तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, भोटेकोशी-त्रिशूली बाढी 'जलवायु परिवर्तनका कारण': प्रधानमन्त्री वालेन्द्र शाह

आज भोटेकोशी-त्रिशूली बाढी आएपछिको सातौँ दिन। उद्धार, राहत र शव व्यवस्थापनलगायत विषयमा केके गतिविधि हुँदै छन्?

सारांश

  • बाढीले निम्त्याएको विपत्तिमा नेपालमा ९०० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि
  • सम्पर्कविहीन भएकाहरूको सङ्ख्या झन्डै ४,०००
  • रसुवामा बनेको एउटा हिमतालको आकार बढ्दो क्रममा रहेको भन्दै जोखिमको चेतावनी
  • प्रधानमन्त्रीका अनुसार सरकार 'अझै पनि खोज र उद्धारमा केन्द्रित'
  • जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौँ मानिसलाई उद्धार गर्न प्रयास तीव्र पारिएको अधिकारीहरूको भनाइ

लाइभ कभरेज

  1. कृष्णभीरमा सडक भासिएपछि अब उपत्यकाबाहिर ग्यास भरिने

    पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डू उपत्यकाबाहिरका स्थानमा एलपी ग्यास सिलिन्डरमा भरिने राष्ट्रिय समाचार समितिले जनाएको छ।

    सडक भासिएपछि ग्यास बोकेका ठूला सवारीसाधन 'बुलेट' जान नसक्ने अवस्था उत्पन्न भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यकाबाहिर सिलिन्डरमा ग्यास भरेर साना गाडीमार्फत ‌‍ओसारपसार गर्ने योजना बनाएका छन्।

    नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दलाई उद्धृत गर्दै राससले नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जनाएको छ।

    राससका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्।

    उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको चन्दले बताएका छन्।

    सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए।

    यो पनि पढ्नुहोस्

  2. चितवनमा सर्वाधिक सङ्ख्यामा शव

    बुधवार भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुने मानिसहरूको शव फेला पर्ने क्रम जारी छ।

    अहिलेसम्म चितवनमा सर्वाधिक सङ्ख्यामा शवहरू फेला परेको सरकारी निकायहरूले जनाएका छन्। रसुवादेखि नवलपरासी पश्चिमसम्म गरी आठवटा जिल्लामा शवहरू फेला परेका छन्।

    नेपाल प्रहरीले आफ्नो वेबसाइटमा प्रकाशित गरेको विवरणअनुसार हिजो साँझसम्म मृतकको सङ्ख्या ९५१ पुगेको पुष्टि भएको छ। तीमध्ये चितवनमा २८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    त्यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृतकको सङ्ख्या ९३९ भएको जनाएको थियो।

    सरकारी निकायहरूले त्यसपछि अर्को विवरण दिएका छैनन्।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मानिसहरूको खोजी, उद्धार र राहतमा सुरु दिनदेखि नै काम गर्दै आएका छन्।

    त्यसमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकालाई खोज्नेदेखि सडकमा भएका अवरोध हटाउने काममा पनि सुरक्षाकर्मीहरू खटिएका छन्।

  3. बाढीका कारण उत्पन्न सङ्कटबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट पुगेको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्न लागेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने छ।

    बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।

  4. विनाशकारी बाढी "सामान्य घटना होइन"

    प्रधानमन्त्री वालेन्द्र शाहले तिब्बतसँगको सीमामा बुधवार आएको विनाशकारी बाढीलाई “सामान्य घटना नभएको” भन्दै यो जलवायु परिवर्तनका कारण भएको बताएका छन्।

    सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय स्तरमा तत्काल कदम चाल्न माग गरेका छन्।

    उनले यो घटना “हिमाली क्षेत्रमा हिउँ र बरफको हिमपहिरोका कारण उत्पन्न भएको यो क्षेत्रकै प्रमुख प्राकृतिक विपत्तिमध्ये एक” भएको बताएका छन्।

    अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धारको प्रयास जारी छ। त्यहाँ सयौँ कामदार फसेको हुन सक्ने आशङ्का गरिएको छ।

    यो विपत्तिमा अहिलेसम्म ९०० जना भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने झन्डै ४,००० जना सम्पर्कविहीन छन्।

  5. अहिलेसम्म हामीलाई के थाहा छ

    बाढीका कारण सोमवार साँझसम्म ९५१ जनाको शव फेला परेको नेपाल प्रहरीले आफ्नो वेबसाइटमा जनाएको छ। मृतकको सङ्ख्या बढ्दो क्रममा रहेको देखिन्छ।

    अझै सयौँ मानिस सम्पर्कविहीन छन्। खोजीकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

    प्रधानमन्त्री वालेन्द्र शाहले सरकार 'अझै पनि खोज र उद्धारमा केन्द्रित' रहेको बताएका छन्। उद्धारकर्मीहरू विभिन्न जलवदि्युत् आयोजनाका सुरुङहरूमा जीवित मानिसहरू फसेको हुन सक्ने अनुमानमा खोजी गर्दै छन्। उक्त कार्यमा केही विदेशी विशेषज्ञहरूले पनि सघाउन थालेका छन्।

    विज्ञहरूले रसुवामा बनेको एउटा हिमतालको आकार बढ्दै गएकाले त्यसबाट जोखिम हुन सक्ने चेतावनी दिएका छन्।

    नदीमा फेला परेका तर पहिचान नभएका शवहरूको 'अस्थायी व्यवस्थापन' भएको छ। अहिलेसम्म फेला परेका शवहरूमध्ये थोरैको मात्र सनाखत भएको छ।

    हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको डीएनए परीक्षणका लागि "नजिकको रगतको नाता" भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने प्रहरीले बताएको छ।

  6. लाइभ पेजमा यहाँलाई स्वागत छ

    नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको आज सातौँ दिन हो। आज हामी यो लाइभ पेजमा उक्त बाढीले पुर्‍याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिकोबारे अप्डेट गर्ने छौँ।