घरभित्र जुत्ता लगाउनु उचित कि अनुचित?

    • Author, केट बवी
    • Role, वर्ल्ड सर्भिस ग्लोबल हेल्थ
  • Published
  • पढ्ने समय: ५ मिनेट

पहिलोपटक आफ्नी भावी पत्नी सोफियाको घर पुग्दा पेड्या ट्रिफुनोभिच छक्क परे। घरको मुख्य द्वारबाट भित्र पस्दै गर्दा सोफियाले उनलाई जुत्ता नफुकाली प्रवेश गर्न सकिने बताइन्।

"तिमीहरू सुत्ने ठाउँमै जुत्ता लगाएर हिँड्छौँ... मलाई लाग्यो, 'कस्तो नराम्रो कुरा!'", उनले सम्झिए।

सर्बियाका पेड्याको घरभित्र छिर्दा जुत्ता फुकाल्ने बानी थाहा पाउँदा अमेरिकामा हुर्किएकी सोफिया पनि त्यत्तिकै अचम्ममा परिन्।

"मलाई चाहिँ के लाग्यो भने 'के तिमी मेरो खुट्टाको गन्ध घरभरि फैलियोस् भन्ने चाहन्छौ?' म त जुत्ता लगाइराख्छु'," उनले भनिन्।

यी दम्पतीका दुई भिन्न दृष्टिकोणले संसारभरि रहेको एउटा ठूलो सांस्कृतिक बहसलाई प्रतिबिम्बित गर्छन्। उनीहरूले पनि आफ्नो मतभेदबारे सामाजिक सञ्जालमा पोस्ट गरेपछि मात्र यो कुरा महसुस गरे।

यी विषयसम्बन्धी उनीहरूको एउटा टिकटक भिडिओमा व्यापक टिप्पणीहरू आएका छन्, जसमा घरभित्र पेड्याले चप्पल लगाएका छन् भने सोफियाले जुत्ता लगाएकी छन्। कमेन्ट गर्नेमध्ये धेरैले कसको बानी बढी स्वच्छ हो भनेर बहस गरेका छन्।

त्यसो भए सही को हो? घरभित्र जुत्ता लगाउँदा साँच्चै स्वास्थ्य जोखिममा पर्छ?

यसको जबाफ खोज्न बीबीसी वर्ल्ड सर्भिस एउटा 'माइक्रोबायोलजी' प्रयोगशाला पुग्यो।

विश्वव्यापी बहस

तपाईँ घरभित्र हुँदा जुत्ता फुकाल्नुहुन्छ वा लगाइराख्नुहुन्छ भन्ने कुरा धेरै हदसम्म तपाईँ कुन देश वा संस्कृतिमा हुर्किनुभयो भन्नेमा निर्भर हुन सक्छ।

मध्यपूर्व, एशिया र बाल्कन क्षेत्रका अधिकांश देशहरूमा घरभित्र जुत्ता लगाएर पस्नु असभ्य ठानिन्छ। त्यसको विपरीत, युरोप र अमेरिकाका कतिपय भागहरूमा पाहुनालाई जुत्ता फुकाल्न भन्नुलाई नै अशिष्ट ठान्ने पनि हुन सक्छ।

जापानमा घरभित्र जुत्ता लगाउनेबारे अन्यत्रभन्दा केही कडा नियमहरू छन्। अधिकांश घरमा 'गेनकन' भनिने भिन्दै प्रवेशद्वार हुन्छ र त्यहाँबाट भित्र जुत्ता लगाउन पाइँदैन।

यदि कोही आगन्तुकले जुत्ता फुकाल्न बिर्सिएमा "तत्काल कडा प्रतिक्रिया दिइन्छ," एसओएएस यूनिभर्सिटी अफ लन्डनका एन्थ्रपलजी विषयका वरिष्ठ अध्यापक डा. फाबीओ गीगी भन्छन्, "'हैन हैन, पर्खिनुस्, जुत्ता फुकाल्नुस्' भनेर तत्काल तपाईँलाई रोक्छन्।"

उनका अनुसार यसको कारण स्वच्छता मात्र नभइ दार्शनिक सोच पनि हो।

"प्रतीकात्मक रूपमा बाहिरी संसारलाई दूषित, जोखिमपूर्ण र फोहोर मानिन्छ," उनी भन्छन्।

"घरको भित्री स्थान भनेको शुद्ध र सफा राख्नुपर्ने ठाउँ हो। धेरै धार्मिक संस्कारहरू पनि यही शुद्धताको अवधारणामा आधारित छन्।"

जुत्तामा कस्ता ब्याक्टेरिया हुन्छन्?

यसको परीक्षण गर्न यूकेको ब्राइटन शहरमा एक सप्ताहान्तभर लगाइएको एकजोर जुत्तालाई 'माइक्रोबायोलजी' प्रयोगशालामा लगियो।

ब्राइटन विश्वविद्यालयकी माइक्रोबायोलजिस्ट डा. सारा पीटले जुत्ताको माथिल्लो र तलको भागबाट नमुना सङ्कलन गरिन् र 'पेट्री डिश' [प्रयोगशालामा प्रयोग गरिने सानो पारदर्शी भाँडो] मा राखिन्। ती नमुनाहरूलाई रातभर बढ्न दिइयो।

भोलिपल्ट माइक्रोस्कोपबाट हेर्दा त्यसमा धेरै प्रकारका ब्याक्टेरिया भेटिए।

तिनमा 'स्टाफिलोकोकस अउरिअस' पनि थियो, जुन ब्याक्टेरियाले 'स्टाफ' सङ्क्रमण गराउँछ। डा. पिटका अनुसार यो स्वस्थ मानिसका लागि पनि निकै खतरनाक हुन सक्छ।

"यदि तपाईँको छालामा चोट लाग्यो र त्यहाँ यो ब्याक्टेरिया प्रवेश गर्‍यो भने पीप भरिएको ठूलो फोका उठ्न सक्छ," उनले भनिन्।

कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा यसले निमोनिया र रगतमा संक्रमणसमेत गराउन सक्ने उनले बताइन्।

उक्त जुत्तामा 'स्टाफिलोकोकस एपिडर्मिडिस' पनि भेटियो, जुन सामान्यत: मानिसको छालामा हुने ब्याक्टेरिया हो। तर रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा र त्यसमा पनि विशेष गरी अस्पतालमा उपचार गराइरहेका बिरामीहरूमा यसले गम्भीर सङ्क्रमण निम्त्याउन सक्छ।

अन्य अनुसन्धानहरूले जुत्तामा ई. कोलाई जस्ता मलजन्य ब्याक्टेरिया पनि हुन सक्ने देखाएका छन्।

"संसारका विभिन्न ठाउँमा भिन्नभिन्न ब्याक्टेरिया, ढुसी र परजीवीहरू पनि जुत्तामा भेटिन सक्छन्," इन्स्टिट्यूट अफ बायोमेडिकल साइन्सकी प्रमुख समेत रहेकी डा. पिट भन्छिन्।

बाहिरका ब्याक्टेरिया घरभित्र जीवित रहन सक्छन्?

शोधहरूले जुत्ताले बाहिरका ब्याक्टेरियालाई सजिलै घरभित्र ल्याउन सक्ने देखाएका छन्।

"त्यस्ता ब्याक्टेरियाहरू घरभित्र जीवित रहन सक्छन् र परिवारका अन्य सदस्यसम्मलाई सङ्क्रमित तुल्याउन सक्छन् भन्ने पर्याप्त प्रमाणहरू छन्," पीट भन्छिन्।

विशेष गरी न्यानो किसिमका गलैँचाहरूमा तिनीहरू केही दिन वा अझ धेरै समय टिक्न सक्छन्।

त्यतिमात्रै होइन, त्यसमा कोही हिँडेमा केही ब्याक्टेरिया "पुनः सक्रिय" भएर मानिसलाई पुन: सङ्क्रमित तुल्याउन सक्षम हुन सक्छन्।

उदाहरण दिँदै पिट भन्छिन्, "यदि तपाईँ एउटा शिशुसँग गलैँचामा खेल्दै हुनुहुन्छ भने त्यसमा दबाव पर्दा कार्पेटमा रहेका ब्याक्टेरिया फेरि सक्रिय हुन सक्छन्।"

यो जोखिम विशेष गरी शिशु वा वृद्धवृद्धाजस्ता कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूका लागि बढी हुन्छ।

यद्यपि उनी केही सूक्ष्मजीवसँगको सम्पर्कले प्रतिरक्षा प्रणाली विकास गर्न मद्दत गर्न सक्ने स्वीकार्छिन् तर दैनिक जीवनमै हामी विभिन्न प्रकारका ब्याक्टेरियासँग सम्पर्कमा रहने उनको भनाइ छ।

जुत्ता लगाउने कि फुकाल्ने त?

डा. पीटका अनुसार यसको उत्तर 'पेट्री डिश'मै देखिन्छ।

"घरभित्र जुत्ता लगाउनु अशिष्ट मात्र होइन, यसले वास्तविक स्वास्थ्य जोखिम पनि निम्त्याउन सक्छ," उनी भन्छिन्।

"तपाईँ संसारको जुनसुकै ठाउँमा भए पनि घरभित्र पस्नेबित्तिकै जुत्ता फुकाल्नु नै सबैभन्दा उत्तम हुन्छ।"

कुनै कारणले घरभित्र जुत्ता लगाउनै परेमा ढोकामा 'डोरम्याट' प्रयोग गर्ने र घरमा गलैँचा कम राख्ने हो भने ब्याक्टेरियाको मात्रा घटाउन मद्दत पुग्ने उनी बताउँछिन्।

उनका अनुसार, "हप्तामा कम्तीमा एकपटक घर राम्रोसँग सफा गर्नु राम्रो हुन्छ। त्यसबाट ब्याक्टेरिया, धुलो र फोहोर धेरै हदसम्म नियन्त्रणमा हुन्छन्।"

अहिले विवाह गरिसकेका सोफिया र पेड्याले चाहिँ बीचको बाटो रोजेका छन्।

सोफिया भन्छिन्, "मनैबाट त म अझै पनि जुत्ता लगाउन रुचाउँछु। तर म सर्बिया जाँदा त्यहाँ घरभित्रको चप्पल लगाउनै पर्छ भन्ने मलाई थाहा छ।"

अमेरिकास्थित घरमा भने उनी घर भित्रमात्रै लगाउने जुत्ता प्रयोग गर्छिन् जुन बाहिरफेर जाँदा लगाइँदैन।

"मलाई गोडामा जुत्ताको भार महसुस गर्न मन पर्छ, किनकि म त्यसरी नै हुर्किएकी हुँ," उनी भन्छिन्।

अर्कातर्फ, पेड्याले पनि सोफियाका केही बानी अपनाउन थालेका छन्।

"कहिलेकाहीँ हतारमा हुँदा म जुत्ता नफुकाली घरभित्र पस्छु," उनी भन्छन्।

"हामी एकअर्कालाई पूर्ण रूपमा सर्बिअन वा पूर्ण रूपमा अमेरिकी बनाउने प्रयास गरिरहेका छैनौँ," सोफिया भन्छिन्, "हामी दुवैको आ-आफ्नै पहिचान छ र ती दुई संस्कृतिलाई मिलाएर सँगसँगै अघि बढ्ने कोसिसमा छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।