बाढीबाट रु. ३ खर्ब ८७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी-त्रिशूली बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिहीवार साँझ काठमाण्डूमा आयोजित प्रेस ब्रीफिङका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले क्षतिको प्रारम्भिक आँकडा सार्वजनिक गरेका हुन्।

"भवन, सडक, दूरसञ्चार, कृषि, चौपाया सबैको हेर्दा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँबराबरको क्षेत्रगत क्षति भएको एकदमै प्रारम्भिक तथ्याङ्क आएको छ," उनले भने।

उप्रेतीका अनुसार सबै क्षेत्रमा 'अर्ली रिकभरी' का लागि अनुमानित ७ अर्ब ९५ करोड रुपैयाँ लाग्न सक्ने देखिएको छ।

यद्यपि विपद्‌पछिको विस्तृत अध्ययनबाट विनाशकारी बाढीले पुर्‍याएको पूर्ण क्षतिको वास्तविक तस्बिर आउने अधिकारीहरूले बताएका छन्।

भदौ १० गते नेपाल-चीन सीमामा आएको भीषण बाढीले सडक पूर्वाधारदेखि सञ्चार, जलविद्युत्‌‌लगायत क्षेत्रमा व्यापक क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार बाढीका कारण ७,५००भन्दा बढी निजी घरहरू क्षतिग्रस्त भएको अनुमान छ।

रसुवादेखि नुवाकोट, धादिङसहितका जिल्लामा भएको भएको क्षतिको स्तर हेर्दा पुनर्निर्माणमा नेपाललाई लामो समय लाग्न सक्ने विज्ञहरूले बताइरहेका छन्।

मानवीय क्षति

अघिल्लो बधुवार आएको बाढीले प्रभावित तुल्याएका क्षेत्रबाट १२,००० भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले बिहीवार साँझ दिएको जानकारीअनुसार करिब ६०० जना विदेशीसहित झन्डै ५,१०० नागरिकको खोजी कार्य जारी छ।

उनका अनुसार खोज, उद्धार राहत तथा उपचारमा २१,००० जनाभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन्।

प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत्‌ आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धार प्रयास जारी रहेको बताए।

"टनेल अपरेशन (सुरुङभित्रको खोजी कार्य) लाई हामीले जारी नै राखेका छौँ। अझै पनि केही आशा छ। जीवितै उद्धार होस् भनी कामना पनि हामी गर्छौँ," उनले भने।

अहिले धेरैको चासो कैयौँ व्यक्तिहरू फसेको भनिएका जलविद्युत्‌ आयोजनाहरूमा भइरहेको उद्धार प्रयासमा केन्द्रित भएको पाइन्छ।

जलविद्युत् आयोजनाका सुरुङ र त्यसभित्र रहेका उत्पादन केन्द्रहरूमा मानिसहरू थुनिएको नौ दिन बितिसक्दा अहिलेसम्म चार जनाभन्दा बढीको जीवित उद्धार गर्न नसकिएको अधिकारीहरूले स्वीकारेका छन्।

जलविद्युत् आयोजनाका सुरुङ संरचनाभित्रबाट तीन वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ।

बिहीवार लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट थप दुई जनाको शव निकालिएको आयोजनाका प्रवर्धकले बताएका छन्।

शोक मनाउने घोषणा

विनाशकारी बाढीमा परी ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढिरहँदा नेपाल सरकारले आउँदो सोमवार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ २२ गते बाढी आएको १३औँ दिन पुग्ने छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त दिन स्वदेश तथा विदेशमा रहेका नेपाल सरकारका कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

"भदौ १० गते नेपाल-चीन सिमानामा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३औँ दिनको पुण्यतिथिका दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने र उक्त दिन नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास तथा नियोगहरूको राष्ट्रिय झण्डा आधा झुकाउने," पोखरेलले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।