तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिल्लीको 'संसद् मार्च'पछि कक्रोच जनता पार्टीका संस्थापकले किन मागे माफी
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीप्केले आफ्ना समर्थकहरूसँग क्षमा मागेका छन्।
दीप्केले दिल्ली पुलिसको कारबाहीबाट प्रदर्शनकारीहरूलाई जोगाउन अझ राम्रो प्रयास गर्न सकिन्थ्यो भन्दै समर्थकहरूसँग माफी मागेका हुन्।
सीजेपीले दिल्लीमा सोमवार भारतीय संसद् भवनतिर मार्च गर्ने प्रयास गरेको थियो। त्यसका लागि हजारौँ समर्थकहरू जन्तरमन्तर क्षेत्रमा भेला भएका थिए। केही ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्यास प्रहार गरेको थियो।
"म आफ्ना सबै समर्थकहरू विशेष गरी ती युवतीहरूसँग माफी माग्छु जसलाई पुरुष पुलिस अधिकारीहरूले निर्ममतापूर्वक कुटपिट गरे। हामी यसभन्दा राम्रो गर्न सक्थ्यौँ। दिल्ली प्रहरीको अमानवीय कारबाहीबाट तपाईँहरूलाई बचाउन म अझ राम्रो गर्न सक्थेँ," सामाजिक सञ्जालको प्ल्याट्फर्म 'एक्स' एउटा पोस्टमा उनले लेखेका छन्।
"बीसभन्दा बढी विद्यार्थीको मृत्युका लागि जिम्मेवार एक व्यक्ति धर्मेन्द्र प्रधानलाई बचाउनका लागि सरकार अझै धेरै युवा विद्यार्थीहरूको रगत बगाउन तयार थियो। यदि तपाईँ घाइते हुनुभएको छ र यो हेर्दै हुनुहुन्छ भने मलाई डीएम गर्नुहोस्। म तपाईँसँग व्यक्तिगत रूपमा कुरा गर्न र माफी माग्न चाहन्छु।"
सीजेपी किन आन्दोलित छ
भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै गरेको आह्वानपछि विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरूसहित हजारौँ मानिस दिल्लीको जन्तरमन्तरमा भेला भएका थिए।
सीजेपीको समर्थनमा २१ दिनदेखि अनशनमा बसेका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिवार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव चुलिएको हो। उनले अस्पतालमा पनि अनशन जारी राखेका छन्।
पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनीतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिनेसहित परीक्षामा हुने अनियमितताको विरोध गर्न गत मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो।
त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूको छ।
तर प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई "उच्छृङ्खल तत्वहरूको बी-टीम" भन्दै आलोचना गरेका छन्।
'सङ्घर्ष जारी रहन्छ'
दीप्केले आफ्नो पार्टीले जारी सङ्घर्षलाई निरन्तरता दिने बताएका छन्।
सोमवार आयोजित विरोधप्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरू घाइते भएका थिए।
अभिजित दीप्केले तीमध्ये धेरै घाइतेहरूसँग भेटघाट गरेको बीबीसी हिन्दीले जनाएको छ।
प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको देखिने धेरै भिडिओ र तस्बिरहरू सार्वजनिक भएका छन्। तिनमा प्रदर्शनकारीहरूमाथि लाठीचार्ज र अश्रुग्यासका शेल प्रहार गरेको देखिन्छ।
यद्यपि प्रहरीले गरेको कारबाहीका विषयमा दुवै पक्षले फरक खालका दाबीहरू गरेका छन्।
सीजेपीले जन्तरमन्तरस्थित आफ्नो विरोधप्रदर्शनस्थलमा दिल्ली प्रहरीले तोडफोड गरेको र त्यहाँ निर्मित मञ्च हटाइदिएको जनाएको छ।
सीजेपीले 'एक्स' लेखेको छ, "प्रहरीले प्रदर्शनको मञ्चमा कब्जा गर्यो र त्यहाँ राखिएका सबै सामानहरू तोडफोड गरेर हटायो। त्यहाँ बाबासाहेब अम्बेडकरको एउटा तस्बिर, भारतको संविधानको एक प्रति, श्रीरामचरितमानस, बाइबल र बाबासाहेब अम्बेडकरको एउटा सानो मूर्ति मात्र बाँकी छ, जुन एकतिर लडेको थियो। आज भारतमा अत्यन्तै क्रूर आक्रमण भएको छ।"
सीजेपीले एउटा तस्बिर पनि पोस्ट गरेको छ।
सोनम वाङ्चुकको अनशन जारी
गत १७ जुलाईदेखि अस्पतालमा भर्ना गरिएका सोनम वाङ्चुकले आफूले अनशन जारी राख्ने बताएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार वाङ्चुकको शरीरमा 'ब्लड सूगर'को मात्रा घटेको छ। यद्यपि उनका शरीरका अन्य महत्त्वपूर्ण सूचकहरू स्थिर छन्। उनलाई विशेष चिकित्सकहरूको निगरानीमा राखिएको छ।
वाङ्चुकले "अहिंसक प्रदर्शनकारीहरूसँग" प्रहरीले गरेको "क्रूर व्यवहार"का कारण आफूले उक्त निर्णय गरेको जनाएका हुन्।
उनले सोमवार 'एक्स'मा एउटा हस्तलिखित सन्देशको तस्बिर पोस्ट गरेका छन्।
उनले युवा नेताहरूलाई मङ्गलवार वा बुधवार संसद् भवनमा सांसदहरूसँग भेट्ने वा आफूलाई ती नेताहरूसँग अस्पतालमा भेट्न अनुमति नदिइएसम्म अनशन जारी रहने जनाएका छन्।
आफ्नो सन्देशमा उनले संसद् मार्चका क्रममा भेला भएका समर्थकहरूलाई धन्यवाद दिएका छन्। उनले उनीहरूबाट भविष्यमा पनि उस्तै खालको समर्थन पाउने अपेक्षा व्यक्त गरेका छन्।
यसअघि सीजेपीको मञ्चबाट सोनम वाङ्चुककी पत्नी डा गीताञ्जलिले यदि विपक्षी नेता र सांसदहरूले उनीहरूका माग संसद्मा उठाउने आश्वासन अस्पतालमै आएर दिएमा वाङ्चुकले अनशन टुङ्ग्याउने घोषणा गरेकी थिइन्।
सोमवार संसद् मार्च सुरु भएपछि तीन विद्यार्थीले आफ्नो भोक हडताल टुङ्ग्याएका थिए। त्यसको केही घण्टापछि अभिजित दीप्केले पनि आफ्नो अनशन समाप्त गरेका थिए।
मानवाधिकार संस्थाको चिन्ता
कक्रोच जनता पार्टीका प्रदर्शनकारीहरूको विरोधप्रदर्शनका क्रममा भएको लाठीचार्ज र अश्रुग्यास प्रहारको घटनाबारे अन्तर्राष्ट्रिय मानवाधिकार संस्था ह्यूमन राइट्स वाचले (एचआरडब्ल्यू) पनि चिन्ता व्यक्त गरेको छ।
एचआरडब्ल्यूले भारतीय अधिकारीहरूसँग प्रहरी कारबाहीको छानबिन गर्न र प्रदर्शनकारीहरूको अधिकारको रक्षा गर्न अपील गरेको छ।
एचआरडब्ल्यूको सहायक एशिया निर्देशक मीनाक्षी गाङ्गुलीले भनिन्, "दिल्लीमा प्रदर्शन गरिरहेका हजारौँ विद्यार्थीहरूलाई हटाउन सुरक्षा बलद्वारा लाठी र अश्रुग्यास प्रयोग गरिएको आरोपबारे भारतीय अधिकारीहरूले तुरुन्त छानबिन गर्नुपर्छ।"
उनले अधिकारीहरूले प्रहरी सङ्गठन संयमित हुनुपर्ने र मानिसहरूको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।