वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चासँगै जनकपुर-अयोध्या रेल चलाउने तयारी 'तीव्र'

तस्बिर स्रोत, Twitter/Konkon Railway
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
मंसिरको पहिलो सातादेखि जनकपुरदेखि भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने विषयलाई अन्तिम रूप दिने प्रयास हुने नेपाली अधिकारीहरूले बताएका छन्। त्यसका लागि आन्तरिक तयारीसँगै भारतीय पक्षसँगको छलफललाई तीव्रता दिइएको उनीहरूको भनाइ छ।
लामो समयदेखि चर्चामा रहे पनि उक्त प्रस्तावित रेल सेवा सञ्चालन गर्नका लागि अहिलेसम्म ठोस निष्कर्ष पाउन सकेको छैन।
तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंसिरमा भारतको औपचारिक भ्रमण गर्न सक्ने चर्चासँगै उक्त रेल सेवा सुरु गर्न भारत पनि सकारात्मक देखिएको अधिकारीहरू बताउँछन्।
नेपालका केही सञ्चारमाध्यमले प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्न सक्नेसम्मका विवरण प्रकाशन गरेका छन्।
"त्यसैलाई नै लक्षित गरेर काम गरिरहेका छौँ, मिति तय हुन बाँकी छ," नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बीबीसीसँग भने। "यद्यपि यो हामीले पहिलेदेखि नै पहल गर्दै आएको विषय हो।"
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक घोषणा भइसकेको छैन।
तर भारतका सञ्चारमाध्यमले पनि त्यहाँका वरिष्ठ रेल्वे अधिकारीहरूलाई उद्धृत गर्दै जनकपुर-अयोध्या रेलसेवा सञ्चालनका सम्बन्धमा दीपावली आसपास "ठूलो निर्णय लिइन सकिने" भनेका छन्।
जनकपुर-अयोध्या रेल सेवा सञ्चालनका विषयमा यतिबेला 'नेपाल र भारतमध्ये कुन पक्ष बढी इच्छुक हो?' भन्ने प्रश्नमा पराजुलीले यसमा दुवै देशको समान चासो रहेको बताए।
"यसमा दुवैको जोडबल छ। राम र सीताको भूमि जोडिनु दुवै पक्षलाई राम्रो कुरा हो। दुवैलाई राम्रो हुने भएपछि 'विन-विन' हुने भयो।"
रेल्वे कम्पनीले हाल जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्नुका साथै रेलवे ट्र्याकहरूको रेखदेख गर्दै आएको छ।
'रामायण सर्किट' रेल
हाललाई सातामा एक पटक जनकपुर-अयोध्या रेल चलाउने तयारी भइरहेको अधिकारीहरू बताउँछन्।
सीताको नगरी जनकपुरबाट अयोध्या पुग्न ६०४ किमिको दूरीमा तय गर्नुपर्छ। रामजन्मभूमि भएको मानिने उक्त स्थान भारतको उत्तर प्रदेश राज्यमा पर्छ।
हाल जनकपुर-जयनगर रेल सेवा सञ्चालनमा रहे पनि त्यो अन्तरदेशीय रेल सेवा भन्न सकिने स्तरको नभएको अधिकारीहरू बताउँछन्। एकाउन्न किलोमिटर लामो उक्त रेलमार्गको भारततर्फको खण्ड नेपाल-भारत सीमाबाट पाँच किलोमिटरभन्दा कम दूरीमा सीमित रहेकाले त्यसो भनिएको हो।
जनकपुरबाट जयनगरको दूरी २८ किलोमिटर भए पनि सीमापारि भारततर्फको नजिकको रेल स्टेशन सीमाबाट झन्डै ३.५ किलोमिटर मात्रै टाढा छ। जयनगरबाट जनकपुर हुँदै उक्त रेल सेवा बर्दिबासतर्फ २३ किलोमिटर वर भङ्गाहा भन्ने ठाउँसम्म आइपुग्छ।
उक्त रूटमा नेपाली रेलले मात्रै सेवा दिँदै आएको छ।
अहिले भारतीय रेल नेपाल प्रवेश नगरेको हुनाले प्रस्तावित जनकपुर-अयोध्या रेल सेवा "अन्तरदेशीय" हुने अधिकारीहरूको भनाइ छ।
"नेपालसँग अहिले पाँच डब्बाको सानो रेल छ भने भारतबाट १८ डब्बाको ठूलो रेल ल्याउने तयारी गरिएको हो," नेपाल रेल्वेका पराजुलीले भने।
यद्यपि भारतबाट आउने रेल अत्याधुनिक प्रविधियुक्त भने नहुने उनले स्पष्ट पारे।
कस्तो तयारी भइसक्यो, के हुन बाँकी छ

तस्बिर स्रोत, Department of Railways
जनकपुर-अयोध्या रेल सेवा सञ्चालन गर्न नेपाल र भारत दुवै पक्ष सकारात्मक भएसँगै अहिले सञ्चालनको 'मोडालिटी'बारे छलफल भइरहेको नेपाल रेल्वे कम्पनीका पराजुलीले बताए।
पराजुलीका अनुसार उक्त रूटमा अहिलेलाई भारतीय रेल मात्रै सञ्चालन हुने छ।
"भविष्यमा नेपालको रेल पनि सञ्चालन गर्न सकिन्छ तर अहिले हामीसँग त्यस्तो रेल नभएकाले भारतकै रेल ल्याउने भन्ने छ।"
यतिबेला भारतीय पक्षसँग रेल सञ्चालनका लागि आवश्यक सुरक्षा जाँच तथा मर्मतसम्भार खर्चलगायत प्राविधिक विषयमा छलफल भइरहेको उनले बताए।
जनकपुर-जयनगर रेल सञ्चालनमा सुरक्षा जाँचले त्यति ठूलो महत्त्व नपाए पनि जनकपुर-अयोध्या रेल सेवाका हकमा यो महत्त्वपूर्ण विषयका रूपमा रहेको छ।
"त्यसैले सीमापार रेल सेवा भएकाले दुवै देशमा गरिने सुरक्षा जाँचलाई कसरी सहज र छरितो बनाउने भन्ने विषयमा छलफल भइरहेको हो," नेपाल रेल्वेका पराजुलीले भने।
उनका अनुसार भारतीय रेल नेपाल आएर सञ्चालन हुने भएकाले त्यसबाट प्राप्त हुने आम्दानी भारतीय पक्षकै हुने तर रेलमार्गको मर्मतसम्भार तथा अन्य सञ्चालन खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि सहमति जुट्नै बाँकी छ।
"जसले रेल चलायो कमाइ उसैको हुन्छ। त्यसैले मर्मतसम्भार खर्च चाहिँ बेहोरिदिनुपर्छ भनेर हामीले भनिरहेका छौँ।"
किन महत्त्वपूर्ण छ जनकपुर-अयोध्या रेल

तस्बिर स्रोत, RSS
पर्यटन तथा आर्थिक क्षेत्रका जानकारहरू जनकपुर-अयोध्या रेल सेवा सञ्चालनमा आए दुवै देशलाई लाभ पुग्ने बताउँछन्।
यद्यपि अयोध्याको विकासका लागि भारतले ठूलो लगानी गरिसकेकाले यसबाट नेपालले तुलनात्मक रूपमा बढी लाभ लिन सक्ने उनीहरूको भनाइ छ।
"पदयात्रा पर्यटनमा हामी अगाडि छौँ भने धार्मिक तथा आध्यात्मिक पर्यटनमा भारत अगाडि छ। भारतले अयोध्यामा ठूलो लगानी गरिसकेको छ," नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत ऐरले बीबीसीसँग भने।
"यो रेल सेवा सञ्चालनमा आएपछि भारतीय पक्षले यस रूटलाई पनि पर्यटकीय प्याकेजका रूपमा प्रवर्धन गर्न सक्छ। त्यसबाट नेपालले ठूलो लाभ लिन सक्छ।"
जनकपुर जानकी अर्थात् सीताको र अयोध्या श्रीरामको जन्मभूमिका रूपमा प्रसिद्ध छन्।
त्यसैले भारतसँगको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धका कारण ठूलो सङ्ख्यामा भारतीय पर्यटकहरू जनकपुर आउने सम्भावना रहने बताइन्छ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी जनकपुर-अयोध्या रेल सेवा सञ्चालनतर्फ भइरहेको प्रगतिको विवरणप्रति उत्साहित देखिन्छन्।
"यो विषय हामीले धेरै पहिलेदेखि उठाउँदै आएका हौँ। धार्मिक पर्यटन बढ्दा यसले स्थानीय तथा राष्ट्रिय आर्थिक गतिविधिलाई मात्रै होइन, समग्र देशको अर्थतन्त्रलाई नै फाइदा पुर्याउँछ," उनले भने।
कस्ता चुनौती छन्
सुरक्षा जाँचका प्रक्रियाका कारण अन्तरदेशीय रेलयात्रा झन्झटिलो बन्न सक्ने र त्यसले सेवाको निरन्तरतामै असर पार्न सक्ने चिन्ता नेपाली अधिकारीहरूमा देखिएको छ।
नेपालतर्फको जिम्मेवारी नेपाली सुरक्षा निकायहरूको हुने र भारततर्फ भारतीय सुरक्षा निकायहरू तैनाथ रहने बताइएको छ।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार जनकपुरदेखि अयोध्यासम्मको यात्रामा नेपालतर्फको खण्ड पार गर्न झन्डै एक घण्टा मात्रै लाग्छ।
"एक घण्टाको यात्राका लागि दुई/तीन घण्टा सुरक्षा जाँचमा बिताउनुपर्ने अवस्था राम्रो होइन। यद्यपि भारतीय पक्षले डेढदेखि दुई घण्टाभित्रै जाँच प्रक्रिया पूरा गर्न सकिने बताएको छ," उनले भने।
रेल सेवा सञ्चालनसँगै नेपालतर्फ आवश्यक पूर्वाधारको अभाव पनि अर्को चुनौतीका रूपमा देखिएको जानकारहरू बताउँछन्।
"भारतले अयोध्यामा जुन स्तरमा भौतिक संरचना र पर्यटकीय सुविधाहरू विकास गरेको छ, जनकपुरमा पनि होटेलसहितका आवश्यक पूर्वाधार त्यही स्तरमा विस्तार गर्नुपर्छ," पर्यटन बोर्डका ऐरले भने।
जनकपुर उद्योग वाणिज्य सङ्घका भण्डारी रेल सेवा सञ्चालनलाई मात्रै पर्याप्त ठान्दैनन्।
उनका अनुसार जनकपुरलाई भारतीय सहरहरूसँग जोड्ने रेल सेवासँगै द्विदेशीय र आन्तरिक हवाई सञ्जालको समेत विस्तार आवश्यक छ।
"जनकपुरबाट अयोध्या र बनारसजस्ता भारतीय सहरमा मात्रै होइन, विगतमा जस्तै जनकपुर-विराटनगर र जनकपुर-पोखरा रूटमा पनि हवाई सेवा विस्तार गर्नुपर्छ," उनले भने।
"दैनिक रूपमा सम्भव नभए पनि सातामा एक-दुई पटक त्यसो गर्न सकिए पर्यटन क्षेत्रलाई ठूलो टेवा पुग्ने थियो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















