तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, मृतकको सङ्ख्या ९०० नाघ्यो, ४२ सयभन्दा बढी मानिस अझै सम्पर्कविहीन

भोटेकोशी-त्रिशूली बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्न उद्धारकर्ताहरू प्रयासरत छन्। विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेको भन्ठानिएका मानिसहरूसँग अझै सम्पर्क हुन सकेको छैन।

सारांश

  • बाढीले निम्त्याएको विपत्तिमा नेपालमा कम्तीमा ९०० जनाको मृत्यु भएको पुष्टि, सङ्ख्या निरन्तर बढ्दो क्रममा
  • सम्पर्कविहीन भएका मानिसको सङ्ख्या ह्वात्तै बढेर ४,२०० नाघ्यो
  • उद्धारकर्मीहरू जीवित मानिसहरूको खोजी गर्न सङ्घर्षरत
  • जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौँ मानिसलाई उद्धार गर्न प्रयास तीव्र पारिएको अधिकारीहरूको भनाइ
  • रसुवागढीस्थित जलविद्युत् आयोजनाको सुरुङमा कोही पनि फेला नपरेपछि उद्धारकर्मीको टोली फिर्ता
  • नदीमा फेला परेका तर पहिचान नभएका शवहरूको 'अस्थायी व्यवस्थापन' सुरु
  • केरुङ-रसुवागढी नाकामा क्षति पुगेपछि तिब्बतबाट आउने कन्टेनरहरू मुस्ताङको कोरला नाकातिर मोडिँदै

लाइभ कभरेज

  1. बाढीपछि भेटिएका ९०० भन्दा बढी शवमध्ये हालसम्म 'करिब ४% को मात्रै सनाखत'

    भोटेकोशी–त्रिशूली बाढीको छैटौँ दिनसम्म पनि नदीले बगाएका तथा लेदोमा पुरिएका शवहरू भेटिने क्रम जारी रहँदा तीमध्ये पहिचान भएकाको सङ्ख्या भने अत्यन्तै न्यून रहेको अधिकारीहरूले बताएका छन्।

    स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सनाखत भएका शवको सङ्ख्या चार प्रतिशतभन्दा थोरैमात्र बढी रहेको देखिन्छ।

    "[हालसम्मको तथ्याङ्कअनुसार] ७९६ शवमध्ये सनाखत भएका ३७ जति छन्," स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आइतवार साँझसम्मको तथ्याङ्क प्रस्तुत गर्दै भने।

  2. सुरुङ उद्धारमा विदेशी टोलीको पनि सहयोग

    पछिल्लो समयमा खोज तथा उद्धारकार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् केन्द्रका सुरुङहरूमा फसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ।

    सुरुङ उद्धारमा अनुभवप्राप्त विदेशी विशेषज्ञहरूका छुट्टाछुट्टै टोली पनि उद्धारको प्रयासमा खटेको बताइएको छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्।

    माथिल्लो त्रिशूली १, त्रिशूली ३ए, र त्रिशूली ३बी लगायतका आयोजनाका सुरुङहरूमा कैयौँ मानिसहरू फसेको ठानिएको छ।

    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा आज सेनाको नेतृत्वमा खटेको टोली भित्रसम्म पुगेको थियो। तर त्यहाँ कोही फेला नपरेपछि उद्धारकर्ताहरू फर्किएका छन्।

    यसैँबीच सरकारले सुरुङ उद्धार तथा शवहरूको डीएनए पहिचानजस्ता प्राविधिक विषयमा अन्तर्राष्ट्रिय जगत्‌सँग सहयोगका लागि अनुरोध गरेको छ।

  3. 'ग्लेसिअल कोल्याप्स' अर्थात् हिमनदी खण्डित हुनु भनेको के हो

    अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले गत बुधवार नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा एउटा "हिमनदी खण्डित भएको हुनाले" ठूलो बाढी आएको र विनाश निम्तिएको जनाएको छ।

    कुनै हिमनदी वा हिमनदीको एउटा भाग भत्किनुलाई विज्ञहरू अङ्ग्रेजीमा 'ग्लेसिअल कोल्याप्स' भन्छन्।

    यूएसजीएसका अनुसार निकै माथिबाट त्यसरी खण्डित भएको हिमनदी तल एउटा उपत्यकामा बज्रिँदा म्याग्निट्यूड ५.२ को कम्पन रेकर्ड भयो। सुरुमा भूकम्पका कारण उक्त क्षेत्रमा हिमपहिरो गएको ठानिएको थियो।

    हिमपहिरो खसेर थुनिएको खोलामा बनेको ताल अकस्मात् भत्किँदा त्यसबाट तल्लो भेगमा विनाशकारी प्रभाव पर्न गयो।

    तिब्बत हुँदै ठूलो वेगमा आएको बाढीले १०० किलोमिटर तल भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा धनजनको ठूलो क्षति पुर्‍यायो।

  4. फेला परेका शव आफन्तको हो कि होइन छुट्ट्याउन डीएनए परीक्षण गर्न सकिने

    भोटेकोशी र त्रिशूली नदीमा गत साता आएको बाढीपछि फेला परेका शव वा पार्थिव अवशेषबाट नमुना सङ्कलन गरी डीएनए परीक्षण र तुलनाबाट उनीहरूको पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्।

    अहिलेसम्म फेला परेका शवमध्ये थोरैको मात्र सनाखत भएको छ। शवहरू सड्न थालेकाले फेला परेका जिल्लामा स्थानीय प्रशासनले डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरेर "अस्थायी व्यवस्थापन"का लागि जमिनमुनि गाड्न थालेका छन्।

    डीएनए परीक्षणका लागि हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूका “नजिकको रगतको नाता” भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने भन्दै नेपाल प्रहरीले एउटा सूचना जारी गरेको छ।

    त्यसका लागि हराइरहेका व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कोही एक जनाको नमुना सङ्कलनका लागि दुई प्रति पोसपोर्ट साइजको फोटोसहित काठमाण्डूको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ। विदेशमा रहेका व्यक्तिको हकमा बाबु, आमा, छोरा र छोरीमध्ये कोही एक जनाको विदेशमा मान्यताप्राप्त विधिविज्ञान प्रयोगशालामा ‘डीएनए प्रोफाइलिङ’ गरी तुलनाका लागि ‘डीएनए प्रोफाइल’को सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल: dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने प्रहरीले जनाएको छ।

    प्रहरीले निरीक्षक शम्भुबहादुर केसीलाई सम्पर्क अधिकृत तोकेको छ। उनलाई 977-9841616095 मा सम्पर्क गर्न सकिने छ।

    प्रहरीले त्यसका लागि तल लेखिएको जानकारी उपलब्ध गराउन भनेको छ –

    • सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता
    • राहदानी वा परिचयपत्रसँग सम्बन्धित विवरण
    • थाहा छ भने हराएको मिति र स्थान
    • मान्यताप्राप्त विधिविज्ञान प्रयोगशालाबाट गरिएको डीएनए प्रोफाइलिङको प्रतिवेदन
    • डीएनएको नमुना दिएका व्यक्ति र हराएका व्यक्तिबीचको नातासम्बन्ध
  5. खोज तथा राहतबारे प्रधानमन्त्री र रास्वपा सभापतिबीच छलफल

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच बाढीपछि सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाबारे भेटमा छलफल भएको थियो।

    ​“प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभएको छ,” सचिवालयले भनेको छ।

  6. समवेदना व्यक्त गर्न पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावासमा

    पाकिस्तानका राष्ट्रपतिको निर्देशनमा पूर्वसिनेट अध्यक्ष सय्यद नय्यर बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलाङ्गीले नेपालमा बाढीबाट भएको विनाशप्रति राष्ट्रपति एवं पाकिस्तानी जनताका तर्फबाट समवेदना व्यक्त गर्न सोमवार इस्लामाबादस्थित नेपाली दूतावास पुगेका छन्।

    नेपालकी राजदूत रीता धितालले उनीहरूलाई स्वागत गर्दै यस कठिन समयमा पाकिस्तान सरकार र जनताले नेपालप्रति देखाएको ऐक्यबद्धता एवं समर्थनका लागि कृतज्ञता व्यक्त गरेको पाकिस्तानी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    बोखारी र मुर्तजा सोलाङ्गीले दूतावासको आगन्तुकपुस्तिकामा समवेदना र ऐक्यबद्धताको सन्देश लेखेका छन्।

  7. भारतीय रक्षामन्त्रीद्वारा दिल्लीस्थित नेपाली दूतावासमा शोकपुस्तिकामा हस्ताक्षर

    भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमवार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा गएर शोकपुस्तिकामा हस्ताक्षर गरी गत सातामा नेपालमा गएको बाढीमा परी ज्यान गुमाएका मानिसहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

    “भारत सरकार र भारतीय जनताको तर्फबाट म मिति २०८३ भाद्र १० गते अचानक गएको भीषण बाढीबाट भएको बहुमूल्य जीवनको क्षति र ठूलो मात्रामा भएको विनाशप्रति नेपालका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्छु,” उनले लेखेको भारतको रक्षा मन्त्रालयले जनाएको छ।

    “यो दुःखद प्राकृतिक विपत्तिले नेपालका नागरिकहरूका साथै भारतीय नागरिकहरूसहित धेरै विदेशी नागरिकहरूलाई समेत प्रभावित पारेको छ। यस विपत्तिमा ज्यान गुमाउनेहरूका परिवारप्रति हाम्रो समवेदना र प्रार्थना छ।”

    रक्षामन्त्री सिंहले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एक घनिष्ठ मित्र र साझेदार तथा “सुख-दुःखका साथी” का रूपमा भारत सधैँ नेपालको साथमा उभिएको उल्लेख गरेका छन्।

    “यस कठिन समयमा पनिहामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौँ र खोज, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालका प्रयासहरूलाई सहयोग गर्न प्रतिबद्ध छौँ।”

  8. भोटेकोशी-त्रिशूली बाढीपछि नेप्सेमा पहिरो, निर्जीवन बीमा तथा हाइड्रोका कम्पनीहरू धेरै प्रभावित

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमवार ४३.८९ अङ्कले झरेर २,५१० मा ओर्लिएको छ।

    सबभन्दा धेरै प्रभावितमा निर्जीवन बीमा तथा जलविद्युत् कम्पनीहरू परेका छन्।

    निर्जीवन बीमा कम्पनीहरूको समूहको शेअर मूल्य ५ प्रतिशतले खस्किएको छ भने जलविद्युत् कम्पनीहरूको शेअर मूल्य २.९४ प्रतिशतले घटेको छ।

    उत्पादनमूलक समूहका कम्पनीहरूबाहेक बाँकी सबै समूहको शेअर मूल्यमा गिरावट देखिएको छ।

    भदौ १० गतेको भोटेकोशी बाढीले एक दर्जनभन्दा धेरै जलविद्युत् आयोजनाहरू क्षतिग्रस्त भएका छन् भने जनधनको व्यापक नोक्सानी भएको छ।

    भदौ १० गते झन्डै ३६ अङ्कले घटेको थियो भने ११ गते १ अङ्कले घटेको थियो। त्यसपछि तीन दिन बन्द रहेको नेप्सेमा आज सोमवार कारोबार भएको थियो।

  9. विपद्‌ग्रस्त क्षेत्रमा स्वास्थ्य र सरसफाइको अवस्था कस्तो छ?

    जनस्वास्थ्यविद् चिकित्सक डा सन्तोष अधिकारी आइतवार बिहानै बाढीले धेरै प्रभावितमध्येको उत्तरगया गाउँपालिकाको बोगटीटार पुगेर फर्किएका छन्।

    त्यहाँ उनी र उनीसहित गएका चिकित्सक टोलीले देखेको अवस्था र आवश्यकताबारे बीबीसीलाई बताएका छन्।

    “त्यहाँका दुईवटा स्कूलमा रहेका होल्डिङ सेन्टर (आश्रयस्थल)मा एउटामा २५० जना र अर्कोमा ४५ जना मानिसहरू थिए। त्यहाँ खास गरी स्यानिटेशन (सरसफाइ)को अवस्था ठिक नरहेको हामीले पायौँ,” डा अधिकारीले भने।

    “त्यहाँ हामी पुग्दा अत्तालिएको अवस्था त देखेनौँ तर अब उद्धारपश्चात् त्यहाँ खानेपानी र सरसफाइको अवस्था हेर्दा कतै अचानक रोग फैलेला कि भन्ने डर छ।”

    उनको टोलीले स्थानीयवासीहरूलाई पानी सफा गर्न क्लोरिन चक्की प्रयोग गर्न सिकाएको उनले बताए। साथै त्यहाँको स्वास्थ्यचौकीलाई औषधिहरू दिएको पनि उनले बताए।

    “हामीले देखेको अर्को खाँचो चाहिँ त्यहाँ रहेका बालबालिकालाई मनोसामाजिक सहयोग ‍हो।”

    सो क्षेत्रमा रहेको गाउँमा धेरै क्षति पुगेको उनले बताए। त्यहाँका स्वास्थ्यकेन्द्रहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको खाँचो पनि आफूले देखेको उनले बताए।

    भोटेकोशी बाढीका कारण चारवटा सरकारी स्वास्थ्यकेन्द्रमा पूर्ण क्षति पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    रसुवा जिल्लास्थित स्याफ्रुबेँसी स्वास्थ्यचौकी, रसुवा टिमुरे स्वास्थ्यचौकी, रसुवा टिमुरे हेल्थ डेस्क तथा रसुवागढी मैलुङ सामुदायिक स्वास्थ्य एकाइमा पूर्ण क्षति पुगेको छ।

    दुईवटा स्वास्थ्यकेन्द्रमा आंशिक क्षति पुगेको छ। गल्छीस्थित बैरेनी अस्पताल तथा बेनीघाटस्थित चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई आंशिक क्षति पुगेको छ र ती अहिले सञ्चालनमा छैनन्।

    साथै धादिङअस्पताल र त्रिशूली अस्पतालको पहुँच अवरुद्ध रहेको बताइएको छ।

  10. सनाखत हुन नसकेका शवको 'अस्थायी व्यवस्थापन'

    बाढीसँगै गरेर आएका र चितवनमा फेला परेका शवमध्ये निकै कमको मात्रै सनाखत भएको छ। पहिचान भएका शवको अन्तिम संस्कार गर्न आफन्तले लिएर गएका छन्।

    तर बाँकी शवहरू सड्न थालेकाले तिनलाई "जमिनमुनि व्यवस्थापन" गर्न थालिएको अधिकारीहरूले बताएका छन्।

  11. अस्ट्रेलियाको सहयोग नेपाल आउँदै

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजीले अस्ट्रेलियाली सहयोग नेपाल पुग्न लागेको बताएका छन्।

    “बाढी प्रभावित समुदायहरूलाई सघाउन आउँदा दिनमा अस्ट्रेलियाली एअर फोर्सको C-17A विमान मानवीय सहायता, उपकरणहरू एवं सैनिकहरूसहित प्रस्थान गर्ने छ,” अल्बानिजीले सामाजिक सञ्जालमा लेखेका छन्।

    बाढीपछि हराइरहेका अस्ट्रियालीका परिवारजन एवं प्रियजनप्रति सहानुभूति रहेको उनले बताएका छन्।

    “सबैभन्दा धेरै खाँचो रहेको ठाउँमा सहयोग पुर्‍याउन हामीले नेपालसँग मिलेर काम गर्ने छौँ,” प्रधानमन्त्री अल्बानीजीले उल्लेख गरेका छन्।

  12. ड्रोन प्रयोग गरेर खोज्दा पनि रसुवागढी सुरुङमा 'कोही फेला परेनन्'

    रसुवास्थित भोटेकोशी नदीमा गत बुधवार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल)को सुरुङभित्र कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ।

    खोजीका क्रममा उद्धारकर्ताहरूको टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेको बताइएको छ।

    उक्त सुरुङ झन्डै २५० मिटर लामो रहेकोमा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको नेपाली सेनालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।

    तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बुधवार बाढी गएपछि उक्त सुरुङमा केही मानिसहरू फसेको हुन सक्ने ठानिएको थियो।

  13. सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

    प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदी र त्रिशूली नदीमा आएको बाढीका कारण "निम्तिएको सङ्कट समाधान गर्न" सबै सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल गर्न थालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग अहिलेसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनको विषयबारे जानकारी लिएका छन्।

    शाहले सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग र प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छलफल गर्न लागेका छन्।

    बुधवारको विपद्का कारण ९०० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४,२०० जनाभन्दा बढी मानिस सम्पर्कविहीन भएका छन्।

    विभिन्न स्थानमा फसेका भन्ठानिएका मानिसहरूको उद्धार गर्ने प्रयास जारी रहेको सरकारी निकायहरूले बताएका छन्।

    खोज, उद्धार तथा राहत वितरणका लागि २०,८०० भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

  14. रसुवागढीमा क्षति पुगेपछि तिब्बतबाट आउने कन्टेनरहरू मुस्ताङतिर

    बुधवारको बाढीका कारण रसुवागढी र केरुङ क्षेत्रमा ठूलो क्षति पुगेपछि उक्त नाका हुँदै तिब्बतबाट नेपाल पैठारी गर्न लागिएका मालवस्तु र कन्टेनरहरू मुस्ताङको कोरला नाकातर्फ ‘डाईभर्ट’हुन थालेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राससका अनुसार मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोस्टबाट आइतवार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ।

    सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ।

    कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो।

  15. जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूलाई उद्धार गर्ने प्रयासको समन्वय भइरहेको ठाउँमा जे देखियो, अशोक दाहाल र कमल परियार, नुवाकोटको बट्टारबाट

    हामी अहिले नुवाकोटको बट्टारमा छौँ।

    नेपाली सेनाको यहाँस्थित ब्यारेकबाट विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेको ठानिएका मानिसहरूलाई उद्धार गर्ने प्रयासको समन्वय हुँदै छ। ती सुरुङमा ठूलो सङ्ख्यामा मानिसहरू फसेको र उनीहरू जीवितै रहेको हुन सक्ने ठानिएको छ।

    हामी उद्धारको प्रयासबारे ताजा जानकारी पाउने प्रतीक्षामा छौँ।

    काठमाण्डूबाट बिहान निस्किएर यहाँ आइपुग्नुअघि बाटोमा हामीले उद्धारकर्ताहरू, अन्तर्राष्ट्रिय सहायताकर्मीहरू र स्वास्थ्यकर्मीहरूलाई बाढीबाट प्रभावित स्थानतिर जाँदै गरेको देख्यौँ।

    राहत सामग्री बोकेर आउने सवारीसाधनहरू पनि बाटोमा उल्लेख्य सङ्ख्यामा थिए।

    ब्यारेकबाट उद्धारकर्मीहरू र राहत सामग्री लिएर प्रभावित स्थानतिर हेलिकप्टरहरू पनि जाँदै छन्।

    बाढीबाट प्रभावित स्थानहरूबाट उद्धार गरेर ल्याइएका मानिसहरूलाई सेनाले यहाँ स्वास्थ्योपचारको व्यवस्था गरेको पनि देखिन्छ।

  16. 'चाउचाउ, बिस्कुटभन्दा पनि हामीलाई बास चाहियो'

    बाढीका कारण विस्थापित भएका मानिसहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओमा।

  17. मृतकको सङ्ख्या ९०० भन्दा बढी, ४२ सयभन्दा बढी मानिस अझै सम्पर्कविहीन

    भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमवार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    शवहरू आठवटा विभिन्न जिल्लामा फेला परेका हुन्।

    • रसुवा - २४
    • नुवाकोट – ९५
    • धादिङ – ५५
    • गोरखा - ६२
    • चितवन - २७२
    • तनहुँ - ३७
    • नवलपरासी पूर्व - २०७
    • नवलपरासी पश्‍चिम - १५१

    प्राधिकरणका अनुसार बाढीपछि सम्पर्कविहीन भएका मानिसको सङ्ख्या ४,२४७ पुगेको छ। तिनमा विदेशी पर्यटक, सुरक्षाकर्मी र विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी पनि छन्।

    हिजो साँझ प्राधिकरणले दिएको विवरणमा मृतकको सङ्ख्या ७८१ र सम्पर्कविहीन मानिसको सङ्ख्या २,५०२ उल्लेख थियो।

    हालसम्म १०,४०० जनाभन्दा बढीको उद्धार गरिएको पनि प्राधिकरणले जनाएको छ।

    खोजी तथा उद्धारका निम्ति २०,८०० भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको उक्त सरकारी निकायले बताएको छ।

  18. बाढीबाट प्रभावित ब्याङ्कबाट नगद र सुन सुरक्षित रूपमा बाहिर निकालियो

    नेपाल प्रहरीले त्रिशूलीको ढुङ्गेस्थित कृषि विकास ब्याङ्कबाट झन्डै १.५ करोड रुपैयाँ नगद र अनुमानित ५० करोड रुपैयाँको सुन तथा महत्वपूर्ण कागजपत्र सुरक्षित स्थानमा सारिएको जनाएको छ।

    भोटकोशी नदी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढी उक्त शाखा पनि छिरेको थियो।

    प्रहरीले आइतवार साँझ सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गर्दै उक्त कार्यका लागि आठ घण्टा लागेको जनाएको छ।

  19. सुरुङभित्र कयौँ दिनदेखि फसेका हुन सक्नेहरूको खोजी जारी

    हजारौँ उद्धारकर्मीहरूले रसुवा जिल्लाका जलविद्युत् आयोजनाका सुरुङभित्र कैयौँ दिनदेखि फसेका हुन सक्ने मानिसहरूको खोजी गरिरहेका छन्।

    यसैबीच, तिब्बतको सीमा नजिकै पहिरोका कारण बनेका नयाँ ताललाई लिएर पनि चिन्ता बढेको छ।

    त्यहाँ पानीको सतहको अवस्था मूल्याङ्कन भइरहेकाले केही उद्धार टोलीलाई फिर्ता बोलाइएको अधिकारीहरूले बताएका छन्।

  20. शवको सामूहिक व्यवस्थापन आज पनि जारी

    बुधवार आएको बाढीमा ज्यान गुमाएका मानिसहरूको सामूहिक शव व्यवस्थापन गर्ने क्रम सोमवार पनि जारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

    अधिकारीहरूका अनुसार पहिचान हुन नसकेका शवबाट डीएनए नमुना सङ्कलन भइरहेको र ती नमुनालाई परिवारका सदस्यहरूको डीएनएसँग मिलाएर मृतकको पहिचान गरिने छ।

    चितवनमा सङ्कलन भएका २७२ शव मध्ये १० वटा परिवारले बुझेपछि २६२ को सामूहिक व्यवस्थापन गर्न लागिएको हो।

    त्यसमध्ये १९९ शवको व्यवस्थापन आइतवार गरिएको र बाँकी शवको व्यवस्थापन सोमवार गरिने अधिकारीहरूले बताएका हुन्।