'घर पनि लग्यो, व्यवसाय पनि लग्यो': बाढीका कारण विस्थापित भएकाहरूलाई भविष्यको चिन्ता

- Author, शक्तिमाया तामाङ
- Role, नुवाकोट
- Published
- पढ्ने समय: ३ मिनेट
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएर होल्डिङ सेन्टरहरूमा अस्थायी आश्रय लिएर बस्दै आएकाहरूलाई अब के गर्ने, कहाँ जाने र कसो गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।
बाढीबाट प्रभावितहरूलाई सरकारले विभिन्न स्थानमा बनाइएका ४० वटा होल्डिङ सेन्टरहरूमा राखेको छ। तिनमा अहिले झन्डै ४,००० मानिस छन्।
सबभन्दा धेरै नुवाकोटमा २५ स्थानमा होल्डिङ सेन्टर रहेका छन्। त्यहाँ २,५०० जनाभन्दा धेरैले आश्रय लिएका छन्।
बस्नलाई ठिकै, तर चिन्ता धेरै
एक-दुई हप्ता यहाँ बसेर हुने होइन। त्यसपछि के गर्ने? हामी त शून्यमा झरेका छौँ। झस्किरहन्छौँ, मनमा तरङ्ग आउँछ...
आफूहरू बसेको ठाउँमा खान बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीडितहरूले सुनाए।
तर उनीहरूको मनमा अबउप्रान्त के गर्ने भन्ने चिन्ता गढेको पाइन्छ।
बट्टार कभर्ड हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङले भनिन्, "अब सधैँ यहाँ खाएर र बसेर त हुँदैन। बाढीले घर लगिसक्यो, खेत लगिसक्यो। कहाँ जाने, कहाँ बस्ने, के खाने? राज्यले चाँडै निर्णय गरेर अब हामीलाई कहाँ राख्ने हो? उसकै हातको कुरा छ।"
"एक-दुई हप्ता यहाँ बसेर हुने होइन। त्यसपछि के गर्ने? हामी त शून्यमा झरेका छौँ। झस्किरहन्छौँ, मनमा तरङ्ग आउँछ। भित्रभित्रै सताइरहेको छ चिन्ताले," उनले भनिन्।
पीडितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नुपर्दा रुघा, खोकी र अन्य समस्या बढ्न थालेका छन्।
नियमित स्वास्थ्य जाँच भइरहे पनि दिन प्रतिदिन बिरामीहरू बढ्न थालेको दावा मिङ्मर तामाङले बताए।
उनले भने, "यहाँ मानिसहरू धेरै छन्। दाताहरूको सहयोग लिएर हुन्छ कि अलि परिवार-परिवार विभाजन गरेर छुट्टै खानपिन र बस्ने व्यवस्था हुन सके यस्ता सङ्क्रमणबाट बच्न सकिन्थ्यो।"
घर पनि छैन, व्यवसाय पनि गुम्यो
मन त रोइरहेको छ। तर सधैँ रोएर पनि नहुँदो रहेछ। अब सरकारले हेरिदियो भने काम गरेर भए पनि परिवार पाल्छु जस्तो लाग्छ
व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
उनी अरू मानिससँग गफ गरेरै दिन कटे पनि बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेलेर निद्रा नपर्ने बताउँछिन्।
"पसलहरू गरेर व्यवसाय गरेर बसेका थियौँ। त्यो सबै बाढीले लग्यो। अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ। अब सरकारले के गर्ला भनेर पर्खिरहेका छौँ," खड्काले भनिन्।
चीनले दिएका ड्रोनमा झुन्ड्याएर बाढीबाट प्रभावित स्थानमा खानेकुरा र राहत सामग्री
होल्डिङ सेन्टरमै बस्दै आएकी तारादेवी तामाङलाई पनि अब सरकारकै भरोसा बाँकी छ।
"यहाँ बसुन्जेल त राम्रै छ। तर घरै लग्यो, लगाउने लुगा सबै लग्यो। अब सरकारले हेरिदियो भने काम गरेर भए पनि परिवार पाल्छु जस्तो लाग्छ," उनले भनिन्।
"मन त रोइरहेको छ। तर सधैँ रोएर पनि नहुँदो रहेछ।"

तत्कालको निम्ति मात्र विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको वडा तहबाट नै पीडितहरूको तथ्याङ्क सङ्कलन गर्न थालिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।
उनले भने, "त्यहाँ अस्थायी बसोबासका लागि तयार गरिन्छ। त्यसपछि स्थायी बसोबासको लागि पालिकाहरूले जग्गा पहिचान गर्छन्। ती जग्गामा स्थायी संरचना बनाएर पीडितहरूलाई पुनर्वास गराइन्छ।"
होल्डिङ सेन्टरमा मात्र राखेर पर्याप्त नहुने हुँदा दीर्घकालीन योजना आवश्यक रहेको पीडितहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















