क्रूज जहाजमा सङ्क्रमण फैलिएको आशङ्का, हान्टा भाइरसबारे हामीलाई के थाहा छ

तस्बिर स्रोत, AFP via Getty Images
विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्यूएचओ) ले आन्ध्र महासागरमा यात्रा गरेको एउटा पानीजहाजमा हान्टा भाइरसको सम्भावित प्रकोपका कारण तीन जनाको मृत्यु भएको बीबीसीलाई बताएको छ।
डब्ल्यूएचओका अनुसार एक जनामा सङ्क्रमणको पुष्टि भएको छ भने बिरामी परेका अन्य पाँच जनामा पनि सङ्क्रमण भएको आशङ्का गरिएको छ। अधिकारीहरूले त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।
आर्जेन्टिनाबाट केप भर्ड गएको एमभी होन्डिअस नामक उक्त क्रूज जहाजमा हान्टा भाइरस फैलिएको आशङ्का गरिएको हो। दक्षिण अफ्रिकी अधिकारीहरूका अनुसार उक्त जहाजमा विभिन्न देशका १५० जति पर्यटक सवार थिए।
सो जहाज टूर कम्पनी ओशनवाइड एक्सपिडिशन्सले सञ्चालन गर्छ। सो कम्पनीको वेबसाइटमा प्रकाशित विवरणअनुसार २० मार्चमा आर्जेन्टिनाको उस्वाइआबाट प्रस्थान गरेको उक्त पानीजहाज ४ मे मा केप भर्डमा पुगेको छ।
दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा ६९ वर्षीया एक ब्रिटिश महिलालाई उपचारका लागि भर्ना गरिएको छ। सेन्ट हेलेनाबाट असेन्शन द्वीपतिर जाने क्रममा उनी बिरामी परेकी थिइन्।
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार "प्रयोगशालामा गरिएको परीक्षणको नतिजाले उनलाई हान्टा भाइरस भएको देखाएको छ।" ती व्यक्तिलाई असेन्शनस्थित अस्पतालबाट जोहानेस्बर्गस्थित अस्पतालमा सारिएको छ।
जहाजमा बिरामी परेका एक डच दम्पतीको मृत्यु भएको दक्षिण अफ्रिकी अधिकारीहरूले गरेका छन्। जहाज सेन्ट हेलेना टापु आइपुग्दा ७० वर्षीय व्यक्तिको मृत्यु भएको थियो भने उनकी ६९ वर्षीया पत्नीको जोहानेस्बर्गस्थित अस्पतालमा मृत्यु भयो। मृत्यु भएका अर्का एक व्यक्ति पनि नेदरल्यान्ड्सकै नागरिक भएको अधिकारीहरूले बताएका छन्। उनी उक्त दम्पतीसँग "निकट" मानिएको छ।
ओशनवाइड एक्सपिडिशन्सका अनुसार चालकदलका दुई सदस्यलाई पनि आकस्मिक उपचार गर्नुपरेको थियो। तर केप भर्डका अधिकारीहरूले ती दुईलाई जहाजबाट बाहिर निस्किने अनुमति दिएका छैनन्।
"सबै यात्रुहरूलाई जहाजबाट ओराल्न र चिकित्सकीय स्क्रीनिङ गर्नका लागि स्थानीय स्वास्थ्य अधिकारीहरूसँग समन्वय गर्नुपर्छ। हामी उनीहरूसँग परामर्शमा छौँ," ओशनवाइड एक्स्पिडिशन्सले भनेको छ।
'विस्तृत अध्ययन जारी'

तस्बिर स्रोत, AFP via Getty Images
डब्ल्यूएचओका अनुसार हान्टा भाइरस सङ्क्रमणको सम्बन्ध सामान्यतया पर्यावरणीय कारक तत्त्वहरूसँग हुन्छ।
सङ्क्रमित मुसा र अन्य जीवको मलमूत्रसँग संसर्ग हुँदा मानिसलाई पनि हान्टा भाइरस सर्ने सम्भावना हुन्छ।
कहिलेकाहीँ दुर्लभ अवस्थामा पनि सो भाइरस मानिसबाट मानिसमा सर्न सक्छ। त्यसो हुँदा "श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या" हुन्छ।
हान्टा भाइरस सङ्क्रमण हुँदा बिरामीलाई "सावधानीपूर्वक निगरानी, सहयोग र उपचार" आवश्यक हुने डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओले पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण फैलिएको हुन सक्ने घटनाबारे "विस्तृत अनुसन्धान र प्रयोगशालामा थप परीक्षण भइरहेको" बीबीसीलाई बताएको छ।
"यात्रु र चालकदललाई चिकित्सासेवा र सहयोग प्रदान गरिएको छ। भाइरसको सीक्वन्सिङ पनि चलिरहेको छ," डब्ल्यूएचओले भनेको छ।
सङ्क्रमण अझ फैलिने जोखिम कति?

तस्बिर स्रोत, Oceanwide Expeditions
"डब्ल्यूएचओले सदस्यराष्ट्रहरू र जहाजका सञ्चालकहरूबीच लक्षण देखा परेका दुई यात्रुहरूको स्वास्थ्य उद्धारको निम्ति समन्वय गरिरहेको छ, साथै जहाजका बाँकी यात्रुहरूलाई सहयोग पुर्याइरहेको र पूर्ण जनस्वास्थ्य जोखिम मूल्याङ्कन गरिरहेको छ।"
सूक्ष्मजीववैज्ञानिक सूजी वाइल्सका अनुसार हान्टा भाइरस थरीथरीका ठाउँमा फेला पर्छ र यसको प्रकोप प्रायः छिटपुट र "सानो" हुन्छ अनि अन्ततः बिस्तारै हराउने गर्छ।
उनले मानिसहरू कसरी यो भाइरसको सम्पर्कमा पुग्छन् भन्ने स्पष्ट नभएको बीबीसीलाई बताइन्।
"मानिसबाट मानिसमा सर्ने घटना निकै दुर्लभ हुन्छ, वास्तवमा चिकित्सा अभिलेखमा यो वास्तविक हो कि होइन भन्ने बहस छ," उनी भन्छिन, "के मानिसहरूको समूह सङ्क्रमित मुसाजस्ता जीवको सम्पर्कमा आउँछ वा एउटा मानिस सम्पर्कमा आएपछि अरूमा सर्छ भन्ने प्रश्न छ।"
उनका भनाइमा खाद्यपदार्थ हान्टा भाइरसबाट दूषित भएको हुन सक्छ।
मानिसहरू हान्टा भाइरसको सम्पर्कमा पुग्ने र लक्षणहरू देखा पर्ने समयावधि एकदेखि आठ सातासम्म हुन सक्ने उनले बताइन्।
"सङ्क्रमणको लक्षण बढ्ने यो अवधिलाई विचार गर्दा आगामी दिनहरूमा सङ्क्रमित मानिसहरूको सङ्ख्या थपिएला?"
गत वर्ष मार्च महिनामा चर्चित अभिनेता जीन ह्याक्मनकी पत्नीको मृत्यु हान्टा भाइरससँग सम्बन्धित श्वासप्रश्वासको समस्याका कारण भएपछि उक्त भाइरस चर्चामा आएको थियो।
उपचार के हो?
हान्टा भाइरस सङ्क्रमणको निश्चित उपचार छैन।
अमेरिकी स्वास्थ्य निकाय सेन्टर्स फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले लक्षणहरू हेरेर स्याहारसुसार गर्न सिफारिस गरेको छ। त्यसमा अक्सिजन थेरपी, मेकनिकल भेन्टिलेशन, भाइरसविरुद्धको औषधि र डायालसिस पर्छन्।
गम्भीर लक्षण भएका बिरामीहरूलाई आईसीयूमा भर्ना गर्नुपर्ने हुन सक्छ। गम्भीर अवस्थाका बिरामीहरूलाई सास फेर्न सजिलो बनाउन मुख वा नाकमा ट्यूब जडान गर्नुपर्ने हुन्छ।
सङ्क्रमणबाट जोगिने उपायका रूपमा सीडीसीले निवास वा कार्यस्थलमा मुसाजस्ता जीवहरू छिर्न नसक्ने व्यवस्था मिलाउन सिफारिस गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























