बानेश्वरको पुरानो संसद् भवन 'मर्मत गरेर पनि सञ्चालन गर्न नसकिने' विज्ञहरूको राय

तस्बिर स्रोत, AFP
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
गत वर्षको जेन जी आन्दोलनका क्रममा जलेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने निष्कर्ष निकालिएको अधिकारीहरूले बताएका छन्।
गत वर्ष भदौ २३ गते नयाँ बानेश्वरको संसद् भवन परिसरबाट चलाइएको गोलीबाट युवा प्रदर्शनकारीहरू मारिएपछि अर्को दिन प्रदर्शनकारीहरूको पहिलो निसानामा संसद्ले भाडामा प्रयोग गरिरहेको तीन दशक पुरानो यो भवन परेको थियो।
सयौँको सङ्ख्यामा प्रवेश गरेको भिडले आगजनी र तोडफोड गरेपछि चीन सरकारको अनुदान र डिजाइनमा बनेको यो केन्द्रका महत्त्वपूर्ण संरचना काम नलाग्ने गरी क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र शाहको पहलमा विसं २०५० सालमा तयार भएको यो सम्मेलन केन्द्रको नाम पनि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र राखिएको थियो। केन्द्रको हलमा बसेको संविधानसभाको बैठकले विसं २०६५ सालमा देशमा गणतन्त्र घोषणा गरेसँगै केन्द्रको नामबाट पनि 'वीरेन्द्र' हटाइएको जानकारहरू बताउँछन्।
झन्डै दुई दशकदेखि संसद् भवनका रूपमा प्रयोग हुँदै आएको यो सम्मेलन केन्द्रले संसद् सचिवालय, लगानी बोर्ड र कानुन आयोगसहितका कार्यालयबाट वार्षिक १८ करोड रुपैयाँ भाडा उठाउँदै आएको थियो।
जेन जी आन्दोलनका क्रममा आगजनीमा परेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले केन्द्रमा भएको क्षतिबारे अध्ययन गरेको मन्त्रालयका प्रवक्ता नवराज प्याकुरेलले जानकारी दिए।
'भवनको नक्सा नै भेटिएन'

तस्बिर स्रोत, Reuters
भवन निर्माण विभागले क्षतिको मूल्याङ्कन गर्ने क्रममा यो सम्मेलन केन्द्रको 'स्ट्रक्चरल डिजाइन ड्रइङ' अर्थात् नक्सा पनि खोजी गरेको थियो।
यो भवनको नक्सासहित सबै प्रकारका डिजाइन चिनियाँ पक्षले नै तयार गरेको सम्मेलन केन्द्र बन्ने क्रममा नेपालको तर्फबाट 'आर्किटेक्चरल' निरीक्षणको जिम्मेवारी पाएका इन्जिनिअर पुरुषोत्तम डङ्गोल बताउँछन्।
"त्यसको भवनदेखि विद्युतीय प्रणाली सबै डिजाइन चिनियाँहरूकै हो। त्यो बेला निरीक्षणमा जाँदा पनि योजनाका हिसाबले मलाई एकदमै राम्रो लागेको डिजाइन हो। सुरक्षाका हिसाबले पनि त्यहाँ सबै पूर्वाधार छन् भन्ने थाहा छ," डङ्गोलले बीबीसी न्यूज नेपालीसँग भने।
उनका अनुसार बनेको समयमा यो सम्मेलन केन्द्र नेपालकै अभूतपूर्व संरचना थियो।
भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार प्राविधिक र विज्ञहरूको टोलीले सम्मेलन केन्द्रका जलेका संरचनाको विभिन्न परीक्षण गरेको थियो।
"त्यतिबेला बनाउँदाको पूर्ण स्ट्रक्चरल डिजाइन ड्रइङ चाहिँ हामीसँग भएन। हामीसँग प्राप्त पुराना तथ्याङ्क र नक्साका आधारमा अध्ययन गर्यौँ," विभागको पुनर्निर्माण, पुनर्स्थापना तथा प्रबलीकरण महाशाखा प्रमुख समेत रहेका अर्यालले बीबीसी न्यूज नेपालीसँग भने।
सार्क शिखर सम्मेलन, तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौता अनि नयाँ संविधानको घोषणा सहितका ऐतिहासिक क्षणहरूमा प्रयोग भएको यो केन्द्रमा जम्मा आठ वटा हल रहेको सम्मेलन केन्द्र विकास समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंह बताउँछन्।
यसको मुख्य हलमा २,००० जनासम्म अटाउने क्षमता थियो भने बाँकी हलहरू बढीमा २०० जनासम्म अटाउने क्षमताका थिए।
"हामीसँग रहेको यसको नक्सा पनि हामीले यहीँ नै राखेका थियौँ। भदौको आगजनीमा त्यो पनि जलेर नष्ट भएछ," सिंहले भने।
अधिकारीहरूका अनुसार परराष्ट्र मन्त्रालयमार्फत् काठमाण्डूस्थित चिनियाँ दूतावाससँग अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नक्सा भए वा नभएकोबारे सोधिएको थियो। तर दूतावासले त्यसको जानकारी हालसम्म पनि नदिएको विभागका एक जना अधिकारीले बताएका छन्।
यसअघि प्रतिनिधिसभा र संविधानसभाको बैठक बस्ने गरेको सम्मेलन केन्द्रको मुख्य हलमा आपत्कालीन अवस्थामा उद्धारका लागि एउटा 'अन्डरपास' पनि बनाइएको थियो।
"पहिले सभामुख बस्ने मञ्चको पछाडिबाट तल जाने एउटा ढोका छ। त्यहाँबाट भवनबाहिर निस्कन मिल्ने करिब १० फीट अग्लो सुरुङजस्तो संरचना छ," विसं २०५१ सालबाट सम्मेलन केन्द्रमा कार्यरत सिंह भन्छन्।
"२०५८ सालतिर एउटा ब्याङ्कको साधारणसभामा झडपको अवस्था आएपछि प्रमुख व्यक्तिहरूलाई त्यही सुरुङबाट उद्धार गरिएको थियो।"
'रेट्रोफिट सम्भव छैन'

तस्बिर स्रोत, RSS
सन् १९८०को दशकमा बन्न सुरु भएको यो केन्द्रका संरचना अहिलेको भवन संहिताअनुसार मेल नखाने देखिएका कारण यसलाई मर्मत गरेर सञ्चालन गर्न नसकिने निष्कर्ष विज्ञहरूको समूहले निकालेको विभागका उपनिर्देशक अर्याल बताउँछन्।
"अहिले छेउका पर्खालहरू नढलेका भए पनि त्यसलाई नै कायम राखेर छानो मात्रै फेर्न सकिन्छ कि भनेर हामीले प्रयास गरेका थियौँ। तर त्यो संरचना धेरै नै पहिले बनेका र अहिलेको भवन संहिताअनुसार पनि मेल नखाने भएर रेट्रोफिटमा जान अलिकति गाह्रो हुने देखियो," अर्याल भन्छन्।
"हामीले मन्त्रालयका तहमा अन्तिम छलफल गर्न बाँकी छ तर हाम्रो अध्ययनले के देखायो भने कि त यसलाई पूरै हटाएर नयाँ संरचना बनाउने या चाहिँ पुरानै शैलीमा पुनर्निर्माण गरेर जानुपर्ने देखियो।"
साउन १ गतेबाट सुरु हुन लागेको आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो सम्मेलन केन्द्र पुनर्निर्माण शीर्षकमा रकम विनियोजन नगरेको अधिकारीहरूले बताएका छन्।
पूर्वाधार विकास मन्त्रालयले सम्मेलन केन्द्रको पुनर्निर्माणबारे निर्णय लिन बाँकी नै रहेका कारण अनुमानित लागतबारे अध्ययन गर्न बाँकी नै रहेको भवन निर्माण विभागका उपमहानिर्देशक अर्यालले बताए।
"विज्ञहरूलाई पनि राखेर (अध्ययन) गर्दा पुरानै स्वरूपमा गर्ने भए पनि सबै भत्काएर करिब शून्यबाटै काम सुरु गर्दा ठिक हुन्छ भन्ने सुझाव आएको छ," उनले भने।
'सङ्ग्रहालय बनाउने योजना'

तस्बिर स्रोत, EPA
हालै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका धर्मराज खड्काले यसको पुनर्निर्माणका लागि यसअघि भवन बनाइदिएको चीनसँग अनुरोध गर्ने वा नेपाल सरकारले आफैँ खर्च गर्नेबारे निर्णय नभएको बताए।
उनका अनुसार यो स्थानमा नयाँ संरचना निर्माण नहुँदासम्म यसलाई जेन जी आन्दोलनसँग सम्बन्धित सामग्रीहरू राखेर सङ्ग्रहालयका रूपमा सञ्चालन गर्ने सम्भावनाबारे पनि छलफल चलिरहेको छ।
"यसलाई अहिले अस्थायी रूपमा व्यावसायिक किसिमको सङ्ग्रहालयजस्तो भ्रमणको एउटा केन्द्र बनाउने कि भन्ने पनि हामीले आन्तरिक रूपमा छलफल गरिरहेका छौँ," खड्काले भने।
"किनभने हामीसँग कर्मचारीहरूका लागि खर्च पनि आवश्यक पर्छ।"
आन्दोलनका क्रममा जलेका सवारीसाधनहरू अहिले सिंहदरबारबाट लगेर यो केन्द्रमा थुपारिएको छ।
भवन निर्माण विभागका उपमहानिर्देशक अर्यालले सङ्ग्रहालयको योजनाबारे आफूहरू जानकार नभए पनि यहाँ बन्ने संरचनामा सर्वसाधारणको पनि पहुँच दिलाउनेबारे छलफल चलिरहेको बताए।
"त्यसलाई पुरानोभन्दा सर्वसाधारणको पहुँच हुने गरेर फरक शैलीमा लैजान सकिन्छ कि भनेर हामीले अध्ययन चाहिँ गरिरहेकै हो," अर्यालले भने।
यो सम्मेलन केन्द्र बनेको स्थानमा त्यसअघि नेपाली सेनाका संरचना रहेको जानकारहरू बताउँछन्।
वरिष्ठ कार्यक्रम संयोजक सिंहका अनुसार यो केन्द्र १५३ रोपनी क्षेत्रफलमा फैलिएको छ। मुख्य परिसरबाहिर राष्ट्रिय वाणिज्य ब्याङ्क र एक रेस्टुराँले भाडामा लिएको भवन पनि सम्मेलन केन्द्रकै सम्पत्ति हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















