'आकाशको बन्देज' खुलाउनु किन नेपालका लागि महत्त्वपूर्ण

तस्बिर स्रोत, rss
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' को भारत भ्रमणको मुखमा नेपालले भारतसँग माग गर्दै आएको थप हवाई प्रवेश मार्गको विषय चर्चामा छ।
बदलामा भारतले पनि नेपालका केही ठाउँका हवाई मार्ग प्रयोग गर्न दिन प्रस्ताव राखेको खबरले तरङ्गित बनाएको देखिन्छ।
भारतको प्रस्ताव असमानता झल्किने खालको भएकाले पनि यो विषय संवेदनशील भएको एक अधिकारीले बताए।
"हामीले भारतीय आकाश हुँदै आउने विमान नेपालगन्ज हुँदै भैरहवा र भैरहवा सिमानाबाट प्रवेश गरेर पोखरा विमानस्थलमा अवतरण गर्ने बिन्दु खोजेको हो। उनीहरूले भैरहवा वा नेपालगञ्ज विन्दु दिन उत्सुक नदेखिएको भन्ने छ," भारतले महेन्द्रनगरबाट ३९ हजार फिट उचाइबाट मात्र नेपाल प्रवेश गर्न दिने प्रस्ताव गरेको सूचना पाएको बताउने ती अधिकारीले भने, "व्यावसायिक दृष्टिले त्यहाँबाट प्रवेश गरेर भैरहवा अवतरण गर्नु र सिमराबाट गर्नुमा तात्त्विक अन्तर हुँदैन। त्यो त असमान हुन्छ।"
त्यो प्रस्ताव नेपालको पक्षमा नहुने उनको बुझाइ छ। तर भारतले भैरहवा र नेपालगन्ज प्रवेश बिन्दु दिएमा बागडोगराको निम्ति नेपाली हवाई मार्ग प्रयोग गर्न दिन सकिने ती अधिकारीले बताए।
जुन उनको विचारमा रणनीतिक, प्राविधिक र व्यवसायिक सबै दृष्टिले समान हुन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक तथा एअर ट्राफिकविज्ञ त्रिरत्न मानन्धर दुवै पक्षले एक अर्कालाई प्रवेश बिन्दु दिन तयार भएमा प्राविधिक विषयमा हल खोज्न सकिने बताउँछन्।
"जहाज कुन उचाइबाट कतिसम्म जान पाउने भन्नेबारे दुई देशका एअर ट्राफिक सर्भिस युनिटबीच समन्वय कार्यविधि बनाएमा समस्या पर्दैन," मानन्धर भन्छन्, "त्यो भयो भने एउटा ब्रेक थ्रू नै मान्नुपर्छ। वर्षौँ भइसक्यो, धेरै समस्या समाधान हुन्छ।"

तस्बिर स्रोत, PMO Nepal
चिकेन नेकको विस्तारमा चीनको चासो?

तस्बिर स्रोत, ICAO
सुरुमा क्षेत्रीय विमानस्थलका रूपमा स्थापित बागडोगरा विमानस्थललाई भारतले अहिले बर्सेनि एक करोड यात्रुलाई सेवा दिन सक्ने गरी विस्तार गरेको छ।
विगतमा भारतीय समाचारपत्रहरूले नै त्यहाँको व्यवस्थापन भारतीय वायु सेनाको मातहतमा रहेको उल्लेख गरेको पाइन्छ।
झापाको चन्द्रगढी विमानस्थल नजिकै रहेको उक्त भारतीय विमानस्थलबाट नेपालको हवाई क्षेत्र प्रयोग दिँदा नेपालभित्रको उडान प्रभावित हुनसक्ने चिन्ता गर्नेहरू पनि छन्।
उनीहरूको निम्ति नेपालमा हवाई मार्ग विस्तार हुने तर हाम्रो आन्तरिक उडान नै प्रभावित हुने अवस्था आउनु हुँदैन," सरकारी अधिकारी भन्छन्, "त्यसैले नेपालले भारतबाट अन्य बिन्दुमा पाउने उचाइको अनुमतिलाई आधार मानेर त्यो विन्दुको पनि निर्धारण गर्नु पर्छ, मलाइ लाग्छ २० हजार फिट माथिको अनुमति जायज हुन्छ।"
त्यसो गर्दा छिमेकी चीनले "चिकेन नेक" विस्तारका रूपमा लिन सक्ने जोखिम पनि ख्याल गर्नुपर्ने कतिपयको तर्क पाइन्छ।
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहानिर्देशक रतीशचन्द्र लाल सुमन चीनले त्यति संवेदनशील रूपमा लिने कुरा पत्याउँदैनन्।
"चीनसँग नजिक रहेका अरुणाचल, मणिपुर, नागाल्यान्ड सबैतिर वायुसेना छ। म प्रतिरक्षा विज्ञ होइन, तर मलाई लाग्दैन त्यति संवेदनशील विषय हो," उनले भने, "द्विपक्षीय हित र लाभ हेरेर सहमति गर्दा केही फरक पर्दैन।"
क्यानका पूर्वमहानिर्देशक मानन्धर कार्यविधिमार्फत् संवेदनशीलता सम्बोधन गरेर सम्झौता गर्न सकिने बताउँछन्।

तस्बिर स्रोत, RSS
'खुला सिमाना, बन्द आकाश'

तस्बिर स्रोत, RSS/EPA
नेपालले सन् २०१४ देखि विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट पनि जहाजलाई प्रवेश मार्ग दिन भारतलाई आग्रह गर्दै आएको छ।
अधिकारीहरू भारतको राजनीतिक तहबाट सधैँ सकारात्मक वचन दिने गरेको अनुभव सुनाउँछन्।
"होला, होला, होला जस्तो हुन्छ, आखिरमा हुँदैन," मानन्धर भन्छन्, "त्यसैले मैले त नेपाललाई खुला सीमा बन्द आकाश भन्ने गरेको छु।"
कतिपय जानकारहरूका अनुसार चिनियाँ लगानी बनेकाले पोखरा विमानस्थलमा भारतले आफ्नै देशका विमान सेवा कम्पनीलाई पनि उडानको अनुमति दिएको छैन।
बुद्ध एअरले पनि पोखराबाट भारतका विभिन्न सहरमा र चिनियाँ लगानीकर्ता पनि रहेको भन्दै हिमालय एअरलाइन्सलाई पनि भारतमा उडानको अनुमति नदिएको उनीहरूको भनाइ पाइन्छ।
क्यानका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर पोखरा विमानस्थल र भैरहवा प्रवेश बिन्दुका निम्ति भारतले अनुमति नदिनुलाई "भूराजनीतिको खेल" ठान्छन्।
उनले त्यसको असर सुनाए। त्यसका निम्ति दिल्लीबाट काठमाण्डू आउँदा कोलकत्ता र दिल्लीको बीचमा रहेको फ्लाइट इन्फरमेशन रिजन (एफआईआर) बाट भैरहवा नजिकै रहेको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरे।
"त्यो बिन्दुबाट विमान देब्रे मोडियो भने भैरहवा २२ नटिकल माइल हो," भैरहवाबाट प्रवेश अनुमति नपाउँदाको असरबारे उनी भन्छन्, "तर सिमरा नजिकको पर्सा प्रवेश गर्दा ९० नटिकल माइल र त्यहाँबाट फेरि देब्रे मोडिएर ९६ नटिकल माइल उडेर बल्ल भैरहवा अवतरण गर्न सकिन्छ।"
तर उक्त क्षेत्रबाट २० हजार फिट हाराहारी उचाइमा झरेर भैरहवाबाट प्रवेश दिइएमा नेपाली आकाशमा हवाई सेवालाई ठूलो राहत मिल्ने उनको भनाइ छ।
"भारतले आफ्नै देशका विमान सेवा कम्पनीलाई पोखरा उडानको निम्ति अनुमति देओस् त, विमानस्थलले धान्नै सक्दैन, त्यत्रो चासो छ," उनले भने, "तर दिँदैन, यो त भूराजनीतिक खेल हो।"
काठमाण्डू-दिल्ली रुट सबैभन्दा धेरै नाफामूलक रहेको बताउने एक अधिकारीले भैरहवा र पोखरा उडान हुँदा त्यसलाई प्रभावित पार्ने बताए।
त्यसैले काठमाण्डू-दिल्ली उडान गर्न हिमालय एअरलाइन्सलाई अनुमति नदिएको र अन्यलाई भैरहवा र पोखरा नदिएको उनको बुझाइ छ।
'आम्दानीको स्रोतमा अङ्कुश'

तस्बिर स्रोत, Himalaya Airlines
भारतसँग सहमति हुन नसक्दा नेपाली विमान कम्पनीको आम्दानी खुम्चिएको र दीर्घकालीन रूपमा उड्डयन क्षेत्रको विकासमा पनि अप्ठेरो परिरहने जानकारहरू बताउँछन्।
पूर्वमहाप्रबन्धक सुमन काठमाण्डूबाट नेपाली विमान सेवाले ओरिजिन (उद्गम) र डेस्टिनेसन (गन्तव्य) का यात्रु मात्र बोक्ने गरेको र त्यसबाट लाभ नहुने बताउँछन्।
नेपाली र विदेशी विमान सेवा कम्पनीबीच सहकार्य नभएकाले नेपालले विश्वका विभिन्न देश जाने यात्रुहरूबाट लाभ लिन नसकेको उनको भनाइ छ।
अर्का एक अधिकारीले हङ्कङ, दुबई, बैङ्कक जस्ता देश र सहरहरूले ट्रान्जिट स्टेसन तथा ओभर फ्लाइबाट ठूलो आम्दानी गर्ने गरेको बताए।
"हामीले सगरमाथाको उचाइभन्दा कम्तीमा दुई हजार फिट माथि उड्ने गरी अन्तर्राष्ट्रिय एअरलाइन्सको निम्ति ट्रान्स हिमालय रुट खोल्न सकिए, नेपालले ल्यान्डिङ-पार्किङ्कभन्दा ओभरफ्लाइबाट बढी कमाउने थियो," उनले भने, "त्यसको लागि भारतले प्रवेश र निकासको बिन्दु दिनुपर्यो। त्यसैले सबैभन्दा ठूलो निर्णयकर्ता भारत हो।"
पूर्वमहाप्रबन्धक सुमन "नेपालले हवाई मार्ग दिँदा भारतले कमाउँछ भन्ने रिस राखेर नेपालले आफ्नो आम्दानीको सम्भावना खुम्च्याएर राख्न नहुने" टिप्पणी गरे। "हामीले पनि आफ्नो हित हेरेर सहमति गर्न सक्नुपर्छ," उनको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















