'अर्को ठूलो बाढीको जोखिम घट्दो क्रममा रहेको' सरकारको विश्लेषण, आधार के के

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले पछिल्लो पटक हिम पहिरोका कारण नेपाल चीन सीमा क्षेत्रमा बनेको एउटा ताल फुटेको र त्यसको पानी बाहिर प्रवाह भैसकेको भन्दै अब त्यस क्षेत्रमा रहेको अर्को त्यस्तै तालका कारण विगतमा जस्तो ठूलो विनाशकारी बाढीको जोखिम नरहेको आकलन गरिएको बीबीसीलाई बताएका छन्।

विभागको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् विनोद पराजुलीले 'लेक वान' भन्ने गरिएको सीमा क्षेत्रको पहिलो ताल फुटेका कारण बिहान लेदोसहितको बाढी भोटेकोशी र त्रिशूली नदीमा आएको बताए।

नेपाली अधिकारीहरूले तत्कालै सतर्कता अपनाउन चेतावनी जारी गरेका थिए।

तर अब त्यस्तो बाढीको जोखिम कम भएको देखिएको र छेउमा रहेको अर्को तालका कारण मध्यम स्तरको जोखिम रहनसक्ने आकलन आफूहरूले गरिरहेको अधिकारीहरू बताउँछन्।

गत साताको बाढीका कारण आइतवार अपरान्ह १ बजेसम्म ७५२ जनाको मृत्यू भएको र २५ सय भन्दा बढी सम्पर्कविहीन रहेका अधिकारीहरूले जनाएका छन्।

अधिकारीहरूले के भनिरहेका छन्?

वरिष्ठ मौसमविद् पराजुलीले भने, "दुईवटा ताल जुन बनेको थियो त्यो मध्ये तल्लो ताल चाहिँ फुटेको भन्ने जानकारी बिहान आयो। सुरुमा हामीलाई त्यसको कारण थाहा थिएन। तर बाढी नेपालमा आएको छ भन्ने थाहा भएपछि सूचना पाउनासाथ हामीले एलर्टहरू राख्यौँ।"

उनले थपे, "बाढी ठूलै थियो तर यसअघिको जस्तो होइन्। नेपालबाट त्यो पार भइसक्यो। अब जोखिम कम भयो भन्न सकिन्छ किनभने फुट्ने क्रममा रहेको ताल फुट्यो।"

उनले नेपालपट्टी पहाडमा चट्टानले घेरिएको जस्तो अवस्थामा अर्को ताल रहेको भन्दै त्यसबाट कम जोखिम रहेको प्रारम्भिक विश्लेषण रहेको सुनाए।

उक्त तालको पनि निगरानी भइरहेको उल्लेख गरेका उनले थपे, "त्यो फुट्नसक्ने सम्भावना कम हो की अनि त्यसमा पानीको गहिराई पनि कम छ कि जस्तो पनि देखिन्छ।"

उनले चिनियाँ पक्षले त्यसको निगरानी गरिरहेको उल्लेख गर्दै 'जोखिम देखिएपनि' त्यसले निम्त्याउने बाढी गत साता वा आइतबारको जस्तो नहुने ठानिएको सुनाए।

आइतवार बिहान ७ बजे जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागले रसुवा भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदी गल्छी धादिङ बाढी मापन केन्द्रमा जल सतह ३ मिटर बढेको जनाएको थियो।

साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै नारायणी र सहायक नदीमा जल सतह बढ्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो।

वरिष्ठ मौसमविद् पराजुलीले बिहान फुटेको ताल दुवै देशबीचको सीमामा अवस्थित रहेको जानकारी दिँदै हिम पहिरोका कारण ढुङ्गा माटोले छेकिएर ती दुवै तालहरू बनेको जानकारी दिए।

"नेपालतर्फबाट हाम्रोतर्फको ताल अनुगमन गर्न ज्यादै कठिन छ। चीनतर्फबाट केही पहुँच भएको जस्तो देखियो। हामी तल्लो तटमा भएकाले माथि जान कुनै पनि माध्यम छैन। हेलिकोप्टरमार्फत जान पनि चीनको भूभाग हुँदै जानुपर्छ। त्यसका लागि स्वीकृतिहरू लिनुपर्ने परिस्थिति छ। चीनतर्फबाट अनुगमन भइरहेको र उहाँहरूले हामीलाई सूचना पठाइरहनुभएकाले हामी त्यता भन्दा उद्धारमा नै केन्द्रित छौँ।"

आइतबारको बाढीका कारण धादिङको कृष्णभीरमा सडक कटान भएपछि त्यसले पृथ्वी राजमार्गमा ठूलो अवरोध निम्त्याएको छ।

अधिकारीहरूले उक्त खण्ड पुनर्निर्माणका लागि केही महिना लाग्नसक्ने बीबीसीलाई बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीसँग कुरा गर्दै आइतबार बिहान लेदोसहितको बाढी आएपछि नुवाकोटमा सुरुङमा भइरहेको ड्रिलिङको कार्य केही समय प्रभावित भएको बताइन्।

उनले त्यसपछि बाढीको थप जोखिमबारे आफूहरूलाई कुनै नयाँ जानकारी नआएको सुनाइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।