एआई च्याटबटले तपाईँलाई बुद्धु बनाइरहेको हुन सक्छ

मोबाइलमा च्याटबट

तस्बिर स्रोत, Getty Images

    • Author, मेलिसा होगनबुम
  • पढ्ने समय: ५ मिनेट

आर्टिफिशल इन्टेलिजन्सका लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम)हरूले धमाधम चेतनशील कार्यहरू गर्न थालेपश्चात् शोधकर्ताहरूले यसरी मस्तिष्क प्रयोगका काम उनीहरूबाट गराउँदा मानिसले चर्को मूल्य बेहोर्नुपर्ने चेतावनी दिन थालेका छन्।

शोधकर्ता नतालिया कोस्मिनाले सहायकहरू भर्ना गर्न खोज्दा सबैजसो इच्छुकहरूले पठाएका आवेदनपत्र (कभर लेटर) शङ्कास्पद रूपमा समान देखिए। ती लामा, परिष्कृत थिए जसमा प्रारम्भिक विषयपश्चात् सोझै एब्सट्र्याक्ट वा सार थिए जसको विषयवस्तुसँग उनले गर्ने कार्यको सोझो साइनो देखिन्नथ्यो।

आवेदकहरूले एलएलएम अर्थात् च्याटजीपीटी, गुगल जेमिनाइ र क्लडजस्ता च्याटबट सञ्चालन गर्ने एआईको प्रयोग गरेर ती पत्र लेखेका हुन् भन्ने निष्कर्षमा पुग्न उनलाई कठिन भएन।

कोस्मिना म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नलोजी (एमआईटी)मा मानव र कम्प्युटरबीचको अन्तरक्रियाबारे पठनपाठनमा संलग्न छिन्। केही वर्ष अगाडिको तुलनामा अचेल धेरै विद्यार्थीहरूले पाठ्यसामग्री बिर्सन थालेको उनको अनुभव छ।

एलएलएमहरूमा बढ्दो निर्भरताका कारण विद्यार्थीहरूको सङ्ज्ञानात्मक क्षमतामा प्रभाव परिरहेको उनलाई लाग्यो र उनले यसबारे थप अनुसन्धान गर्न चाहिन्।

उनीजस्ता शोधकर्ताहरूलाई के चिन्ता भएको छ भने मानिसहरू एआईमा ज्यादा निर्भर हुँदा तिनले प्रयोग गर्ने भाषा र सामान्य सङ्ज्ञानात्मक कार्य गर्न आवश्यक क्षमता पनि ह्रास हुन सक्छ। एआईले हाम्रा बौद्धिक क्षमतामा क्षय हुन सक्ने कतिपय अनुसन्धानले सङ्केत गरेका छन्।

हामीले प्रयोग गर्ने साधनले हाम्रो सोच्ने शैलाी फेरिन्छ। इन्टरनेटको आगमनसँगै त्यसअघि धेरै सोचविचार गर्नुपर्ने कामका निम्ति हामीले सहजै सर्च गरेर जबाफ पाउन थाल्यौँ। सर्च इन्जिनको प्रयोगले हामीलाई धेरै विषयका विस्तृत सामग्री सम्झनुनपर्ने बनाइदियो जसलाई "गुगल इफेक्ट" पनि भनियो। कतिपयले चाहिँ इन्टरनेटले मानिसका बाह्य स्मरण प्रणालीका रूपमा काम गरेको र त्यसले उनीहरूका मस्तिष्कलाई अन्य काम गर्न सहज बनाएको पनि ठान्छन्।

तर सोचविचार गर्नुपर्ने काम धेरै एलएलएम वा अन्य किसिमका एआईलाई छाड्दै जाँदा त्यसले मानिसको स्मरणशक्ति तथा समस्या समाधानको क्षमता क्षय हुने चिन्ता बढेको छ। एआईले गजबका कविता लेखिदिन्छ, वित्तीय परामर्श दिन्छ र साथीको अभाव पूर्ति गर्छ। विद्यार्थीहरूले तिनका धेरै काम एआईलाई जिम्मा लगाउन थालेका छन्।

अध्ययनहरूका अनुसार यसको नकारात्मक प्रभाव साना उमेरका मानिसहरूलाई धेरै पर्ने सम्भावना छ। यसका सम्भावित प्रभावहरूबारे कोस्मिनाले थप अध्ययन गर्न चाहिन्।

खस्किएको बौद्धिक परिश्रम

उनी र एमआईटीका अन्य सहकर्मीहरूले ५४ जना विद्यार्थीहरूलाई छोटो निबन्ध लेख्न भने र तिनलाई तीनवटा समूहमा बाँडे। एउटा समूहलाई च्याटजीपीटी प्रयोग गर्न भनियो। दोस्रो समूहलाई गुगल सर्चको प्रयोग गर्न सक्ने तर एआईले दिने सारांश चाहिँ प्रयोग नगर्ने सर्त दिइयो। तेस्रो समूहलाई कुनै प्रविधि उपयोग नगर्न भनियो। तिनले काम गरिरहँदा सबै विद्यार्थीका 'ब्रेनवेभ'को जाँच गरियो।

निबन्धको विषय सजिलो राखियो। यस अध्ययनको परिणाम हालसम्म जर्नलमा प्रकाशित भइसकेको छैन तर ती अचम्मलाग्दा भएको कोस्मिनाले बताइन्। आफ्नै बुद्धि प्रयोग गर्नेहरूको मस्तिष्क अतिसक्रिय देखियो। सर्च इन्जिन मात्र प्रयोग गर्नेहरूको मस्तिष्कको दृश्यात्मक काम गर्ने भागमा मात्र अलि बढी गतिविधि देखियो। च्याटजीपीटी प्रयोग गर्नेहरूको मस्तिष्कको गतिविधि निकै कम देखियो, झन्डै ५५% ले कम।

"मस्तिष्क पूरै सुतेको जस्तो त होइन तर मस्तिष्कभित्र सिर्जनशीलता तथा सूचना प्रशोधन गर्ने भागहरू थोरै मात्र सक्रिय थिए," कोस्मिनाले भनिन्।

च्याटजीपीटीले मानिसहरूको स्मरणशक्तिमा पनि प्रभाव पारेको देखियो। त्यसको प्रयोग गरेर निबन्ध बुझाएका विद्यार्थीहरूले निबन्धभित्रका केही पनि उद्धृत गर्न सकेनन् अनि कैयौँले त्यसको स्वामित्व ग्रहण गरेनन्। अन्य अध्ययनले पनि त्यस्तै देखाएको छ।

एआईको नियमन गरिनुपर्ने माग गर्दै सडकमा निस्किएका मानिसहरूको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द्रुत गतिमा एआईको प्रयोगले मानिसलाई पार्ने हानिबारे अनुसन्धानकर्ताहरू चिन्तित छन्

हालै गरिएको एउटा अन्तर्राष्ट्रिय अध्ययनमा तीन महिनासम्म एआई विधिको प्रयोग गरेर आमाशयको क्यान्सर पत्ता लगाउन अभ्यस्त चिकित्साशास्त्रीहरूलाई पछि उक्त विधिबिना पत्ता लगाउन कठिन भयो।

आफ्नो काम एआईलाई जिम्मा दिँदाखेरि मानिसहरूको सिर्जनशीलतामा ह्रास आउने कोस्मिनाले चेतावनी दिइन्। उनले गरेको अध्ययनमा सहभागी विद्यार्थी जसले च्याटजीपीटी प्रयोग गरे तिनको निबन्धलाई शिक्षकहरूले "आत्माविहीन," मौलिकता र गहिराइ नभएको सङ्ज्ञा दिए। "निबन्ध उस्तै देखिएकाले एक शिक्षकले त कतै ती विद्यार्थीहरू सँगसँगै बसेर लेखेका त होइनन् भन्ने प्रश्न गरे।"

यी अध्ययनले एलएलएम प्रयोगको तात्कालिक प्रभाव देखाएका छन्। तिनको दीर्घकालीन प्रभाव अझै स्पष्ट छैन।

सङ्ज्ञानात्मक क्षमतामा ह्रास

तथापि एलएलएम मानिसहरूको सोचाइलाई भरथेग गर्ने सकारात्मक साधन बन्न सक्छ। तर त्यसका निम्ति हामीले बौद्धिक काममा जम्मै उसको भर पर्न नहुने कम्प्युटेशनल न्युरोसाइन्टिस्ट तथा रोबट प्रूफकी लेखिका भिभियन मिङले बताइन्। तर वास्तविक दुनियाँमा मानिसले यसरी सन्तुलन मिलाउन नसक्नेमा उनी चिन्तित छन्।

एक पटक आफ्नो पुस्तकको निम्ति शोध गर्दा उनले बर्कले विश्वविद्यालयका विद्यार्थीहरूको समूहलाई तेलको भाउजस्ता वास्तविक विषयको अनुमान गर्न भनिन्। अधिकांश विद्यार्थीले सोझै एआईलाई सोधेर जबाफ लेखेको बताइन्।

ती विद्यार्थीको मस्तिष्कमा गामा वेभको गतिविधि – सङ्ज्ञानात्मक क्षमताको एउटा मापन - उनले नाप्दा थोरै मात्र गतिशील भएको पाइन्। अन्य अध्ययनहरूले गामा वेभको कमजोर गतिविधिको प्रभाव पछि गएर जीवनमा सङ्ज्ञानात्मक क्षमता ह्रास हुने भन्ने देखाएका छन्।

"त्यो एकदमै चिन्ताजनक हो," मिङले भनिन्। गहन सोच मानिसहरूको शक्ति भएको उनले बताइन्। "यदि हामीले त्यसको प्रयोग गरेनौँ भने दीर्घकालमा त्यसले सङ्ज्ञानात्मक क्षमतामा असर पार्ने देखिएको छ।"

एलएलएममा भर पर्दा थोरै मात्र बौद्धिक परिश्रम पर्छ। तर स्वस्थ मस्तिष्कका निम्ति त्यस्तो परिश्रम अपरिहार्य भएको मिङले बताइन्।

सहभागीमध्ये १०% भन्दा कमले फरक किसिमले कार्य गरेको पाइयो। तिनले डेटा सङ्कलनका निम्ति मात्र एआई प्रयोग गरे अनि आफैँ त्यसको विश्लेषण गरे। ती विद्यार्थीहरूको अनुमान बढ्ता मिल्यो र तिनको मस्तिष्कमा ज्यादा गतिविधि भएको पनि देखियो।

करिब दुई दशकअघि मिङले एउटा प्रक्षेपण गरेकी थिइन् – गुगल नक्सामा अतिनिर्भरताका कारण अबको २० देखि ३० वर्षमा डिमेन्शा (विस्मृति हुने रोग) हुने दरमा अर्थपूर्ण वृद्धि हुन्छ भनेर।

यसको ठ्याक्कै परिणाम नाप्ने डेटा त छैन तर जीपीएसको धेरै प्रयोगले 'स्पेशल मेमरी' अर्थात् स्थानसँग सम्बन्धित स्मरणशक्ति विस्तारै ह्रास भएको १३ जना मानिसहरूलाई तीन वर्ष लगाएर गरिएको एक अध्ययनले देखायो। अर्को अध्ययनले त्यस्तो ह्रासले 'अल्जाइमर्स' रोग गराउने देखायो।

हाम्रो मस्तिष्क जति क्रियाशील भयो उति त्यसको सङ्ज्ञानात्मक क्षमता ह्रास हुने सम्भावना कम हुने स्पष्ट छ। त्यस कारण एलएलएमहरूले सिर्जनशीलता मात्रै मास्ने नभई सङ्ज्ञानात्मक क्षमता ह्रास गराएर डिमेन्शा हुने जोखिम पनि बढाइदिने मिङले बताइन्।

एआईका साधनहरूको बढ्दो प्रयोग हुँदै गर्दा तिनले पुर्‍याउने हानिलाई ध्यान दिन जरुरी भएको छ। मिङको सुझाव चाहिँ अन्तिम उद्देश्य भनेको "मिश्रित इन्टेलिजन्स" हुनुपर्छ जसमा मानिस र मशीन दुवै मिलेर "कठिन परिश्रम" सँगसँगै गर्ने अवस्था हुन्छ।

सोझै एआईको सहारा लिनुभन्दा सुरुमा आफैँ सोचविचार गर्न र पछि त्यसबारे एआईसँग अन्तरक्रिया गर्नु उपयुक्त हुने उनको भनाइ छ। कोस्मिना पनि यसमा सहमत छिन्।

आफ्नो सोचाइलाई चुनौती दिन मिङ सुझाव दिन्छिन् जसलाई उनी "निमेसिस प्रोम्प्ट" भन्छिन्। अर्थात् आफ्नो सोचाइ किन गलत छन् र कसरी तिनलाई सही बनाउन सकिन्छ भनेर एआईलाई सोध्ने। त्यसो गर्दा त्यसले तपाईँको विचारलाई रक्षा र परिष्कृत गर्न सकियोस्।

उनले सुझाएको अर्को विधि चाहिँ "प्रोडक्टिभ फ्रिक्शन"लाई प्राथमिकता दिनु हो जसअन्तर्गत एआईलाई सन्दर्भ दिन मात्र भनिन्छ र उत्तर दिन नभई प्रश्न सोध्न भनिन्छ।

अन्तत: बौद्धिक क्षमताको प्रयोगमा हामीले "छोटो बाटो" खोज्नु नहुने कोस्मिनाले भनिन्। दीर्घकालीन मस्तिष्क स्वास्थ्यका निम्ति हामीले आफैँलाई चुनौती दिइरहनुपर्छ। यसो गर्दा हाम्रा मस्तिष्क, सिर्जनशीलता र सङ्ज्ञानात्मक क्षमतालाई फाइदा पुग्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।