तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक
- Author, लोरा बिकर
- Role, चीन संवाददाता
- Published
- पढ्ने समय: ३ मिनेट
ब्रेन हेमरेजका कारण निधन भएको हल्लाबीच उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन त्यहाँको सरकारी सञ्चारमाध्यममा एकदमै स्वस्थ अवस्थामा देखिएका छन्।
सरकारी पत्रिका रोदोङ सिनमुनमा प्रकाशित तस्वीरहरूमा ४२ वर्षीय तानाशाह आफ्नी छोरीसँगै कपडा र जुत्तासम्बन्धी एउटा प्रदर्शनीको अवलोकन गरिरहेको देखिन्छ।
अमेरिकामा बस्दै आएका एक चिनियाँ विपक्षीले कोमामा गएको अवस्थामा किमलाई बेइजिङस्थित एउटा अस्पताल पुर्याइएको र त्यहीँ उनको निधन भएको गरेको दाबीपछि ती तस्वीरहरू बाहिर आएका हुन्। ती चिनियाँ व्यक्तिले आफ्नो दाबीबारे कुनै प्रमाण पेस गरेका थिएनन्।
उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरूका लागि यो प्रकृतिका हल्लाहरू सामान्य जस्तै भइसकेको बताइन्छ।
अड्कलबाजी भइरहन्छ
विश्वका सबैभन्दा बढी रहस्यमय मुलुकमध्ये एक उत्तर कोरियामा के भइरहेको छ भन्नेबारे सत्यतथ्य पत्ता लगाउन प्रायः मुश्किल हुन्छ। सोही कारण त्यहाँको बारेमा अनेक किसिमका अड्कलबाजीहरू गरिन्छ।
पछिल्लो दाबी वानजुन सीले गरेका हुन्, जसले आफूलाई 'चिनियाँ लोकतान्त्रिक पार्टी'का अध्यक्ष बताउँछन्। उक्त संस्था चीनमा प्रतिबन्धित छ।
वानजुनले विगतमा पनि पुष्टि नभएका विभिन्न दाबीहरू गरेका उदाहरण छन्, जसमा चिनियाँ नेता सी जिन्पिङको मृत्युसम्बन्धी अनुमानहरू पनि समावेश छन्।
वानजुनको दाबीअनुसार किमलाई गम्भीर ब्रेन हेमोरेज भएको थियो र उत्तर कोरियामा उपचारका लागि आवश्यक चिकित्सा सुविधा नभएकाले उनलाई उपचारका निम्ति बेइजिङ लगिएको थियो।
उनले दाबी गरेअनुसार त्यसपछि किमको निधन भयो र उनको शव गोप्य रूपमा उत्तर कोरिया फिर्ता पठाइयो। त्यहाँको सत्ताले उनको निधनको खबर लुकाएको छ।
तर तस्वीरहरूले अर्कै कथा भन्छन्। तस्वीरहरूमा किम जू-ए र सधैँझैँ उनीसँगै रहेका अधिकारीहरूको समूहका साथ किमले प्रदर्शनीका सामग्रीहरू अवलोकन गरिरहेको देख्न सकिन्छ।
दाबीमाथि किन शङ्का
ती तस्वीरहरू कहिले खिचिएका हुन भन्ने कुरा निश्चित रूपमा भन्न नसकिए भए पनि यो दाबीमा शङ्का गर्नुपर्ने अन्य कारणहरू छन्।
यदि किमको स्वास्थ्य अचानक बिग्रियो भने त्यसका सङ्केतहरू उत्तर कोरियाको सीमाभन्दा बाहिर पनि देखिने छन्।
सम्भावित अस्थिरता अथवा शरणार्थीहरूको आगमनको तयारीस्वरूप चीनले आफ्नो सीमानामा सुरक्षा व्यवस्था कडा पारेको हुन सक्थ्यो। उत्तर कोरियाली कूटनीतिक नियोगहरू वरपरका गतिविधिहरू पनि बढेको हुन सक्थ्यो।
दक्षिण कोरियामा बसोबास गर्ने उत्तर कोरियाली शरणार्थीहरूले प्रायः चीनको सीमाना नजिकका अनौपचारिक सञ्जालहरूमार्फत् जानकारी प्राप्त गर्ने गर्छन्। तर त्यस्तो केही पनि भएको छैन।
अर्कोतर्फ दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूले योन्हाप समाचारसंस्थालाई बताएअनुसार उनीहरूले त्यस्ता समाचारहरूको पुष्टि हुने कुनै जानकारी प्राप्त गरेका छैनन्।
पछिल्लो हल्ला विगतमा फैलिएका सोही प्रकृतिका गलत समाचारहरू स्मरण गराउने खालको छ।
उत्तर कोरियाबाट भागेका एक चर्चित व्यक्तिले सन् २०२० मा किमको मुटुसम्बन्धी शल्यक्रियापछि निधन भएको कुरामा आफू "९९ प्रतिशत सुनिश्चित" रहेको दाबी गरेका थिए।
उनले त्यस्तो दाबी गरेको केही समयपछि किम सार्वजनिक रूपमा देखा परे, जसले उक्त दाबी गलत भएको प्रमाणित गर्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।