नेपालसँग भएको विदेशी मुद्राको भण्डार अहिलेसम्मकै उच्च - फाइदा के, बेफाइदा के

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
नेपालमा हालसम्मकै धेरै परिमाणमा विदेशी मुद्रा सञ्चिति र रेमिटन्स अर्थात् विप्रेषण आप्रवाह भएको नेपाल राष्ट्र ब्याङ्कको ताजा तथ्याङ्कले देखाएको छ।
केन्द्री ब्याङ्कका अनुसार गत जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ नाघेको छ।
सो अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी पुगेको देखिन्छ।
विज्ञहरूले विदेशी मुद्रा सञ्चिति बढ्नुका सकारात्मक र नकारात्मक दुइटै पाटो रहेको औँल्याएका छन्।
उनीहरूले देशमा ठूल्ठूला परियोजनाहरू अगाडि नबढेसम्म विदेशी मुद्राको भण्डार खासै घट्ने सम्भावना नरहेको बताएका छन्।
अवस्था के छ?
केन्द्रीय ब्याङ्कले कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले बढेर २०८३ सालको जेठ मसान्तसम्म ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको जनाएको छ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार २०८२ सालको असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो।
अमेरिकी डलरमा उक्त सञ्चिति २०८२ सालको असार मसान्तसम्म १९ अर्ब ५० करोड रहेकोमा २०८३ सालको जेठ मसान्तसम्म २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र ब्याङ्कमा रहेको सञ्चिति २०८२ सालको असार मसान्तसम्म रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ सालको जेठ मसान्तसम्म ३७.९ प्रतिशतले वृद्धि भई रु ३३ खर्ब ३० अर्ब ७ करोड पुगेको छ।

तस्बिर स्रोत, NRB
राष्ट्र ब्याङ्कबाहेक अन्य ब्याङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति विसं २०८२ असार मसान्तसम्म रु २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ सालको जेठ मसान्तसम्म ६१.८ प्रतिशतले वृद्धि भई रु ४ खर्ब २५ अर्ब ५७ करोड पुगेको उसले जनाएको छ।
विसं २०८३ जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको केन्द्रीय ब्याङ्कले उल्लेख गरेको छ।
"आर्थिक वर्ष २०८२/०८३ को ११ महिनासम्मको आयातलाई आधार मान्दा ब्याङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यो हालसम्मकै उच्च हो," राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बीबीसी न्यूज नेपालीसँग भने।
विसं २०८३ जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५ प्रतिशत, १५९.५ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन्।
राष्ट्र ब्याङ्कका अनुसार विसं २०८२ असार मसान्तसम्ममा ती अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।
सञ्चिति कसरी बढ्यो?
नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखिन्छ।
दुई कारणले मुलुकमा विदेशी विनिमय सञ्चिति बढेको देखिएको राष्ट्र ब्याङ्कका भूतपूर्व कायममुकायम गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन्।
"पहिलो कुरा पछिल्लो समयमा रेमिटन्स भित्रिने क्रम निकै बढेको छ। दोस्रो कुरा मुलुकको आयात शिथिल हुँदा खर्च खचेको छ," बढ्नुका कारणबारे बीबीसी न्यूज नेपालीसँग उनले भने।
राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेल पनि त्यसमा सहमत छन्। "जुन हिसाबले हामीले पुँजीगत खर्च गर्नुपर्थ्यो त्यो हामीले गर्न सकेनौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा पुँजीगत खर्च ७.५ प्रतिशतले घटेको राष्ट्र ब्याङ्कले जनाएको छ।
केन्द्रीय ब्याङ्कको तथ्याङ्कअनुसार यातायातका उपकरण, पेट्रोलियम पदार्थलगायतको आयात बढेको छ भने कच्चा पदार्थको आयात घटेको छ।
सकारात्मक कुरा के हो?
वस्तु तथा सेवा आयात धान्न विदेशी विनिमय सञ्चिति नै चाहिने भएकोले त्यस्तो सञ्चिति बढ्नु कुनै पनि देशका लागि सकारात्मक भएका राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेल बताउँछन्।
नेपाल जस्तो भूपरिवेष्टित देशका निम्ति पर्याप्त विदेशी विनिमय सञ्चिति रहनु आवश्यक भएको भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको तर्क छ।
"हाम्रोजस्तो अर्थतन्त्रमा कुनै पनि बेला धक्का आउन सक्ने जोखिम रहन्छ। त्यसैले हाम्रो हातमा धेरै कुरा रहनुपर्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"प्रयोग नै नभएर थुप्रिएको भन्न मिल्दैन। विदेशी ऋणपत्रमा हामीले लगानी गरेर ब्याज पाएकै छौँ, भनेका बेला हाम्रो रकम उनीहरूले दिन्छन् पनि।"
हाल विदेशी विनिमय सञ्चिति धेरै बढेर नेपाल सहज अवस्थामा पुगेको राष्ट्र ब्याङ्कका भूतपूर्व कायममुकायम गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन्।
"विदेशी मुद्राको आम्दानी बढेर हामीलाई 'कम्फर्टेबल जोन' मा लगेको छ। भोलिपर्सि मुलुकको आयात एक वर्षसम्म बढे पनि हामीले थेग्न सक्छौँ। त्यो हिसाबेले राम्रै भयो," उनले अगाडि भने।
नकारात्मक पाटो के हो?
विदेशी विनिमय सञ्चिति बढिरहनु सकारात्मक भए पनि थुप्रिँदै जानुलाई सकारात्मक रूपमा हेर्न नमिल्ने अर्थतन्त्रका कतिपय जानकारहरू बताउँछन्।
"विदेशबाट आम्दानी बढेर मात्रै हाम्रो विनिमय सञ्चिति बढेको होइन, खर्च घटेर पनि हो," भूतपूर्व कायममुकायम गभर्नर मानन्धरले भने।
"विदेशी विनिमय बढेको राम्रो हो, तर आयात नबढ्नु भनेको आर्थिक गतिविधि सुस्त हुनुको लक्षण हो नि। त्यसैले आयात वृद्धि नभएर विनिमय सञ्चिति बढिरहँदा अर्थतन्त्रमा समस्या देखिन्छ।"
भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार विप्रेषणको स्रोतलाई नेपालले अन्त कतैबाट खर्च गर्न सकेको भए जाती हुन्थ्यो।
"यसले आयात बढाइरहेको छ। व्यापार घाटालाई बढाउन मद्दत पुर्याइरहेको छ। हामी उत्पादन गर्न सक्ने कुरामा पनि उदासीन भयौँ र आयातित सामानमा लालायित भयौँ," उनले भने।
सदुपयोग कसरी गर्ने?
रेमिटन्स घरपरिवारका लागि पठाइने भएकोले त्यस्ता घरपरिवारलाई लगानी गर्ने अवसर राज्यले बढाउनुपर्ने भूतपूर्व गभर्नर क्षेत्रीको सुझाव छ।
"स्थानीय निकाय अथवा प्रदेश सरकारहरूले ठाउँविशेषको आवश्यकता रेमिटन्स पाउने घरपरिवारका लागि उद्यमशीलता विकसित गर्नुपर्छ," उनी सुझाउँछन्।
"कुन ठाउँमा के हुन सक्छ त्यो हेरेर घरपरिवारलाई तालिम दिने, उत्पादनको बजारीकरणमा केही समय सहयोग पुर्याउने गरेमा त्यसले फाइदा हुन सक्छ।"
ठूल्ठूला परियोजनामा लगानी नभएसम्म विदेशी विनियम सञ्चितिमा उल्लेख्य कमी नआउने भूतपूर्व कायममुकायम गभर्नर मानन्धर बताउँछन्।
"ठूला परियोजनामा विकासका गतिविधि बढेमा त्यसले अर्थ व्यवस्थामा दीर्घकालीन सकारात्मक असर पर्छ। उपभोग्य वस्तु अनि सवारीसाधन जस्ता कुरामा खर्च भयो भने त्यसले उल्लेखनीय योगदान पुर्याउँदैन," उनले भने।
नेपालको अर्थतन्त्र र विदेशी विनिमय सञ्चितिको प्रमुख भरथेगका रूपमा विप्रेषण रहँदै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















