रुसले युक्रेनतिर प्रहार गरेको ड्रोन रुमेनियाको आवासीय भवनमा बज्रियो

Published
पढ्ने समय: ३ मिनेट

रुमेनियास्थित एउटा आवासीय भवनमा रुसी ड्रोन ठोकिएको र सो भवनमा आगो लागेको रुमेनियाको रक्षा मन्त्रालयले बताएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।

रुसले सीमानजिकै युक्रेनी भूभागमा आक्रमण गर्ने क्रममा प्रहार गरेको सो ड्रोन पूर्वी सहर गालाट्समा खसेको मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।

रुमेनियाको आपत्कालीन सेवा प्रदान गर्ने निकायका अनुसार ड्रोनमा भएका सबै विस्फोटक पदार्थ पड्किएका थिए र आवासीय भवनको दशौँ तलमा आगलागी भयो।

विगत चार वर्षदेखि जारी युक्रेन युद्धका क्रममा रुसी ड्रोनहरू बाटो बिराएर कैयौँ पटक रुमेनियामा खसेका छन्। तर रुसी ड्रोनका कारण अहिले रुमेनियामा पहिलो पटक क्षति पुगेको हो। रुमेनिया नेटोको सदस्य राष्ट्र हो।

उक्त घटनाका कारण चोटपटक लागेका दुई जनाको उपचार गरिएको र आगो नियन्त्रण गर्ने क्रममा झन्डै ७० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

रुमेनियाको प्रतिक्रिया

यो घटनाबारे रुसले टिप्पणी गरिसकेको छैन। तर रुमेनियाले यसलाई रुसी पक्षबाट तनाव बढ्ने गरी भएको "गम्भीर र अनुत्तरदायी" घटना भनेको छ।

रुमेनियाली रक्षा मन्त्रालयका अनुसार यसबारे नेटोका महासचिवलाई जानकारी गराइसकिएको र "चाँडै ड्रोन प्रतिरोध गर्ने क्षमता उपलब्ध गराउन अनुरोध" गरिएको छ।

सामाजिक सञ्जाल 'एक्स'मा विज्ञप्ति प्रकाशित गर्दै नेटोका एक प्रवक्ताले "रुसको लापरबाही"को आलोचना गरेका छन्।

उनले नेटोले "ड्रोनसहित सबै खतराविरुद्ध हाम्रो प्रतिरक्षालाई निरन्तर सुदृढ" बनाउने जनाएका छन्।

रुमेनियाको आकाशमा ड्रोनहरू देखा परेपछि दुइटा एफ-१६ लडाकु जेटहरू परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

"रुमेनियाली हवाई क्षेत्रमा छिरेको तीमध्येको एउटा ड्रोनलाई रेडारले गालाट्स सहरसम्म ट्र्याक गर्‍यो। त्यो एउटा आवासीय भवनको छानामा गएर बज्रियो र आगलागी भयो," रक्षा मन्त्रालयले भनेको छ।

सीमा

गालाट्स सहर ड्यानूब नदीनजिकै अवस्थित छ। उक्त नदीले रुमेनिया र युक्रेनलाई आपसमा छुट्ट्याउँछ। रुसले उक्त नदीमा भएका बन्दरगाहलाई निरन्तर निसाना बनाउँदै आएको छ।

एप्रिलमा पनि गालाट्समा एउटा रुसी ड्रोन खसेको थियो। त्यसबाट केही भौतिक क्षति भएको भए पनि मानिसहरू हताहत भएका थिएनन्।

रुमेनियाको रक्षा मन्त्रालयका अनुसार रुस-युक्रेन युद्ध सुरु भएपछि अहिलेसम्म ४७ पटक रुसी ड्रोन वा तिनका अंश रुमेनियामा खसेका छन्। यो वर्ष मात्र १२ पटक त्यस्ता घटनाहरू भएको सरकारी अभिलेख छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण गर्न थालेका थिए।

युक्रेनमा ड्रोन हमला

बिहीवार राति युक्रेनमा रुसबाट आक्रमण हुन सक्ने भन्दै चेतावनी जारी गरिएको थियो।

दक्षिणी युक्रेनको ओडेस्सा क्षेत्रका अधिकारीहरूका अनुसार त्यहाँ अवस्थित इज्मईल बन्दरगाहमा शुक्रवार सबेरै ड्रोन हमला भएको थियो।

हाल रुसको नियन्त्रणमा रहेको युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा युक्रेनले गरेको ड्रोन हमलामा परी तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको सो क्षेत्रमा रुसले नियुक्त गरेका प्रमुखले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।