बाढीपछि भेटिएका ९०० भन्दा बढी शवमध्ये हालसम्म 'करिब ४% को मात्रै सनाखत'

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

भोटेकोशी–त्रिशूली बाढीको छैटौँ दिनसम्म पनि नदीले बगाएका तथा लेदोमा पुरिएका शवहरू भेटिने क्रम जारी रहँदा तीमध्ये पहिचान भएकाको सङ्ख्या भने अत्यन्तै न्यून रहेको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सनाखत भएका शवको सङ्ख्या चार प्रतिशतभन्दा थोरैमात्र बढी रहेको देखिन्छ।

"[हालसम्मको तथ्याङ्कअनुसार] ७९६ शवमध्ये सनाखत भएका ३७ जति छन्," स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आइतवार साँझसम्मको तथ्याङ्क प्रस्तुत गर्दै भने।

सोमबार अपराह्नसम्म मृतकको सङ्ख्या ९०० नाघिसकेको छ।

"सग्ला र चिन्न सकिने शवहरू आफन्तले पहिचान गरेर लैजानुभएको छ। अन्य सग्ला शवका हकमा हामीले व्यवस्थापन गरिराखेका छौँ र गर्छौँ, [त्यसरी राख्न] नसकिनेका हकमा माटोमा व्यवस्थित तरिकाले राख्ने हो अहिलेलाई।"

अहिलेसम्म सबैभन्दा धेरै शव चितवनमा भेटिएको अधिकारीहरूले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमवार दिउँसोसम्म २७२ शव भेटिएकामा १२ जनाको मात्रै सनाखत भएको छ।

"कुहिन थालेका कारण" शवहरूको भण्डारण र पहिचानमा कठिनाइ बढ्दै गएपछि सरकारले चितवनसहित विभिन्न जिल्लामा शवहरूको अस्थायी व्यवस्थापन सुरु गरिसकेको छ।

"आइतवारबाट नवलपरासीमा पनि सुरु भइसकेको छ। धादिङ, नुवाकोट, रसुवा र काठमाण्डूको त्रिवि शिक्षण अस्पतालमा पनि फोरेन्सिक समूहले काम सुरु गरिसकेको छ," स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, "त्यसपछि अर्को चरणमा जान्छ।"

"हेरेर चिन्न सकिँदैन"

बाढीको पहिलो वा दोस्रो दिन केही सग्ला शव भेटिए पनि दिन बित्दै जाँदा सडेका अवस्थाका शवहरू मात्र भेटिन थालेको अधिकारीहरू बताउँछन्। त्योसँगै अधिकारीहरू त्यस्ता शवहरूको हकमा डीएनए नमुनामार्फत् पहिचान गर्नुबाहेक अर्को उपाय नभएको निष्कर्षमा पुगेका हुन्।

"लिङ्ग पहिचानसमेत गर्न नसकिने अवस्थाकै २६० को हाराहारी छन्," स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने।

काठ्माण्डूस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार बाढी आएयता उक्त अस्पतालमा ९४ वटा शव ल्याइएकामा नौ वटा मात्र आफन्तले पहिचान गरेर लगेका छन्।

"त्यो पनि सुरुवाती दिनतिरै लगिएका हुन्, बाँकी सबै सडेका अवस्थाका छन् र कुनैकुनै क्षतविक्षत अवस्थाका छन्।"

"अहिले हामीकहाँ भएका ८५ वटा शवमध्ये कुनै पनि हेरेर चिन्न सकिने अवस्थामा छैनन्," डा चौधरीले भने।

उनका अनुसार अहिले ती शवहरूको डीएनए नमुना सङ्कलन गर्ने काम भइरहेको छ।

शवहरूको उचित व्यवस्थापन गर्न असमर्थ देखिएको भन्दै कतिपयले सरकारको तीखो आलोचना गरिरहेका छन्। तर अधिकारीहरू भने "डीएनए नमुना सङ्कलन गरी अभिलेख राखिने र आफन्तले पछि खोज्दा भेटिने गरी" ती शवहरू जमिनमुनि व्यवस्थापन गर्न थालिएको बताउँछन्।

"त्यो अन्त्येष्टि होइन, त्यसलाई अस्थायी व्यवस्थापनको रूपमा बुझ्नु उचित हुन्छ,"त्रिविका डा चौधरी भन्छन्, "यस्तो स्थितिमा विश्वव्यापी मापदण्ड नै त्यही हो।"

व्यवस्थापनको तरिकाबारे बहस

दोलखास्थित मेलुङ गाउँपालिका–६ की अनिशा ठकुरीका भाइ अरनिको यातायातको एउटा यात्रुबसमा परिचालक थिए। बाढी आएका दिन रसुवामा रहेका उनी बुधवारदेखि सम्पर्कविहीन छन्।

अनिशा र परिवारजन त्यसयता उनको केही सङ्केत फेला पर्ने आशामा विभिन्न अस्पतालहरूले सार्वजनिक गरेका शवका तस्बिर नियाल्दै भौँतारिइरहेका छन्।

"गोरखामा भेटिएको भनिएको एउटा शव भाइको अनुहारसँग मिल्दोजुल्दो लागेपछि मेरो दाइहरू सोमवार बिहानै पोखरा जानुभएको छ। नङ आदि हेर्दा मिलेको भन्ने खबर आएको छ," उनले भनिन्, "सरकारले जमिनमुनि व्यवस्थापन गर्नुपूर्व नै नै हामी सनाखत प्रक्रिया पूरा गरेर आफैँ अन्तिम संस्कार गर्न चाहन्छौँ।"

"दाइले बताएअनुसार (डाक्टरहरूले शवबाट) विभिन्न नमुनाहरू लिएका छन् तर रिपोर्ट कहिले आउँछ थाहा छैन। सास नपाए पनि लास पाए हुन्थ्यो भन्ने लागेको छ।"

रसुवाको आमाछोदिङमो गाउँपालिका–३, मत्लाङका रबिन लामा पनि सम्पर्कविहीन आफन्तहरूबारे केही सङ्केत पाइन्छ कि भनेर अस्पताल-अस्पताल धाइरहेका छन्। उनको गाउँबाट मात्रै २५ जना सम्पर्कविहीन छन्। तिनमा ज्वाइँ, भान्जी र भतिजासहित चार जना उनका चार आफन्त पनि छन्।

तर लामा सरकारको निर्णयलाई अन्यथा ठान्दैनन्।

"शवहरू बिग्रिएर अर्को समस्या हुनुभन्दा त्यसरी राखेको उचित नै लागेको छ। तर स्थिति सहज भएपछि सरकारले आफन्तजनलाई डीएनए नमुना दिन आफैँ पहल गरेर बोलाउनुपर्छ।"

नेपाल प्रहरीले आजै एक सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका नेपाली तथा विदेशीहरूले डीएनए परीक्षणमार्फत् फेला परेका शव तथा शरीरका कुनै अङ्ग वा भाग यकिन गर्न चाहेमा "सबैभन्दा नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरीमध्ये कोही एक जनाको नमुना सङ्कलनका लागि प्रहरीकहाँ सम्पर्क राख्न" भनेको छ।

"विदेशमा रहेका व्यक्तिको हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कोही एक जनाको विदेशमा नै डीएनए प्रोफाइलिङ गरी तुलनाका लागि त्यसको 'सफ्टकपी' नेपाल प्रहरीको आधिकारिक इमेल : dnacodis@nepalpolice.gov.np मा पठाउने व्यवस्था गर्नुहुन अनुरोध गरिएको छ," उक्त सूचनामा भनिएको छ।

नमुना व्यवस्थापनमा चुनौती

शवहरूबाट नमुना सङ्कलनका लागि पनि सीमित स्रोतसाधनका कारण दबाव भइरहेको अधिकारीहरूले बताएका छन्।

एकैपटक ठूलो सङ्ख्यामा शवको डीएनए नमुना सङ्कलन र व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि सरकारले विदेशी सहयोग खोज्दै आएको छ।

"हामीले थप रूपमा अमेरिकाबाट फ्रीजर, लाइडार, डीएनए परीक्षण किटजस्ता अत्यावश्यक गैरखाद्य सामग्रीहरू तथा सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) गर्नेजस्ता विशेष सामग्रीहरूका निम्ति अनुरोध गरेका छौँ," सोमवार परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने।

यसअघि शनिवार पत्रकारहरूसँगको अन्तर्क्रियामा परराष्ट्रमन्त्री शिशिर खनालले पनि नेपालसँग "सीमित फरेन्सिक सुविधा रहेको" भन्दै शव पहिचानका लागि विदेशी सहयोगको "अपेक्षा" राखेको बताएका थिए।

अधिकारीहरूका अनुसार भारतबाट केही फरेन्सिक विशेषज्ञ आइतवार नै नेपाल आइसकेका छन्।

"मैले १३ जना डीएनए फरेन्सिक विशेषज्ञहरू आइपुगेका र काम सुरु गरिसकेका जानकारी पाएको छु। उनीहरूले नेपाल प्रहरीसँगको समन्वयनमा काम गरिरहेका छन्," स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने।

त्यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेका अनुसार हेटौँडामा नयाँ विधिविज्ञान प्रयोगशाला सञ्चालन गर्ने तयारी भइरहेको छ।

"हामीकहाँ केन्द्रीय र प्रहरीको गरी दुई विधिविज्ञान प्रयोगशाला छन्। डीएनएको काम दुवै ठाउँमा हुने भए पनि अभिलेख राख्ने काम प्रहरीले गरिराखेको छ," उनले भने, "यो कार्यलाई व्यवस्थित तुल्याउन थप विज्ञ, प्रयोगशाला र आवश्यक सामग्रीको खाँचो देखिएको हो।"

उनका अनुसार भेटिएका शवका तस्बिर तथा हातका सबै औँलाका औँठाछाप सङ्कलन गरी मुचुल्का उठाउने र त्यसपछि "व्यवस्थापन" गर्ने काम थालिएको हो।

"जमिनमा व्यवस्थापन गर्नुअघि पहिले पोस्टमर्टम र डीएनएको नमुना सङ्कलन गरेर मात्रै 'एअर टाइट' थैलामा नमेटिने किसिमका सङ्केत चिह्नहरू राखेर पछि भेटिने गरी व्यवस्थापन गर्न थालिएको हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।