बालेनको 'भारत भ्रमणको चाँजो' मिलाउन भारतीय विदेशसचिव काठमाण्डूमा, अरू के हुँदै छ

तस्बिर स्रोत, RSS/EPA
भारतका विदेशसचिव विक्रम मिस्री बुधवार र बिहीवार काठमाण्डूमा उच्चस्तरीय भेटघाटमा व्यस्त हुने अधिकारीहरूले जनाएका छन्।
गत वर्ष नेपालमा भएको आमनिर्वाचनपछि छिमेकी भारतबाट नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च अधिकारी हुन्।
नेपालको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निम्तोमा भारतीय समकक्षी मिस्री बुधवार बिहान काठमाण्डू आइपुगेका छन्।
"परराष्ट्रसचिवसँग विदेशसचिवको बुधवार दिउँसो द्विपक्षीय भेटघाट र छलफल हुन्छ," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, "भ्रमणका क्रममा उच्चस्तरीय अन्य भेटघाटहरू गरेर बिहीवार स्वदेश फर्किने कार्यक्रम छ।"
भारतीय विदेश मन्त्रालयले पनि आफ्ना विदेश सचिवले नेपालका अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेट गर्ने जनाएको छ।
उसका अनुसार मिस्रीले "आपसी हितका द्विपक्षीय, क्षेत्रीय तथा विश्व मामिलामा छलफल गर्ने छन्।"
दुवै पक्षले मिस्रीले नेपालमा भेटघाट गर्ने अन्य उच्च अधिकारीहरूबारे औपचारिक रूपमा खुलाएका छैनन्।
प्रधानमन्त्रीसँग जुरेको मिस्रीको भेट

तस्बिर स्रोत, MEA
सरकारी स्रोतका अनुसार उनले प्रधानमन्त्रीवालेन्द्र शाह 'बालेन'सँग पनि शिष्टाचार भेट गर्ने छन्।
अधिकारीहरूले त्यसबारे केही खुलाएका छैनन्।
केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नदिएपछि निर्धारण भइसकेको भ्रमण पनि मिस्रीले स्थगित गरेको खबरहरू सार्वजनिक भएका थिए। त्यस सन्दर्भमा अहिलेको भ्रमणलाई महत्त्वका साथ हेरेको पाइन्छ।
विदेशसचिव मिस्रीले सम्भवत: बुधवार नै प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गर्ने एक अधिकारीले जानकारी दिएका छन्।
भ्रमणका क्रममा उनले गर्ने भेटघाटको पूर्ण तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
तर उनले अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र पूर्वाधारविकासमन्त्रीलगायतका अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।
त्यस्तै सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग पनि उनले शिष्टाचार भेट हुने छ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको सुनिश्चितता?

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिरको पहिलो हप्ता हुने अहिलेसम्मको तयारी रहेको बताइन्छ।
उक्त मितिबारे पनि नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले केही खुलाएका छैनन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले कार्तिक ११ गते आयोजित नियमित पत्रकार भेटघाटमा नेपालका प्रधानमन्त्रीलाई "भ्रमणको निमन्त्रणा गरिसकेको र यस विषयमा दुवै पक्षको आपसी अनुकूलताका आधारमा कूटनीतिक माध्यमबाट निर्णय लिइने" बताएका थिए।
"सम्माननीयज्यूको भ्रमण दुवै पक्षलाई उपयुक्त र अनुकूल समयमा हुने छ," परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले भने, "त्यसै सिलसिलामा परराष्ट्र मन्त्रालयबाट तयारी भइरहेको र मितिलगायतका विवरण उपयुक्त समयमा सार्वजनिक गरिने छ।"
तर जानकारहरूका अनुसार मिस्रीको यो भ्रमणको मुख्य ध्येय नै प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण सुनिश्चित गर्दै त्यसको चाँजो मिलाउनु हो।
एक अधिकारीले मिस्रीसँग नेपाली अधिकारीहरूको छलफलमा त्यसबारे चर्चा हुने र त्यसबारे "एक खालको टुङ्गो" लाग्न सक्ने जानकारी दिए।
"भ्रमणका केही मुद्दाबारे पनि कुरा होलान्," ती अधिकारीले भने, "अहिलेसम्म मङ्सिर ७ गते भ्रमण हुने तयारी छ तर ६ गते पनि हुन सक्छ, सम्भवतः भ्रमणका क्रममा गरिने सम्झौतालगायतका विषयमा मोटो रूपमा सहमतिपछि मितिबारे अन्तिम टुङ्गो लाग्ला।"
मिस्रीको नेपाल भ्रमणको अघिल्लो दिन नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मङ्गलवार काठमाण्डू पुगेका छन्।
भारतका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस भई संसदीय समितिबाट अनुमोदित भएका निश्चलनाथ पाण्डे दिल्लीको एग्रिमोको पर्खाइमा रहेको बताइएको छ।
एक अधिकारीका अनुसार पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै दिल्लीमा जिम्मेवारी सम्हाल्ने ठानिएको छ।
'जान्नँ' भनेका प्रधानमन्त्री किन जान तयार भए?
प्रधानमन्त्री बालेनको तर्फबाट औपचारिक रूपमा केही नभनिए पनि उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताले प्रधानमन्त्री कम्तीमा एक वर्ष औपचारिक विदेश भ्रमणमा नजाने मनस्थितिमा रहेको बताएका थिए।
"प्रधानमन्त्री भारत भ्रमणमा जानुलाई अन्यथा रूपमा लिएको छैन, तर केही समय विदेश भ्रमणमा नजाने भनेको सन्दर्भमा उहाँ आफैँ किन परिवर्तन हुनुभयो," पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने, "त्यो प्रश्नले पनि केही अर्थ राख्छ र सङ्केत दिन्छ जस्तो लाग्छ।"
उनले रास्वपाभित्रको आन्तरिक परिस्थितिलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिएको हुन सक्ने आकलन सुनाए।
"अन्तर्विरोध तीव्रतामा अघि बढिरहेको र सरकारले जनता, नागरिक समाज र आम रूपमा सकारात्मक प्रभाव दिन नसकिरहेको सन्दर्भमा किन निर्णय फेर्नुभयो भन्ने कुराले केही अर्थ राख्छ कि," उनले भने।
खास गरी देशभित्र एकता रहेको सन्देशबीच हुने विदेश भ्रमणले प्रधानमन्त्रीलाई सहयोग पुर्याउने जानकारहरू बताउँछन्।
नेता श्रेष्ठका भनाइमा भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारलाई राष्ट्रिय एकताले बल दिएको हुनुपर्छ।

तस्बिर स्रोत, PMO India
त्यसैले भ्रमणअघि सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति र अजेन्डा निर्धारण गरेर विदेश भ्रमण जाने विगतको परम्परालाई पछ्याउँदा राम्रो हुने उनको सुझाव छ।
"तर प्रधानमन्त्रीले त्यत्रो विपद्का बेला त उहाँले त्यो पहल गर्नुभएन," उनले भने, "त्यसैले उहाँबाट यस सन्दर्भमा धेरै अपेक्षा गर्ने अवस्था छैन।"
सरकार र रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणबारे केही बताएका छैनन्।
पछिल्ला साताहरूमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्टमन्त्री शिशिर खनाल र गृहमन्त्री सुधन गुरुङले विभिन्न सन्दर्भमा भारत भ्रमण गरेका थिए।
रास्वपा सभापति लामिछाने भारतमा तीर्थयात्रा पूरा गरेर फर्किएका छन्। यसअघि भारतको सत्ताधारी भाजपाको निम्तोमा भ्रमणमा गएका बेला लामिछानेको भव्य स्वागत गरिएको थियो।
भारतले लामिछानेलाई दिएको महत्त्वलाई "अस्वाभाविक" ठानेका कतिपयले त्यसबाट प्रधानमन्त्री बालेनमाथि साङ्केतिक दबाव पर्ने आकलन गर्दै आएका थिए।
त्यसैले भारत भ्रमणको तयारीलाई यी विभिन्न पक्षसँग जोडेर हेर्ने गरेको पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















