रसुवामा 'फुट्ने जोखिम' मा रहेको भनिएको नयाँ हिमतालबारे हामीलाई के थाहा छ

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीले रसुवामा बनेको 'लेक टू' हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्।

उक्त हिमतालमा अनुमानित छ लाख ५० हजार घनमिटर पानी जम्मा भएको चिनियाँ विवरणमा उल्लेख गरिएको बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बताए।

"यो हिमताल भरिने अवस्थामा छ। त्यसकारण फुट्ने जोखिम रहने नै भयो," बीबीसी न्यूज नेपालीसँग भने।

उक्त ताल फुटेको खण्डमा खास गरी जलविद्युत्‌ आयोजनाका सुरुङमा खटिएका उद्धारकर्मीहरू सतर्क हुनुपर्ने खाँचो पराजुलीले औँल्याए।

हिमताल भरिन र फुट्न कति समय लाग्न सक्छ भन्नेबारे अनुमान गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्।

ताल कहाँ र कस्तो छ?

अधिकारीहरूका अनुसार यसअघि आइतवार फुटेको एउटा हिमताल नेपाल-चीन सीमा क्षेत्रमा थियो भने यो ताल नेपाली भूभागमै छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भएको कटानलाई आइतवार हिमताल विस्फोट हुनुको प्रभाव ठानिएको छ।

वरिष्ठ जलविज्ञानविज्ञ पराजुलीका अनुसार नयाँ हिमताल रसुवाको तेन्जिङ भन्ने ठाउँको ठिक उल्टोपट्टि अर्थात्‌ लाङ्टाङ-लेरुङ हिमालको पश्चिमपट्टिको भिरालोमा रहेको छ।

"आइतवार बिहान फुटेको तालभन्दा यो झन्डै तीन गुणा सानो छ। सर्सर्ती हेर्दा तीनतिरबाट चट्टानले घेरिएको र एकपट्टि थोरै खुला देखिन्छ," उनले भने।

पहाडको बीचमा रहेको 'लेक टू' हिमताल अनुमानित ४,००० मिटरको उचाइमा रहेको उनले बताए।

"अस्ति हिमपहिरो गएको क्षेत्रभन्दा तल र खोलाभन्दा धेरै माथि छ। त्यो कारणले पनि यो तीव्र गतिमा नभरिएको हो। यसमा हिमनदीको पग्लिएको पानी बिस्तारै जम्मा भइरहेको अवस्था छ," पराजुलीले अगाडि थपे।

गोलो आकारको यो हिमतालको क्षत्रेफल ०.३ वर्गकिलोमिटर रहेको उनले जानकारी दिए। पराजुलीका अनुसार तालको गहिराइ चाहिँ अनुमान गर्न कठिन छ।

"क्षेत्रफलभन्दा पानीको आयतन जोडिने हुनाले गहिराइ महत्त्वपूर्ण हुन्छ। सम्भावित पानीको घनमिटरको हिसाब गर्दा सम्भावित गहिराइ १० मिटर आसपास हुन सक्छ," उनले भने।

ताल कति जोखिमपूर्ण छ?

अधिकारीहरूका अनुसार भदौ १० गतेको बाढीमा २०० लाख घनमिटर पानी नेपालतर्फ आएको मापन गरिएको थियो।

अहिले बनेको हिमतालको पानीको आयतन तुलनात्मक रूपमा ज्यादै कम रहेको महाशाखा प्रमुख पराजुलीले बताए।

"तथापि तल्लो क्षेत्रमा सानातिना पहिरो खसिराखेका र नदीको क्षेत्रमा थुप्रै लेदो र गेग्र्यान रहेका कारण यो ताल फुट्न गएमा ती सबै गेग्र्यान बहाव हुन सक्छ र अलि ठूलै रूप लिन सक्छ भन्ने जोखिम छ," उनले भने।

"त्यसैले मुख्यतः टनेल क्षेत्रमा उद्धारमा खटिरहनुभएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक तथा बेपत्ताको खोजीमा रहनुभएका सुरक्षाकर्मीहरूका लागि सतर्कता जरुरी छ।"

यो हिमताल फुटेमा भदौ १० गतेको बाढीले असर पुर्‍याएका क्षेत्रभन्दा बाहिर जाने सम्भावना नदेखिएको उनले उल्लेख गरे।

वरिष्ठ जलविज्ञानविद्‌ पराजुलीका अनुसार भदौ १० गते हिमपहिरो खसेर तल बग्न थालेको ठाउँदेखि १.४ किलोमिटर तल्लो भेगसम्म कैयौँ पहिराहरू रेकर्ड गरिएका छन्।

"ड्यामिङ भएको र फुट्ने जोखिम अवस्थामा भएको लेक टू मात्रै हो, जुन अस्ति बनेको हो। थप जोखिम भनेको कुनै पनि बेला पहिरो जान सक्छ र त्यसको तहगत प्रभाव हुन सक्छ भन्ने विवरण छ," जोखिमबारे उनले सचेत गराए।

पराजुलीका अनुसार सामान्यतया तालहरू भरिँदा चाप सिर्जना हुन्छ र फुट्ने जोखिम हुन्छ।

"चुहावटको समस्याले कतिपय हिमताल १-२ दिनपछाडि फुट्छन्। उदाहरणका लागि, अस्तिको भरिएको लेक वन २४ घण्टापछि हिजो [आइतवार] फुट्यो। लेक टू भरिने अवस्थामा रहेकोले फुट्ने जोखिम हुने नै भयो," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।