इरानसँग सम्झौता नजिक पुगेको ट्रम्पको भनाइ

तस्बिर स्रोत, EPA
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिएको उल्लेख गरे।
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीवार आफ्नो कार्यालय ओभल अफिसमा संवाददाताहरूसँग भने, "इरानसँगको युद्धमा हामीले भर्खरै एउटा गजबको सहमति गरेका छौँ।"
तर इरानले आफू अमेरिकासँग शान्ति सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सरकारी टेलिभिजनसँग "कुनै पनि विषय नटुङ्गिएको" बताएका छन्। प्रस्तावित सम्झौता अध्ययन भइरहेको र इरान आफ्ना न्यूनतम सर्तबाट पछि नहट्ने उनको भनाइ छ।
ट्रम्पले यसअघि पनि दुई देश द्वन्द्व अन्त्यका लागि सहमति नजिक पुगेको बताउने गरेका थिए। सहमति हुन लागेको घोषणा गर्नुभन्दा केही घण्टा अघिमात्रै ट्रम्पले इरानमाथि "कडा आक्रमण" हुने बताएका थिए।
अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्छ गर्यो।
अमेरिका र इरानबीच गत एप्रिलमा दुई हप्ताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका छन्। यसबीचमा ट्रम्पले इरानसँग सहमतिको सम्भावनाबारे बारम्बार कुरा गरिरहेका छन्।
इरानको तस्नीम समाचार संस्थाले पछिल्ला दुई महिनामा ट्रम्पले इरानसँग सम्झौता हुन लागेको ३८ पटक बताएका उल्लेख गरेको छ।
पछिल्लो पटक ट्रम्पले सहमति हुन लागेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही सस्तिएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका लागि मानकका रूपमा लिइने ब्रेन्ट कच्चा तेलको मूल्य ४.४ प्रतिशतले घटेर प्रति ब्यारल ८९ अमेरिकी डलरमा कारोबार भएको छ।
सहमतिका विषयबारे ट्रम्पले के भने

तस्बिर स्रोत, Reuters
ट्रम्पले संवाददाताहरूसँग सम्झौतामा उल्लेख हुने विषयहरूबारे पनि बताए।
"हामीले इरानले कहिले पनि परमाणु अस्त्र विकास नगर्ने सहमति गरेका छौँ। हामी यसमा लाग्नुको उद्देश्य नै यही थियो। त्यसकारण यो ठूलो कुरा हो," उनले भने।
ट्रम्पका अनुसार इरानसँगको सम्झौतामा युरोपमा हस्ताक्षर गर्ने योजना छ। सम्झौतापत्र तयार भए लगत्तै त्यसमा हस्ताक्षर हुने उनको दाबी छ।
ट्रम्पले सम्झौतापत्र अन्तिम चरणमा रहेको समेत दाबी गरे।
हस्ताक्षर हुने बित्तिकै होर्मुज जलमार्ग पनि खुला हुने अमेरिकी राष्ट्रपतिको भनाइ छ।
तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूपमा यसअघि नै सहमति जुटे पनि अमेरिकाले नयाँ नयाँ र थप मागहरू अघि सारिरहेको बताएका छन्।
ट्रम्पले आफूले खाडीका सहयोगी राष्ट्रहरू र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग पनि कुरा गरिसकेको र "पूरै मध्यपूर्व धेरै खुसी भएको" बताएका छन्।
इजरेली प्रधानमन्त्रीको कार्यालयले ट्रम्प र नेतन्याहूबीच संवाद भएको पुष्टि गरेको छ। तर उक्त सम्झौताको प्रारूपमा इजरेल संलग्न नभएको स्पष्ट गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















