तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानको हिउँपहिरोमा 'हराएका' १० जनामा निर्मल पुर्जा र अरू पाँच नेपाली पनि
पाकिस्तानको 'ब्रोड पीक' हिमाल आरोहणका क्रममा हिउँपहिरोमा परी ख्यातिप्राप्त आरोही निर्मल पुर्जासहित १० जनाको समूह सम्पर्कविहीन भएको छ।
नेपालमा जन्मेका तथा भूतपूर्व 'रोयल मरीन' समेत रहेका पुर्जाले उक्त अन्तराष्ट्रिय पर्वतारोही समूहको नेतृत्व गरेको बताइएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पीकमा बिहीवार दिउँसो हिमपहिरो गएको हो। त्यसयता उक्त टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।
पुर्जासँगै उक्त समूहमा एकजना अमेरिकी, एकजना चिनियाँ, एकजना ओमानी र पाँचजना नेपाली पनि भएको बताइएको छ।
उक्त समूहको नेतृत्व गरेका पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल करिब ६.५ महिनामै आरोहण गरेर चर्चामा आएका थिए।
खोजी
"हामी सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ र मौसम अनुकूल भएमा शुक्रवार बिहान हेलिकोप्टरमार्फत् उद्धारकार्य सञ्चालन गर्ने प्रक्रिया मिलाइरहेका छौँ," 'अल्पाइन क्लब अफ पाकिस्तान'का उपाध्यक्ष करार हैद्रीले बीबीसीसँग भने।
ब्रोड पीकलाई पर्वतारोहणका निम्ति निकै चुनौतीपूर्ण हिमालमध्येको मानिन्छ। यो विश्वको १२औँ अग्लो हिमाल हो।
एउटा भिन्दै वक्तव्यमा 'अल्पाइन क्लब अफ पाकिस्तान'ले "उपलब्ध सबै स्रोतसाधनको परिचालन यथाशीघ्र सुनिश्चित गर्न" आफूहरू सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
पुर्जाको पर्वतारोहण यात्रा
पुर्जा सन् २००३ मा ब्रिटिस सेनामा प्रवेश गरेका थिए र सन् २००९ मा 'रोयल मरीन' बनेका थिए।
सन् २०१२ मा सगरमाथा आधार शिविरको पदयात्राबाट उनको पर्वतारोहण यात्रा सुरु भएको थियो। त्यस क्रममा पूर्वनिर्धारित योजनाअनुसार आधार शिविरबाट फर्कने सोच परिवर्तन गर्दै उनले सगरमाथा आरोहण गर्ने निधो गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।