'पालमा मुसाहरू निस्किरहेका छन्': गाजाका शिविरमा रोग फैलाउने जीवहरूको बिगबिगी

- Author, ओमइमा म्याग्डी
- Role, बीबीसी न्यूज अरेबिक
- पढ्ने समय: ६ मिनेट
गाजा स्ट्रीपमा आकाशबाट खस्ने वस्तुमा मात्रै खतरा सीमित छैन, त्यो जमिन मुनिबाट सुस्तरी निस्कने जीवहरूसम्म फैलिएको छ।
दश दिनपछि विवाह हुन लागेकी अमानी अबु साल्मिया दक्षिणी गाजास्थिति स्पोर्टस् क्लब शिविरको एउटा पालभित्र छिन्। उनी महिनौँ लगाएर तयार पारिएका विवाहका कपडा तथा अन्य सामग्रीहरू जाँचिरहेकी छन्।

"म आफ्ना साथीहरूलाई विवाहका सामग्रीहरू (कपडासहितका) देखाइरहेकी थिएँ… सबै कुरा तयार थियो," उनले बीबीसी न्यूज अरेबिकसँग भनिन्, "अर्को दिन मैले मुसाहरूको आवाज सुनेँ। अनि त्यसपछि हेर्दा धेरैजसो कपडा च्यातिएका र खाइएका पाएँ।"
"उक्त क्षति भौतिक मात्र नभएर भावनात्मक पनि थियो। मैले यी सामग्री तयार पार्न धेरै मेहनत गरेकी थिएँ। अनि सबै कुरा महँगा थिए… तर पनि जोगिएन। हामीले सामानहरू मेरो घर [टेन्ट] मा सार्ने योजना बनाएका थियौँ ताकि दुलहाको परिवारले पनि देख्न सकून् - तर जे भयो, त्यो निकै बिस्मातपूर्ण थियो।"

सन् २०२५ को अक्टोबरमा युद्धविराम भए पनि संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाको २२ लाख जनसङ्ख्यामध्ये झन्डै हरेक १० मध्ये ८ जना अझै पनि अस्थायी शिविरहरूमा बस्छन्।
धेरै घरहरू ध्वस्त भएका छन् र उक्त क्षेत्रको करिब आधा भाग अझै पनि इजरेली सेनाको नियन्त्रणमा छ।
शिविरका पालहरू अस्थायी आश्रय दिनका लागि बनाइएका हुन् तर ती पाल राखिएको जमिन नै दैनिक जोखिमको स्रोत बनेको छ। बिग्रँदो र अत्यधिक भीडभाडयुक्त वातावरणमा मुसा र कीराहरू अभूतपूर्व रूपमा फैलिँदा अवस्था कठिन बनेको छ।

"अलिक अघिमात्र पनि एउटा मुसा हामीमाथि आयो," अमानीले बीबीसी न्युज अरेबिकसँग भन्छिन्।
"हामी रातभर इँटा र काठले छेकबार गर्छौँ तर पनि मुसाहरू भित्र पस्छन्।"
इजरेली सीमा नजिकैको बेइत लाहिया सहरबाट विस्थापित भएका बासेल अल दह्नूनलाई 'किड्नी फेलिअर' र मधुमेहको समस्या छ। त्यसैले श्रीमतीले उनको गोडाबाट रगत बगिरहेको देखेर नउठाउँदासम्म एउटा मुसोले औँलो कोतरिरहेको उनले पत्तै पाएनन्।

"मधुमेह प्रभावित गोडालाई विशेष हेरचाह चाहिन्छ तर यहाँको अवस्था अत्यन्तै कठिन छ," ४७ वर्षीय बासेल बीबीसी न्युज अरेबिकसँग भन्छन्।
"मुसा र लामखुट्टे जताततै छन्। गर्मी नजिकिँदै जाँदा जोखिम झन् बढ्छ।"
"पालभित्रको अवस्था असहनीय छ। मुसा र लामखुट्टेले निरन्तर सताउँछन्। वरपर कनसुत्लो डुलेको हेर्दै डरैडरमा मेरा केटाकेटीको रात बित्छ।"
"यी मुसाहरूले गम्भीर रोग सार्न सक्ने भएकाले अवस्था खतरनाक छ। त्यसमाथि म गम्भीर एलर्जी र प्रतिरक्षा प्रणालीसम्बन्धी समस्याबाट पीडित छु।"
अप्रिलको सुरुमा प्यालेस्टिनी स्वास्थ्यमन्त्री माजेद अबु रमदानले गाजा क्षेत्रमा व्यापक रूपमा फैलिएका मुसा र मुसाजस्तै जीवहरूले स्वास्थ्य जोखिम बढाएका भन्दै विश्व स्वास्थ्य सङ्गगठनसँग तत्काल तिनलाई नियन्त्रण गर्ने सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए।
फोहोर र भग्नावशेष थुप्रिँदा ती फैलिएका र तिनको टोकाइ, मलमूत्र र परजीवीमार्फत् गम्भीर रोग फैलिने सम्भावना पनि बढेको मन्त्रालयले जनाएको छ।

तीमध्ये सबैभन्दा प्रमुख रोगहरू यी हुन् :
- हेमोरेजिक फिभर
- प्लेग
- मुसाको टोकाइबाट हुने ज्वरो
- साल्मोनेला
मुसाहरू मात्र यहाँका जोखिम होइनन्। गर्मी नजिकिँदै जाँदा सर्प र बिच्छीजस्ता अझ खतरनाक सरीसृपहरू पनि देखिन थालेका छन्। गाजा सहरको केन्द्रमा रहेको एउटा क्याम्पमा बस्ने एक बालिकालाई ज्वरो बढ्दै जानुका पछाडि कुनै अज्ञात कीराको टोकाइबाट भएको सङ्क्रमणलाई कारक ठानिएको छ।
"चिकित्सकहरूले मलाई यो भाइरस हो र करिब ३० दिनसम्म रहन सक्छ भनेका छन्," उनकी आमा, उम रामेज भन्छिन्, "यस्तो भएको १७ दिन भइसक्यो, भगवानको भरोसामा छौँ। म दुखाइ घटाउनका निम्ति मात्रै औषधि दिन्छु तर उनी चर्को ज्वरोसहित सुतिरहन्छिन्।"
उनी आफ्नी छोरी चिच्याउँदै ब्युँझिएको सम्झिन्छिन्। "हामी उठ्दा ठूलो थैलोजत्रै एउटा बडेमानको किरा भेट्टायौँ।"
"हामी डरैडरमा रात बिताउँदै आएका छौँ। हाम्रो वरिपरि वा हामीसँगै पो केही सुतिरहेको छ कि भनेर हेर्न हामीसँग टर्चलाइटसमेत छैन। हामी चौबिसै घण्टा डरमा छौँ। पालभित्र पनि कुनै सुरक्षा छैन। यो च्यातिएको र टुटेको छ। जति सिए पनि हुँदैन।"
'वास्तविक खतरा'
अहिले अवस्था झनै बिग्रिँदै गएको गाजा स्ट्रिपस्थित प्यालेस्टिनी मेडिकल रिलिफ सोसाइटीका निर्देशक डाक्टर मोहम्मद अबु अफेशले बिबीसी न्यूज अरेबिकलाई बताए।
"मुसाहरू जसरी फैलिरहेका छन् त्यो अहिले मुख्य समस्या र सार्वजनिक स्वास्थ्यका लागि वास्तविक खतरा बनेको छ। खासगरी ती पालभित्र खाना र पानीसम्म पुग्दा खतरा भएको छ," उनी भन्छन्।
"चोटपटकका घटनाहरू अस्पताल तथा स्वास्थ्य केन्द्रसम्म पुगेका छन्। सटीक आँकडा नभए पनि घटनाहरूको सङ्ख्या बढिरहेको प्रष्टै देखिन्छ जसले तत्काल रोकथाम नभए विपत्ति निम्तिने चेतावनी दिन्छ।"
"पहिले खासै देखा नपरेका किसिमका दाँतले लुछ्ने, कोतर्ने वा टोक्ने जन्तुहरू पनि ठूलो सङ्ख्यामा देखिएका छन्। त्यसले वास्तविक खतरा पैदा गर्नुका साथै केही शिविरहरूमा आक्रमणसमेत गर्न सक्ने देखिन्छ।"
किट नियन्त्रणको स्थिति लगभग नभए बराबर रहेको आफेश बताउँछन्। पूर्वाधारको विनाश, स्थानीय निकायहरूको जनशक्ति परिचालनतर्फको सीमित क्षमता र गाजामा कीटनाशक प्रवेशमा प्रतिबन्धले तिनीहरूको फैलावट र महामारीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ।
उनले त्यसको रोकथामका निम्ति तत्काल पहल गर्न अन्तर्राष्ट्रिय निकायहरूलाई आह्वान गर्नुका साथै कीटनाशक तथा विषयुक्त चाराहरूको प्रवेश अनुमति र सरसफाइ तथा किटाणुनासक सेवाहरू सञ्चालन गर्न आवश्यक इन्धनको आपूर्तिका निम्ति दबाव दिन भनिरहेका छन्।
तत्कालका निम्ति केही युवाहरूले कृषिजन्य कीटनाशक छर्किने, पालभित्र साधारण किसिमका पासो थाप्ने र बस्ती क्षेत्रबाट फोहोर हटाउने जस्ता उपायहरू अपनाइरहेका छन्।

"हामी सामान्य सामग्री प्रयोग गरेर मुसा र कीराहरूलाई नियन्त्रण गर्ने कोसिसमा छौँ," सोसल मिडिया कन्टेन्ट बनाउँदै आएका गाजा सिटीका महमूद अल-अमावी भन्छन्, "केही नहुनुभन्दा केही हुनु राम्रो हो।"
तर युद्धका कारण गाजा ६,७०,००,००० लाख टनभन्दा बढी भग्नावशेष र फोहोरले ढाकिएको छ, जसमा ४० लाख टन खतरनाक फोहोर पनि समावेश छ र संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त परिमाण इजिप्टको सबैभन्दा ठूलो पिरामिडभन्दा १३ गुणा गह्रौँ हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























