तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वाशिङ्टन डीसी गोलीकाण्डका सन्दिग्धविरुद्ध ट्रम्पको हत्या प्रयास गरेको अभियोग
- Author, शाइमा खलिल (अदालत), क्वासी ग्याम्फि असेडु (अदालत) र रेगन मोरिस (क्यालिफोर्निया)
- पढ्ने समय: ४ मिनेट
ह्वाइट हाउसको सुरक्षा पुनरवलोकन निम्त्याएको एउटा घटनामा क्यालिफोर्नियाका एक जना पुरुषलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोग लगाइएको छ।
३१ वर्षका कोल टोमस एलनलाई सोमवार वाशिङ्टन डीसीस्थित अदालतमा उपस्थित गराइएको थियो जहाँ उनलाई दुईवटा हतियारसँग सम्बन्धित कसुरमा पनि अभियोग दर्ता गरिएको छ। उनले आफ्नो भनाइ राखेका छैनन्।
अभियोजनकर्ताहरूका अनुसार शनिवार ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरस्थलको सुरक्षा जाँच बिन्दुमा पुग्दा उनले एउटा अर्ध स्वचालित ह्यान्ड गन, एउटा पम्प एक्शन शर्ट गन र तीन वटा चक्कुहरू बोकेका थिए।
होटेलमा भएको आक्रमणका क्रममा एक जना सिक्रेट सर्भिस एजेन्टलाई गोली लागेको थियो तर उनलाई गम्भीर चोटपटक नलागेको अधिकारीहरूले जानकारी दिएका छन्।
दोषी प्रमाणित भएको खण्डमा आरोपितलाई आजीवन जेल सजाय हुन सक्छ।
अदालतमा के भयो?
निलो जम्पसुट र नाम लेखिएको एउटा ट्याग भएको पोशाकमा उपस्थित भएका सन्दिग्ध बन्दुकधारी सोमवार अदालतमा शान्त देखिएका थिए।
न्यायाधीशले सोधेका सबैजसो प्रश्नको उत्तर उनले शान्तिपूर्वक 'हो श्रीमान्' वा 'होइन श्रीमान्' भन्दै दिएका थिए।
अदालतमा उनले आफ्नो उमेर बताए र आफूसँग 'मास्टर्स' डिग्री रहेको जनाए।
तीन जना अमेरिकी मार्सलहरू उनको पछाडि उभिएका थिए र एक जना उनको छेउमा उभिएका थिए। यो मुद्दालाई वाशिङ्टन डीसीकी न्यायाधिवक्ता जनिन पिअरोले हेरिरहेकी छन्।
शनिवार रातिको घटनामा गोली चलेपछि वाशिङ्टन हिल्टन होटलको बलरुमबाट राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जे डी भान्स, मन्त्रिपरिषद्का सदस्यहरू र अरू ह्वाइट हाउसका अधिकारीहरूलाई तत्काल उद्धार गरिएको थियो।
ती सन्दिग्ध व्यक्ति बेसमेन्टमा रहेको कार्यक्रमस्थलभन्दा एक तलामाथिको जाँच बिन्दुबाट हतारिएर अघि बढ्न खोजेको भनिएको छ।
अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले सोमवार एउटा पत्रकार सम्मेलनमा भने, "एक जना सिक्रेट सर्भिसका एजेन्टलाई छातीमा गोली लागेको थियो तर उनले बलिस्टिक भेस्ट लगाएका थिए जसले काम गर्यो।"
उनले थपे, "आक्रमण खेपेका ती साहसी अफिसरले एलनमाथि पाँच पटक गोली चलाए। उनलाई गोली लागेन। तर उनी भुईँमा लडे र तत्कालै पक्राउ गरियो।"
ब्लान्चले सन्दिग्धले कम्तीमा एकचोटी आफूसँग भएको शर्टगन चलाएको ठानिएको पनि बताएका थिए।।
ती सिक्रेट सर्भिस एजेन्टलाई सन्दिग्धले नै गोली प्रहार गरेको वा उनी अन्य कानुन कार्यान्वयन निकायको 'क्रस फायर' मा परेका हुन् भन्ने स्पष्ट छैन। तर उनी अस्पतालबाट फर्किसकेको जनाइएको छ।
क्यालिफोर्नियाको प्रसिद्ध इन्स्टिट्यूट अफ टेक्नोलोजीमा अध्ययन पूरा गरेका ती सन्दिग्धले लस एन्जलस क्षेत्रको पासाडेना युनाइटेड रिफर्म्ड चर्चमा प्रार्थना गर्ने गरेका थिए।
सङ्घीय चुनावी वित्तीय अभिलेखहरूले सन् २०२४ मा उनले कमला ह्यारिसको समर्थनमा डेमोक्रयाटिक पार्टीको पोलिटिकल एक्सन कमिटीलाई २५ डलर चन्दा दिएको देखाउँछ।
सोमवारको पत्रकार सम्मेलनमा पिरोले ती सन्दिग्धले हमला पूर्व परिवारका सदस्यहरूलाई लेखे अनुसार उनको उद्देश्य आफूले सकेसम्म धेरै उच्चपदस्थ क्याबिनेट सदस्यहरूलाई समाप्त पार्नु रहेको बुझिन्छ।
अदालतमा प्रस्तुत कागजपत्र अनुसार, आरोपितले आफ्ना आफन्तहरूलाई लेखेका छन्, "प्रशासनका अधिकारीहरू…. लक्ष्य हुन्, उच्च पदस्थदेखि तल्लो दर्जासम्म प्राथमिकताका आधारमा।"
"वास्तवमै आवश्यक परेमा लक्ष्यसम्म पुग्न यहाँ रहेका प्रायः सबैलाई छिचोल्दै जान म तयार छु,' उनले यस्तो लेखेको आरोप लगाइएको छ।"
राष्ट्रपतिको सुरक्षाबारे समीक्षा
अभियोजकहरूले एलनलाई थुनामा राख्न माग गरेका छन्। हत्याको प्रयासलाई आतङ्कवाद मान्न सकिने उनीहरूको तर्क छ। पिरोले अझै अभियोगहरू दर्ता हुन सक्ने बताएकी छन्।
कानुन कार्यान्वयन निकायसम्बद्ध स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीसी न्यूजलाई एलनले अनुसन्धानकर्ताहरूलाई नसघाइरहेको जानकारी दिएको छ।
अनुसन्धानकर्ताहरूले राष्ट्रपति ट्रम्पमाथि तेस्रो पटक भएको भनिएको हत्या प्रयासबारे अनुसन्धान गरिरहँदा सुरक्षा अधिकारीहरूले राष्ट्रपतिको सुरक्षा प्रोटोकलहरूको पनि समीक्षा गरिरहेका छन्।
धेरैले वाशिङ्टनको हिल्टन होटलको बाहिरी सुरक्षा पर्याप्त रूपमा बलियो रहे या नरहेको प्रश्न उठाएका छन्। कतिपय सहभागीहरूले आफूहरूलाई कार्यक्रमस्थलमा परिचयपत्र देखाउन नभनिएको उल्लेख गरेका छन्। साथै किन राष्ट्रपति, उपराष्ट्रपति र उनीहरूपछि सत्ता उत्तराधिकारीको जिम्मेवारीमा रहने सबै जना एकै ठाउँमा भेला भएका थिए भनेर प्रश्न गरेका छन्।
सोमवारको पत्रकार सम्मेलनमा ब्लान्चले उक्त कार्यक्रमस्थलमा सुरक्षा निकाय विफल नभएको बताए।
उनले बन्दुकधारी एक तलामाथि रहेकोमा 'प्रस्ट हुनुपर्ने' भन्दै 'उनी र राष्ट्रपतिको बीचमा सयौँ सङ्घीय एजेन्टहरू रहेको' पनि उल्लेख गरेका थिए।
ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले उच्च पदस्थ सरकारी अधिकारीहरूलाई सुरक्षा दिने डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटि अन्तर्गतको सिक्रेट सर्भिसको नेतृत्वको 'पक्षमा' ट्रम्प उभिएको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।