तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अहिले त गाउँ छैन, घर छैन, कमाएर खाने ठाउँ छैन': सुरुङबाट भागेर बाँचेकाहरूको पीडा
- Author, अशोक दाहाल र कमल परियार
- Role, बीबीसी न्यूज नेपाली, नुवाकोट
- Published
- पढ्ने समय: ४ मिनेट
पेम्बा डुन्डु तामाङ र इठा घले रसुवाको त्रिशूली–३ 'बी' को सुरुङभित्र वेल्डिङ गरिरहेका थिए, त्यति नै बेला सुरुङको अर्को छेउबाट तीव्र वेगको हावा भित्र छिर्यो।
प्रवेशद्वारको केही सय मिटरभित्र काम गरिरहेका करिब ५०-६० जना मजदुरहरूले अर्को तर्फको प्रवेशद्वारबाट बाढी पस्यो कि हुरी, सुरुमा ठम्याउन सकेनन्।
पेम्बा वेल्डिङको काम गर्दै थिए। सुरुमा उनलाई सुरुङ कतै भत्कियो कि भन्ने लाग्यो। उनका सबै सहकर्मीहरू सुरुङ बाहिरतिर भाग्न थाले।
"साथीहरू सबै भागे मैले अलिकति पत्याएन के," सुरुङबाट भागेर ज्यान जोगाएका पेम्बाले सोमवार नुवाकोट, बट्टारको शिविरमा गत बुधवारको घटना सुनाउँदै बताए।
"भित्र केही झर्यो कि भनेर सोचेको होइन रहेछ के।"
पेम्बा भाग्न अलि ढिलो भइसकेका थिए। तर पछाडि दुई वटा ठूला गाडीहरू थिए जसले बाढीको बेगलाई केही धीमा बनाइदिए। उनी भाग्दै गर्दा केही बेरअघिसम्म काम गरिरहेको ठाउँसम्म पानी पुगिसकेको थियो।
"खोला पछिपछि आउँछ म अघिअघि भाग्छु," उनी सुनाउँछन्।
उनीहरू काम गरिरहेको ठाउँ सुरुङको विद्युत् उत्पादन केन्द्र पट्टीको मुख नजिकै थियो। त्यो मुख खोलाभन्दा केही अग्लो ठाउँमा भएका कारण सुरुङको बाढी बाँधबाट पानी प्रवेश गराउने ठाउँबाट पसेको थियो।
भाग्दाभाग्दै उनी नदीको सतहभन्दा केही माथि रहेको सुरुङको नजिकैको निकासबाट बाहिर निस्कन सफल भए। त्यहाँ उनलाई इठा घले सहितका साथीहरूले पर्खिरहेका थिए।
इठा पनि पेम्बाकै आसपास थिए। तर उनी पेम्बाभन्दा अलि छिटो सुरुङबाट बाहिर भाग्न सफल भए। सुरुङभित्र बाढी छिरेको हुन सक्छ भन्ने कुरा उनले तुरुन्तै अनुमान लगाए।
"प्लाई बिछ्याएको थियो त्यो सबै उडाएर आयो…म त्यहीँबाट भागेर आएको," इठा सुनाउँछन्।
उनका अनुसार, यदि उनीहरू तर्फको मुखबाट सुरुङभित्र बाढी छिरेको भए उनीहरू बाँच्ने थिएनन्।
सुरुङको बाहिरसम्म बाढी चढ्न थालेपछि उनीहरू सबै जना डाँडातिर उक्लिन थाले।
त्यति नै बेला पेम्बा र इठाले पारिपट्टी खोला छेउमा रहेको आफ्नो गाउँ देखे।
"मेरो बस्ती तलै छ। हेरेको केही रहेनछ। म त लास्टै बेहोस जस्तै बनायो," पेम्बा सुनाउँछन्।
उनका आमा, दाइ, भाउजू सहित छ जना अहिले सम्पर्कविहीन छन्। उनकी श्रीमती पनि अर्को जलविद्युत् आयोजनामा काम गर्थिन्। उनी पनि जङ्गलतर्फ भागेर बचेको पेम्बाले सुनाए।
पेम्बा जस्तै आफ्नो गाउँलाई बाढीले बगाएको देखेर इठा पनी स्तब्ध भए।
"बाहिर निस्किएर घर हेरेको त सबै लगिसकेको रहेछ। खोला ठूलो आएको रहेछ। घर पनि छैन केही छैन म त त्यहीँ निराश भइहालेँ," इठाले सुनाए। उनका आमाबाबु र जेठी छोरीसहित परिवारका आठ जना सदस्यहरू बेपत्ता छन्।
सुरक्षित ठाउँमा त पुगे तर त्यहाँ उनीहरूले दुई दिनसम्म राम्रोसँग खान पाएनन्। त्यसपछि नेपाली सेनाले उद्धार गरेर उनीहरूलाई नुवाकोट ल्यायो। उनीहरू भन्दा तल रहेको विद्युत उत्पादन गृहमा रहेका मानिसहरू अझैसम्म नभेटिएको पेम्बाले सुनाएका छन्।
तारामाया तामाङ सोमबार दिउँसो बट्टारमा बाढीमा परी मृत्यु भएका आफ्ना बुबाको शवको पर्खाइमा थिइन्। उनी अपर त्रिशूली १ जलविद्युत् आयोजनामा सुरुङ बाहिरैको साइट कार्यालयमा आफ्नी भाउजूसँग काम गरिरहेकी थिइन्।
"एकदमै ठूलो बाढी आइरहेको छ। विपत्ति आइरहेको छ तिमिहरू भाग भन्ने खबर आयो। म चाहिँ भाग्न सफल भएँ। बाढी आउँदै छ, म चाहिँ एकदमै श्वासै नरोकी एउटा आँपको रुखमा पुगेपछि माथिबाट पछार्यो," तारामायाले बाढीको क्षण सम्झिइन्।
"त्यहाँ फोहोर राख्ने स्टोरभित्र छिरेँ। भाउजू र दुवैलाई लडायो। त्यसको छेवैमा सुरुङ थियो त्यसको ढोका भेटेपछि भित्र भाउजूलाई हालेँ र म पनि छिरेँ। छिरेपछि आँखाले देख्दादेख्दै सबै मान्छेहरूलाई बगायो। अफिस पनि पुर्यो।"
उनका अनुसार उनी प्रवेश गरेको सुरुङभित्र पनि पानी पस्यो। त्यो सुरुङभित्र तीन तलाको संरचना थियो। त्यहाँबाट चिच्याएर सहयोगका लागि आग्रह गरेपछि एक जना कर्मचारीले टर्च बालेर बाहिर निस्कन उनीहरूलाई सहयोग गरे।
उनीहरू त्यहाँ पनि सुरक्षित नभएपछि पहाडमा उकालो चढ्दै थप सुरक्षित ठाउँमा पुगे। आफूले काम गरिरहेको ठाउँबाट आफूजस्तै ३८५ जनाको उद्धार भएको उनले सुनेकी छन्। अधिकारीहरूले उक्त आयोजनाको अर्कोपट्टिको सुरुङमा अझै कैयौँ मानिसहरू फसेको बताएका छन्।
उद्धार गरेर नुवाकोट ल्याइनुअघि उनले एक रात खुला आकाशमुनि बिताइन्। उनको साथमा फोन थियो। तर नेटवर्क थिएन।
"परिवारसँग पनि सम्पर्क भएन। बेलुका नेटवर्क लाग्यो अनि बहिनीलाई सोधेँ। अरूलाई चाहिँ (बाढीले) भेट्यो जस्तो छ बाबाचाहिँ बेहोस अवस्थामा हुनुहुन्छ भनेकी थिइन् के," उनले भनिन्।
उद्धार गरिएपछि मात्र उनलाई बाढीका कारण आफ्ना आमाबाबु दुवै जना नभएको थाहा भयो।
"उद्धार भएर खोज्दा बाबा पनि हुनुहुन्न रहेछ," तारामाया भक्कानिइन्।
'भूकम्पमा निकालेर खान त पाइयो, अहिले त केही छैन'
तारामायाको परिवार खाल्टेमा बस्दै आएको थियो। एक दशकअघिको भूकम्पले पुरानो घर भत्काएपछि उनीहरू त्यहाँ सरेका थिए।
"२०७२ सालमा पनि सखाप पार्यो। २०८३ सालमा पनि परिवार नै लग्यो," उनी भन्छिन्।
पेम्बालाई अब जाने घर र काम गर्ने जलविद्युत् आयोजना दुवैमा क्षति पुगेकोमा चिन्ता छ।
"मलाई त बाँच्दा पनि बेकार लागिरहेको छ। कहाँ बस्ने कहाँ गएर खाने," उनी भन्छन्।
"पहिला भूकम्पले त घरमा केही निकालेर खान पायो। अहिले त केही छैन। गाउँ छैन, घर छैन, कमाएर खाने ठाउँ छैन।"
पेम्बालाई अब भोकै पो परिएला की भन्ने चिन्ता छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।