तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रकृतिमा बिताएको २० मिनेटले तपाईँको स्वास्थ्य यसरी सुधार्न सक्छ
- Author, यास्मिन रूफो
- Role, बीबीसी न्यूज
- Published
- पढ्ने समय: ५ मिनेट
यदि पार्कमा हिँडेपछि वा जङ्गलको बाटोमा टहलिँदा शान्त महसुस गर्नुभएको छ भने त्यो केवल तपाईँको कल्पना होइन, त्यसको पछाडि विज्ञान छ।
बाहिरी वातावरणमा रहँदा शरीरभित्र कैयौँ मापनयोग्य परिवर्तनहरू देखा पर्न सक्छन्। यसले तनाव उत्पन्न गर्ने होर्मोनहरू घटाउन सक्छ, रक्तचाप कम गराउन सक्छ र पेटको स्वास्थ्य समेत सुधार्न सक्छ।
यी लाभहरू अनुभव गर्न घण्टौँसम्म हिँड्न जरुरी छैन। केवल २० मिनेटमै अधिकतम प्रभाव देखिने शोधहरूले देखाएका छन्। त्यसैले हप्तामा केही पटक दिउँसोको समयमा पार्कसम्म पैदल जानु वा त्यहाँको बेन्चमा बसेर खाजा खानुले पनि शरीर र मन दुवैलाई फाइदा पुर्याउन सक्छ।
आउनुस्, प्रकृतिमा रमेर स्वास्थ्यमा सुधार ल्याउने चार प्रमुख तरिकाबारे जानौँ।
१. अनायसै शान्त भइन्छ
हरिया रुखहरू देख्दा, सल्लाको सुगन्ध महसुस गर्दा, पातहरू हल्का सुसाएको आवाज वा चराहरूको चिरबिर सुन्दा हाम्रो शरीरका अचेतन प्रक्रियाहरू नियन्त्रण गर्ने स्नायु प्रणालीले तत्काल प्रतिक्रिया जनाउँछ।
घरछेवैको पार्कमा एकैछिन निस्किँदा पनि त्यसो हुन सक्छ।
अक्स्फोर्ड विश्वविद्यालयकी जैविक विविधता विषयकी प्राध्यापक बर्नेस क्याथी विलिसका अनुसार त्यस्तो वातावरणमा "रक्तचाप घट्ने, मुटुको चाल र लयमा सुधार आउनेजस्ता शारीरिक परिवर्तनहरू देखिन्छन्। ती सबै शरीर शान्त बन्दै गएको सङ्केतहरू हुन्।"
ब्रिटेनमा लगभग २०,००० मानिसहरूमा गरिएको एउटा अध्ययनले सातामा कम्तीमा दुई घण्टा हरियाली वातावरणमा बिताउने व्यक्तिहरूले राम्रो स्वास्थ्य र उच्च मानसिक सन्तुष्टिको अनुभव गर्न सक्ने सम्भावना अधिक हुने देखाएको छ।
२. होर्मोनहरू पुन: सन्तुलित हुन्छन्
प्रकृतिमा समय बिताउँदा शरीरको 'होर्मोनल' प्रणाली पनि सक्रिय हुन्छ।
प्राध्यापक विलिसका अनुसार बाहिर समय बिताउँदा शरीरमा 'कोर्टिजल' र 'अड्रेनलिन' जस्ता तनाव र चिन्ताको बेला बढ्ने होर्मोनहरूको मात्रा घट्न थाल्छ।
"तीन दिन एउटा होटेलको कोठामा बिताउने क्रममा 'हिनोकी' (जापानी साइप्रस) को तेलको सुगन्ध लिएका मानिसहरूमा 'अड्रेनलिन होर्मोन' उल्लेखनीय रूपमा घटेको र रगतमा 'न्याचरल किलर' कोषहरूको सङ्ख्या निकै बढेको एउटा शोधले देखायो," उनले भनिन्।
'न्याचरल किलर' कोषहरूले शरीरका भाइरससँग लड्ने काम गर्छन्।
इलिनोई विश्वविद्यालयकी प्राध्यापक मिङ कुओका शब्दमा, "प्रकृतिले शान्त हुनुपर्ने कुरालाई शान्त तुल्याउँछ र बलियो हुनुपर्ने कुरालाई बलियो तुल्याउँछ।"
"प्रकृतिमा बिताइएको सप्ताहन्तको तीन दिनको छुट्टीले शरीरको भाइरससँग लड्ने प्रणालीमा ठूलो प्रभाव पार्छ र एक महिनापछि पनि यसको प्रभाव सामान्य अवस्थाभन्दा करिब २४ प्रतिशत अधिक रहन सक्छ।"
थोरै समय मात्र प्रकृतिमा बिताउँदा पनि कालान्तरसम्म पर्न सक्ने सकारात्मक प्रभावलाई अध्ययनहरूले पनि पुष्टि गरेका उनी बताउँछिन्।
३. गन्धको प्रभाव शक्तिशाली हुन्छ
प्रकृतिको सुवास पनि त्यसको दृश्य वा आवाजजत्तिकै प्रभावकारी हुन्छ।
रुखबिरुवा र माटोको सुगन्धमा वनस्पतिले छाडेका भरपूर जैविक यौगिकहरू हुन्छन्। सासमार्फत् हाम्रो शरीरभित्र प्रवेश गर्ने तिनका केही अणुहरू रगतसम्म पुग्छन्।
प्राध्यापक विलिस सल्लाको जङ्गलको उदाहरण दिन्छिन्। उनका अनुसार त्यसको सुवासले केवल ९० सेकेन्डमै मानिसलाई शान्त तुल्याउन सक्छ र यसको प्रभाव करिब १० मिनेटसम्म रहन्छ।
कतिपयलाई प्रकृतिको प्रभाव केवल मानसिक अनुभूति हो भन्ने लाग्न सक्छ। तर एउटा अर्को अध्ययनले त्यसको विपरीत सङ्केत गर्छ। उक्त अध्ययनका अनुसार कुनै विशेष गन्धको सम्झना नभएका साना शिशुहरू 'लिमोनिन' नामको सुगन्ध फैलिएको कोठामा राख्दा शान्त पाइएका थिए।
४. गुणकारी ब्याक्टेरिया पेटमा पुग्छन्
माटो खेलाउनु पनि स्वास्थ्यका निम्ति लाभदायक हुन सक्छ किनभने माटो र बोटविरुवामा कैयौँ प्रकारमा गुणकारी ब्याक्टेरिया पाइन्छन्।
"यी त्यही प्रकारका गुणकारी ब्याक्टेरिया हुन् जसका लागि हामी 'प्रोबायोटिक' वा स्वास्थ्यवर्द्धक पेय पदार्थ किन्छौँ," प्राध्यापक विलिस अर्थ्याउँछिन्।
प्राध्यापक मिङ कुओले सङक्रमणको जोखिम र मानसिक स्वास्थ्यमा यसको प्रभावबारे अध्ययन गरेकी छन्। उनका अनुसार केही हितकारी ब्याक्टेरियाले हाम्रो मनोदशा सुधार्न सक्छन्। साथै बिरुवाबाट निस्कने 'फाइटोन्साइड' नामक तत्त्वले रोगसँग लड्न पनि सघाउन सक्छ।
सङक्रामक रोग विशेषज्ञ डाक्टर क्रिस भान टल्कन प्रकृतिले हाम्रो "प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याइराख्ने" ठान्छन्।
उनी आफ्ना केटाकेटीलाई जङ्गलको माटोसँग खेल्न दिन्छन् ता कि गुणकारी तत्त्वहरू नाक वा मुखमार्फत् शरीरभित्र प्रवेश गर्न सकून्।
प्रकृतिलाई नजिक ल्याऔँ
भन्नासाथ पार्क वा जङ्गलतर्फ जान सम्भव नहुन सक्छ। तर राम्रो कुरा के भने त्यसै गर्नुपर्छ भन्ने पनि छैन।
विलिसका अनुसार घरकै ससाना प्राकृतिक तत्त्वहरूले पनि फरक पार्न सक्छन्।
सेतो वा पहेँलो रङ्गका गुलाफका फूलले पनि मस्तिष्कलाई अधिक शान्त तुल्याउने किसिमका प्रभाव उत्पन्न गर्छ सक्छन्।
त्यस्तै 'पाइनिन'जस्ता सुगन्धित तेलको वासनाले पनि हामीलाई शान्त तुल्याउन मद्दत गर्न सक्छन्।
त्यो पनि सम्भव नभए जङ्गलको एउटा तस्बिर मात्र पनि लाभदायक हुन सक्छ।
ल्यापटपमा प्रकृतिको तस्बिर हेर्नु वा झ्यालबाट हरियालीतर्फ केहीबेर हेर्नुले पनि मस्तिष्कलाई शान्त तुल्याउन र तनाव कम गर्न मद्दत गर्न सक्ने अध्ययनहरूले देखाएका छन्।
"[प्रकृतिसँग जोडिने] हरेक सानो प्रयासले समेत अवश्य केही न केही फाइदा पुर्याउँछ," प्राध्यापक मिङ कुओ भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।