पृथ्वी राजमार्ग बन्द भएपछि काठमाण्डू आउन कस्ता गाडीलाई अनुमति, कस्तालाई रोक

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरनजिक झन्डै १०० मिटर सडक पूर्ण रूपमा भासिएपछि काठमाण्डू भित्रिने र यहाँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

गत आइतवार उक्त सडक कटानमा परेपछि काठमाण्डू आउजाउ तथा सामान ओसारपसार ठप्प नहोस् भनेर विकल्पका रूपमा तीन वटा रूट तोकिएको काठमाण्डू उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताएका हुन्।

देशका विभिन्न भागलाई सङ्घीय राजधानीसाग जोड्ने प्रमुख राजमार्ग भएका कारण पृथ्वी राजमार्गलाई मूल 'लाइफलाइन' का रूपमा लिने गरिएको छ।

नौबीसेबाट सुरु भई पोखराको पृथ्वी चोकसम्मको १७४ किलोमिटर उक्त सडक खण्ड हुँदै पूर्व र पश्चिम नेपालबाट सवारीसाधनहरू ओहोरदोहोर गर्छन्।

उक्त राजमार्गअन्तर्गत पहिलो १०० किलोमिटरको दूरीमा पर्ने मुग्लिनसम्मको सडक त्रिशूली नदीको किनार हुँदै अघि बढ्ने गर्छ।

वैकल्पिक मार्ग कुनकुन?

विकल्पको हकमा मुख्य रूपमा तीनवटा रूटको प्रयोग थालिएको काठमाण्डू उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताए।

"एउटा कान्ति लोकपथको मार्गलाई हामीले प्रयोग गरिरहेका छौँ भने अर्को वैकल्पिक मार्गका रूपमा फर्पिङबाट हेटौँडा जाने बाटो प्रयोग गरिरहेका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"तेस्रो चाहिँ नौबीसे-पालुङ हुँदै भैँसे निस्केर मकवानपुरतर्फ जाने रूटको व्यवस्थापन हामीले गरेका छौँ।"

कस्तालाई अनुमति, कस्तालाई रोक?

प्रवक्ता सुवेदीका अनुसार दशचक्केभन्दा ठूला गाडीलाई हालका लागि रोक लगाइएको छ।

"काठमाण्डूबाट १४ सीटभन्दा बढी क्षमता भएका यात्रुवाहक गाडीहरूलाई नौबीसे हुँदै हेटौँडा निस्केर जाने व्यवस्था मिलाइएको छ," उनले अगाडि थपे।

"चौध सीटभन्दा साना गाडीहरूलाई काठमाण्डूबाट फर्पिङको बाटो हुँदै हेटौँडातर्फ जाने व्यवस्था मिलाएका छौँ।"

"दश सीटभन्दा कमका मालवाहक सवारीसाधनहरूलाई कान्ति लोकपथबाट हेटौँडासम्म जाने व्यवस्था गरिएको छ," सुवेदीले भने।

उनका अनुसार बाटोको अवस्था र सडकमा सवारीसाधनको हुन सक्ने चापका कारण १० सीटभन्दा बढी क्षमताका गाडीहरूलाई त्यो बाटोमा नपठाइएको हो।

"दशचक्के गाडीका लागि मात्र त्यो बाटो प्रयोग गर्न सकिन्छ। काठमाण्डू आउने सवारीसाधनका हकमा पनि तोकिएकै क्षमताका गाडीहरू नौबीसेबाट आउन पाउने छन्," सुवेदीले भने।

ट्राफिक व्यवस्थापन कसरी?

प्रवक्ता सुवेदीले खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास एवं औषधिहरू बोकेका गाडीहरूलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

"यदि कसैलाई समस्या परेमा ट्राफिक कार्यालय अथवा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय वा नजिकको प्रहरीलाई सम्पर्क गर्न सक्ने गरी हामीले व्यवस्था मिलाएका छौँ," उनले भने।

सवारीसाधनहरूको आवागमनमा असहज अवस्था रहेको कुरा आफूहरूले थाहा नपाएका उनले दाबी गरे।

"व्यवस्थित तरिकाले नै अहिले गाडीहरू गुडिरहेका छन्। त्यस्तो कुनै किसिमको असहज अवस्था भयो र हामीलाई जानकारी गराउनुभयो भने तुरुन्त ट्राफिक प्रहरी परिचालन गरेर सहज बनाउने वातावरण मिलाउँछौँ," सुवेदीले भने।

उनका अनुसार अहिले दैनिक सरदर १५,००० गाडीहरू काठमाण्डू भित्रिइरहेका छन्।

"दशचक्केभन्दा ठूला गाडीहरूलाई रोकेका छौँ। त्यसभन्दा तलका गाडीहरू चलिरहेका छन्।"

वैकल्पिक रूटको व्यवस्था मिलाइएसँगै सोहीअनुसार ट्राफिक व्यवस्थापन भइरहेको प्रवक्ता सुवेदीले बताएका छन्

"हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको क्षेत्र, जस्तो कि मकवानपुर, धादिङ लगायतका क्षेत्रका ट्राफिक प्रमुखहरूसँग समन्वय गरी सहज आउजाउका ट्राफ्रिकसहित जनपद प्रहरी परिचालन गरिएको छ," उनले अगाडि थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।