तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानका पूर्वराष्ट्रपति महमूद अहमदीनेजाद कसरी युद्धका बेला 'रहस्यमय' बने
- Author, साईद जफारी
- Role, राजनीतिक विश्लेषक
- Published
- पढ्ने समय: ५ मिनेट
प्रखर इजरेलविरोधीका रूपमा चिनिएका इरानका पूर्वराष्ट्रपति महमूद अहमदीनेजादले वर्षौँसम्म इजरेलविरुद्ध अभिव्यक्तिहरू दिइरहे।
उनले होलकस्टदेखि इजरेली सत्तासम्मको चर्को आलोचना गरिरहे। अनि इरानको परमाणु कार्यक्रमलाई अघि बढाउने कुराको प्रतिरक्षा गरे। इजरेली अधिकारीहरूले इरानबाट आफ्नो देशलाई जोखिम भएको उद्धृत गर्नुपर्दा बारम्बार उनकै नाम लिन्थे।
यो पृष्ठभूमि भएका महमूद अहमदीनेजादलाई इजरेल र अमेरिकाले इरान युद्धपछाडि देशको नेताका रूपमा स्थापित गर्ने योजना बनाएको 'न्यूयोर्क टाइम्स'ले उल्लेख गरेको छ। यही योजनानुसार उनलाई इरानी नजरबन्दबाट मुक्त गर्न उनी रहेको घरमा आक्रमण गरिएको टाइम्सको दाबी छ।
तर अहमदीनेजादलाई मुक्त गर्न भएको आक्रमणमा उनी आफैँ घाइते भएपछि योजना विफल भएको टाइम्सले दाबी गरेको छ।
अहमदीनेजाद र उनीसँग सम्बन्धित व्यक्तिहरूले यसबारे प्रतिक्रिया जनाएका छैनन्। अनि उनी कहाँ छन् भन्ने जानकारी उपलब्ध छैन।
तर यो समाचारमा आएका विवरणबारे अमेरिकी र इजरेली विज्ञले आशङ्का व्यक्त गरेका छन्। उनीहरूको प्रश्न छ- 'इजरेलविरोधी चरम भाष्यसँग जोडिएका व्यक्तिसँग काम गर्न किन अमेरिका वा इजरेल तयार हुन्थे?'
तर यो परस्परविरोधी कुराले केहीलाई अहमदीनेजादको छवि बाहिर देखिएभन्दा केही जटिल त छैन भनेर सोच्न पनि बाध्य तुल्याएको छ।
इजरेलका लागि उपयोगी शत्रु?
यो विषयको संवेदनशीलता बुझ्न हामीले अहमदीनेजाद कसरी इरानको सत्तामा पुगे भन्ने थाहा पाउन जरुरी छ।
सन् २००३ मा उनी तेहरानको नगरप्रमुखका रूपमा निर्वाचित भए। त्यस बेलासम्म उनीबारे मानिसहरूलाई खासै थाहै थिएन। सन् २००५ मा उनी राष्ट्रपतिका रूपमा सत्तामा आए। उनी सत्तामा पुग्नुमा इरानका शक्तिशाली सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईको साथ रहेको बताइन्छ।
उनले चुनावी नारामा न्याय, सरलता र भ्रष्टाचार नियन्त्रणजस्ता विषय उठाएका थिए। तर इजरेल, अमेरिका र होलकस्टबारे अभिव्यक्तिका कारण उनी छिट्टै विश्वले चिन्ने नेता बने।
उनले अमेरिका र यहुदीविरोधी अभिव्यक्ति दिइरहे। त्यसबारे वकालत गर्ने संस्थाका कार्यक्रममा पनि पुगे।
तर केही वर्षपछि नै अहमदीनेजादले इजरेलको पक्षमा काम गरेको केही इजरेली अधिकारीहरू र विश्लेषकहरूले बताए।
सन् २००८ मा मसुदका पूर्वप्रमुख इफ्राइम हालेभीले अहमदीनेजादलाई "इजरेलका लागि सबैभन्दा ठूलो उपहार"का रूपमा चर्चा गरे। उनका अभिव्यक्तिका कारण विश्वलाई इरानबारे गम्भीर भएर सोच्न सहयोग पुगेको हालेभीको दाबी थियो।
तर अहमदीनेजादका समर्थकहरू यो आरोपको खण्डन गर्दै इजरेलर पश्चिमाविरुद्ध उनले आक्रामक नीति लिएको बताए।
सत्तामा पुगेपछि बदलिएको छवि
सन् २०१३ मा पदबाट बाहिरिएपछि अहमदीनेजादले इरानका सर्वोच्च नेता अलि खामेनेई र इस्लामिक रेभलूशनरी गार्ड कोरसहितका इरानी सुरक्षा संस्थापनसँग टकराव लिए। पछि उनलाई राष्ट्रपतीय निर्वाचन लड्नबाट बारम्बार प्रतिबन्ध लगाइयो।
इरानको न्याश्नल सेक्युरिटी स्टडिज्का प्रमुखले 'न्यूयोर्क टाइम्स'को समाचारमा प्रतिक्रिया जनाउँदै अहमदीनेजादले बारम्बार विरोधाभासपूर्ण र अप्रत्याशित नीति लिएको टिप्पणी गरेका छन्।
पछिल्ला वर्षहरूमा अहमदीनेजादले आफ्नो अन्तर्राष्ट्रिय छवि बनाउने प्रयास गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा अङ्ग्रेजीमा पनि लेख्ने गरेका छन्। अनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "अमेरिकामा भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेको" भन्दै प्रशंसा समेत गरेका छन्।
अमेरिकी विज्ञहरूको आशङ्का
बीबीसी पर्सिअनसँग कुरा गरेका तीन जना अमेरिकी विज्ञले अहमदीनेजादलाई सत्तामा ल्याउने "गम्भीर योजना"माथि आशङ्का व्यक्त गरेका छन्।
नर्थईस्टर्न यूनिभर्सिटीमा राजनीतिशास्त्रका प्राध्यापक म्याक्स अब्राहम्सले उक्त विवरणबारे "धेरै शङ्का गर्नुपर्ने" बताएका छन्।
इजरेलले अहमदीनेजाद सत्तामा फर्किने कुराको स्वागत गर्ने सम्भावना नरहेको उनी ठान्छन्। अनि ट्रम्पले भन्दै आएको सफल सत्ता परिवर्तनको भाष्यमा पनि अहमदीनेजाद उपयुक्त हुनेमा उनको आशङ्का छ।
अमेरिकी फरन पोलिसी काउन्सिलका इलान बर्मन पनि यो उपाय अमेरिका र इजरेलको भरपर्दो योजना भएकोमा विश्वास गर्दैनन्। यदि अहमदीनेजादको नाम नेतृत्वका दाबेदारको रूपमा अघि सारिएको भए पनि उनी पहिलो रोजाइ हुन नसक्ने उनको बुझाइ छ।
अमेरिकन इन्टरप्राइज इन्स्टिट्यूटका माइकल रुबिनको 'न्यूयोर्क टाइम्स'का स्रोतहरूबारे प्रश्न छ। यद्यपि पश्चिमा देशका धेरैमा अहमदीनेजादबारे इरानी समाजको एउटा तप्कामा रहेको प्रभावबारे गलत बुझाइ रहेको उनको भनाइ छ।
'न्यूयोर्क टाइम्स'ले आफ्नो रिपोर्टिङमा पूर्ण विश्वस्त रहेको बताएको छ। उक्त पत्रिकाले यो समाचार घटनाक्रमबारे जानकार अमेरिकी, इजरेली र इरानी अधिकारीहरूसँग कुराकानी गरेर तयार गरिएको एक्स पोस्टमा उल्लेख गरेको छ।
अहमदीनेजादको नाम कसरी आयो?
अहमदीनेजादको नाम कसरी आयो भन्ने प्रश्नको उत्तर उनका तीन विशेषताहरूको संयोजनमा निहित हुन सक्छ- उनको ख्याति, आन्तरिक अनुभव र सर्वोच्च नेतासँगको दूरी।
अहमदिनेजाद इरानभित्र राम्रोसँग परिचित छन्। उनीसँग सरकार सञ्चालनको अनुभव छ अनि निम्नवर्गीय मानिसहरूको भाषा बुझ्छन् र इस्लामिक गणतन्त्रका संयन्त्र र शक्तिकेन्द्रसँग परिचित छन्।
यति नै बेला खामेनेइसँग देखिएका विवादहरूका कारण उनी सत्ताभित्रकै व्यक्ति मानिँदैनन्।
विदेश नीतिका केही विज्ञहरूको दृष्टिकोणमा यी विशेषताहरूका कारण उनलाई अराजकताको अवस्थामा प्रयोगमा ल्याउन सकिने व्यक्तित्वका रूपमा हेरिएको हुन सक्छ। तर उनलाई सहयोगीका रूपमा भन्दा पनि शक्तिसंरचनाभित्र विभाजन सिर्जना गर्ने प्रयोजनका लागि अस्थायी पात्रका रूपमा हेरिएको हुन सक्छ।
अहमदीनेजाद वास्तवमा को हुन्
कतिपय इरानी टिप्पणीकारहरूले अहमदीनेजादका पछिल्ला गतिविधिले उनको राजनीतिक अडानबारे प्रश्न उब्जाएको बताएका छन्।
उनीहरूका अनुसार उनका नीतिले इरानलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लो बनाएको छ, परमाणु सङ्कट चर्काएको छ अनि इजरेललाई तेहरानविरुद्ध राजनीतिक सन्देश प्रभावकारी रूपमा फैलाउने बाटो दिएको छ।
'न्यूयोर्क टाइम्स'को रिपोर्टले त्यो बहसलाई ब्युँताएको छ।
तर यो पहिलो पटक चाहिँ होइन।
उनको राष्ट्रपतीय कालमा पनि उनले एक चर्चित सुधारवादी नेता र भूतपूर्व सरकारी अधिकारीलाई राज्यद्रोहको आरोप लगाए। यो आरोपको सम्बन्ध सन् २००९को निर्वाचनपछि भएको व्यापक विरोध प्रदर्शनसँग जोडिएको थियो। तर सत्ताबाट बाहिरिँदै गर्दा उनले तिनै व्यक्तिहरूसँग मेलमिलाप गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका थिए।
एउटा अडान लिएर बस्ने भन्दा पनि अडान र गठबन्धन फेरिरहने उनको यो चाहनाले विदेशी शक्तिहरूसँगको गोप्य गठजोडभन्दा आन्तरिक शक्तिसङ्घर्षभित्र आफूलाई व्यवस्थित गर्ने प्रयासको मात्रै सङ्केत गर्ने विज्ञहरू बताउँछन्। वास्तवमै अहमदीनेजादको सम्बन्ध इजरेल र अमेरिकासँग रहेकोमा कुनै प्रमाण छैन।
तर मुख्य विरोधाभास चाहिँ यथावत् छ। लामो समयसम्म इजरेलविरोधी भाष्य बनाएर परिचित राजनीतिज्ञ अहिले इरानका भावी नेताको सम्भावित विकल्पका रूपमा केही रिपोर्टहरूमा चित्रण गरिएका छन्। यसले इरानी राजनीतिमा अहमदीनेजादलाई कसरी बुझ्ने भन्ने नसुल्झिएको प्रश्नलाई पुनर्जीवित गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।