निर्वाचित गरेको छ।

शुक्रवार भएको मतदानमा थापा कुल ६,५८४ मतसहित निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का तथा सदस्यद्वय सुजन लोप्चन र राजु खड्काद्वारा हस्तारक्षति विज्ञप्तिमा जनाइएको छ।

थापाका प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। नवनिर्वाचित सभापति थापाले ल्याएको मत ९३.८८ प्रतिशत हो भने खड्गीले प्राप्त गरेको मत ५.३५ प्रतिशत हुन आउँछ।

थापाले ल्याएको मत उनका प्रतिवद्वन्द्वी खड्काले प्राप्त गरेको मतभन्दा ६,२०९ ले बढी हो। बाँकी मतगणना शनिवार दिउँसोबाटै शुरू गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस नेताहरूले के भने?

नवनिर्वाचित सभापति थापालाई वरिष्ठ उपसभापतिमा निर्विरोध भइसकेका विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् ‌बधाई दिएका छन्।

"यात्राको शुरूवात हो, लक्ष्यको प्राप्ति होइन। हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्‍याउनु छ देशलाई। अप्ठ्यारा आउँछन्, सामना गर्नु छ संयमले। जोड्नु छ भिन्न मत र मनहरू। पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी," उनले लेखेका छन्।

"इमानदार रहनु छ इतिहासप्रति, सम्भव तुल्याउनु छ समुन्नति। हामीले 'सक्नुपर्छ र सक्ने छौँ'। अपार विश्वास र दृढ साथका उभिएको छु साथमा, लामबद्ध छौँ साथमा। लु ब्रदर- बलियो कमान्डका लागि शुभकामना!"

नेता प्रदीप पौडेलले "कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गरेको" भन्दै थापालाई बधाई तथा शुभकामना दिएका छन्।

"हामी युग बदल्ने सङ्कल्प लिएर आएका छौँ। बाटो पक्कै सजिलो छैन। चुनौतीका पहाडहरू थुप्रै छन्। तर हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन। बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ। इमानदार सहयात्रीका रूपमा हामीसँगै हुने छौँ," फेसबुकमा पौडेलले लेखेका छन्।

अर्का नेता उदय शमशेर राणाले पनि सहकार्यमा जोड दिएका छन्।

"तपाईँको नेतृत्वमा पार्टीको एकता र आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै जनविश्वासलाई देशको समृद्धि र नागरिकको उज्ज्वल भविष्यमा रूपान्तरण गर्न सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु," एक्समा उनले लेखेका छन्।

अवसर र चुनौती दुवै

राजनीतिक विश्लेषक चन्द्र किशोर नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत्‌ दुई वटा सन्देश दिएको बताउँछन्।

"मलाई लाग्छ यो महाधिवेशनमार्फत्‌ नेपाली कांग्रेसले पुरानोपनलाई निरन्तरता र नयाँपनलाई स्वीकार गरेको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

कांग्रेस सभापति थापाका लागि आगामी दिनमा अवसर र चुनौती दुवै रहेको चन्द्र किशोरको तर्क छ।

"अब गगन थापा नेतृवको मुख्य चुनौती भनेको बढीभन्दा बढी कांग्रेसीजनलाई आफूसँग जोड्नु हो," उनले भने।

"उनको नेतृत्वले युवा पुस्तासँग संवाद गर्नुपर्छ र पुराना पुस्तालाई उनीहरूको योगदानको सम्मान हुने छ भन्नेमा ढुक्क बनाउनुपर्छ।"

अहिलेको महाधिवेशनमा ठूलो हिस्सा सहभागी भए पनि केही अनुहार छुटेका कुरा अस्वीकार गर्न नसकिने विश्लेषकहरू बताउँछन्।

"अहिलेको नेतृत्वरूपी इन्जिनले रेलका छुटेका डिब्बाहरूलाई कुनै एउटा जक्शनमा जोड्नुपर्ने बाध्यता र आवश्यकता पनि छ। नजोडेसम्म त्यो अलग देखिन्छ," चन्द्र किशोरले औँल्याए।

"यो नेतृत्वलाई अमृतपान र गरलपान दुवैको अवसर छ। त्यसैले गगन थापाले जनविश्वसनीयताको दायरा अझ बढाउनुपर्ने हुन्छ। जसले असहमति राख्छन्, उनीहरूका प्रश्नलाई स्वीकार्दै सच्याउने काम गर्नुपर्छ।"

विवादको नालीबेली

शेरबहादुर देउवा पक्षको चर्को असहमतिबीच गत पुसमा काठमाण्डूमा गरिएको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्विरोध चयन गरेको थियो।

उनकै नेतृत्वमा चयन गरिएको कार्यसमितिले अहिले १५औँ महाधिवेशन गराएको हो।

त्यति बेला देउवा पक्षका नेताहरूले काठमाण्डूको भृकृटीमण्डपमा "विशेष महाधिवेशन नभई भेला भएको" टिप्पणी गरेका थिए।

तर गत वैशाखमा सर्वोच्च अदालतले गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई मान्यता प्रदान गर्‍यो।

सर्वोच्च अदालतको फैसलामा पार्टीभित्र विधिवत्‌ विशेष महाधिवेशन माग भए पनि संस्थापन पक्षले नगरेपछि विधानसम्मत रूपमा विशेष महाधिवेशन पक्षधरले महाधिवेशन गरेको उल्लेख थियो।

विशेष महाधिवेशनबाट पार्टीका सभापति चुनिएका गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको र थापाको हस्ताक्षरबाट उम्मेदवार चयन भई निर्वाचन समेत सम्पन्न भइसकेको पनि अदालतले उल्लेख गरेको थियो।

निर्वाचन आयोगले समेत विशेष महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिएसँगै पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उनीद्वारा कार्यवाहक सभापति नियुक्त पूर्णबहादुर खड्काले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको पार्टीका निवर्तमान सभापति देउवा समर्थित समूहले मङ्सिरमा अलग्गै महाधिवेशनको घोषणा गरेर समानान्तर वडा र नगर अधिवेशन गरिसकेको छ।

यसअघि देउवा निकट मानिएका नेताहरू बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, सिता गुरुङ सहितका नेताहरू महाधिवेशनमा सहभागी भए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।