इमरान खानको आफू 'जीवितै नफर्कन सक्ने' चिन्ता, तत्काल स्वास्थ्योपचार माग गर्दै पाकिस्तानको जेलबाट पत्र

इमरान खान
    • Author, क्यारोलिन डेभिस
    • Role, पाकिस्तान संवाददाता
    • Author, केली एनजी
  • Published
  • पढ्ने समय: ३ मिनेट

पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र आफ्नी श्रीमतीको स्वास्थ्य बिग्रँदै गएको भन्दै तत्काल उपचार माग गरेका छन्।

क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानले आफ्ना वकिल सलमान सफदरमार्फत् सार्वजनिक गरेको एक पत्रमा लेखेका छन्: "७४ वर्षे उमेरमा निरन्तरको यस कठिन अवस्थाले मलाई त्यस्तो मोडमा पुर्‍याउँदै छ जहाँबाट म जीवितै नफर्किन सक्छु।"

बीबीसी उर्दूका अनुसार उक्त चिठी उनले सर्वोच्च अदालत, सङ्घीय संवैधानिक अदालत र इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीशलाई लेखेका छन्।

इस्लामाबादस्थित अधिकारीहरू भने खानको हरेक हप्ता चिकित्सकद्वारा जाँच हुने गरेको र उनको स्वास्थ्य अवस्था "सन्तोषजनक" रहेको बताउँछन्।

एक सय भन्दा धेरै मुद्दाहरूको सामना गरिरहेका खान सन् २०२३ को अगस्टयता जेलमा छन्। उनकी श्रीमती बुशरा बिबीलाई पनि गत वर्ष जेल चलान गरिएको थियो।

खानले आफूहरूविरुद्ध लगाइएका भ्रष्टाचारदेखि राज्यका उपहारहरू बेचेका भनिएकासम्मका मुद्दाहरू राजनीतिक रूपमा प्रेरित रहेको दाबी गर्दै आएका छन्।

चिन्ता

पछिल्लो एक वर्षमा खानको स्वास्थ्यलाई लिएर चिन्ता बढेको छ। उनका परिवारका अनुसार जेल प्रशासनले समयमै कदम नचाल्दा खानको दाहिने आँखाको दृष्टि लगभग गुमेको छ।

आफ्नो पत्रमा खानले उल्लेख गरेअनुसार चिकित्सकहरूले उनलाई "ब्रेन हेमोरेज र हृदयाघातको उच्च जोखिम" रहेको बताएका छन्।

र आफ्नो मुटुमा पहिले नै "क्षति पुगिसकेको" उनीहरूले बताएको खानले लेखेका छन्।

उनले आफ्नी श्रीमती बुशरा बिबीको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्।

खानका अनुसार एप्रिल महिनामा बुशराको आँखामा 'डिट्याच्ड रेटिना' समस्या थियो र गोप्य रूपमा उनको शल्यक्रिया गरिएको थियो। खानले थप शल्यक्रिया नगरिएमा उनले आफूले दृष्टि गुमाउन सक्ने भय व्यक्त गरेका छन्।

उनले लेखेका छन्: "मैले अनगिन्ती मुद्दाहरूमा असम्भव लाग्ने कानुनी लडाइँहरू लडेको छु र म अझै रोकिएको छैन। तर यस प्रणालीले मलाई न्याय दिन बन्द गरेको छ।"

मानसिक स्वास्थ्यमा 'गम्भीर असर'

इमरान खानकी श्रीमती बुशरा बिबी पनि गत वर्षयता उनीसँगै जेलमा छन्
तस्बिरको क्याप्शन, इमरान खानकी श्रीमती बुशरा बिबी पनि गत वर्षयता उनीसँगै जेलमा छन्

उनले आफूलाई दिनको २२ घण्टासम्म एकान्त कारावासमा राखिएको बताएका छन्। त्यहाँ उनलाई परिवारका सदस्यहरूसँग भेट्न दिइँदैन। पुस्तक वा टेलिभिजनको पहुँच समेत हुँदैन।

उक्त अवस्थाले आफ्नो मानसिक स्वास्थ्यमा "गम्भीर असर" पारेको खानले बताएका छन्।

उनले गत एक वर्षको अवधिमा आफ्ना वकिलहरूलाई कुल चार पटक मात्र भेट्न पाएको दाबी पनि गरेका छन्।

"म जीवित रहे मात्र आफ्नो निर्दोषता प्रमाणित गर्न सक्ने छु," उनले लेखेका छन्।

पाकिस्तानका संसदीय मामिला मन्त्री तारिक फजल चौधरीले ती दाबीहरूको खण्डन गर्दै खानलाई जेलमा "आफूले रोजेको खानालगायत सबै प्रकारका सुविधा उपलब्ध गराइएको" बताएका छन्।

"हाल उनी पाकिस्तानमा सबैभन्दा राम्रो सुविधा पाएका कैदी हुन्," मन्त्री चौधरीले पत्रकारहरूलाई भने।

अधिकारीहरूका अनुसार एक साताअघि खानलाई आँखामा सुई लगाउन सरकारी अस्पताल लगिएको थियो जहाँ चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था "स्थिर" रहेको बताएका थिए।

पाकिस्तानमा अझै प्रभावशाली छन् खान

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका खानले सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्रीका रूपमा काम गरेका थिए।

सन् २०२३ को मे महिनामा भएको आफ्नो गिरफ्तारीयता उनका समर्थकहरूले व्यापक र हिंस्रक प्रदर्शनहरू गरेका थिए।

लाहोरमा उनीहरूले 'कोर कमान्डर'को निवासमा तोडफोड गर्दै झूमरहरू फुटाउनुका साथै फर्निचर, चित्रकलाका सामग्री तथा मयूरसमेत लिएर गएका थिए।

ती प्रदर्शनहरूमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने हिंसा नियन्त्रणमा लिन सेना परिचालन गर्नुपरेको थियो।

जेलमा रहे तापनि खान पाकिस्तानी राजनीतिमा अझै एक प्रभावशाली व्यक्ति हुन्।

अक्टोबरको सुरुतिर उनका हजारौँ समर्थकहरूले खानको रिहाइ माग गर्दै सडकमा उत्रिएर लामो मार्च गरेका थिए।

त्यसपछि अधिकारीहरूले ती प्रदर्शनहरू दबाउन कडा कदम चाले र खानको दलको बलियो पकड रहेको खैबर पख्तुनख्वा प्रान्तमा सङ्कटकाल घोषणा गरे।

हालैका महिनाहरूमा अन्तर्राष्ट्रिय क्रिकेटका पूर्वकप्तानहरूले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई पटक-पटक आग्रह गर्दै खानलाई उचित चिकित्सा सेवा उपलब्ध गराउन जोड दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।